जागरण अभियानले जनता जगायो : माधव नेपाल
रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले संचालन गरेको जागरण अभियानले जनता जगाएको बताएका छन् । जनताको समस्या सम्बोधन गर्ने गरी जागरण अभियान सुरू गरेकाले देशव्यापी रूपमा उत्साह थपिएको उनले बताए ।
पार्टीले सुरू गरेको मेची महाकाली समाजवादी जागरण अभियान २०८० अन्तर्गत आइतबार भैरहवामा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता नेपालले जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केको बताए ।
उनले जनताको जीवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै बीचमा जनताका मुद्दा लिएर अगाडि आएको जनाए । नेपालले बेरोजगारी समस्या समाधान गर्ने गरि कृषिबाटै आत्मनिर्भर हुने सकिने बताउँदै अझै पनि किसानहरूले समस्या झेलिरहेकाले त्यसका लागि समाधान गर्न सरकारसंग कुरा गर्ने बताए ।
महासचिव घनश्याम भुसालले गरिबी र बेरोजगारी उन्मूलन मुख्य कार्यभार रहेको बताए । उनले जनताको अधिकारलाई संविधानमा सुनिश्चित गरिएपनि मुख्य समस्याका रूपमा गरिबी रहेको बताए । बेरोजगारी समस्या समाधान गरि सुशासन, समृद्विका लागि समाजवादी जागरण अभियान सुरू गरिएको उनको भनाइ थियो ।
महासचिव भुसालले मुलुक बर्बाद पार्न खोज्ने सबै शक्तिका विरूद्व लड्ने बताउँदै अहिले धर्म र जातिका नाममा लडाएर बेरोजगारी र गरिबी उन्मूलनको मुद्दालाई छायामा पार्ने प्रत्यत्न गरेको भन्दै त्यसलाई अभियानले चिर्ने बताए । जनसभाममा उपमहासचिव डा. विजय पौडेल, रूपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव, नेता रामबहादुर बस्नेत, युवा सार्दुल मियालगायतले बोलेका थिए ।