एमाले सुदूरपश्चिम अधिवेशन: महासचिव पोख्रेललाई जिम्मा दिएर काठमाडौं फर्किए ओली
कैलाली । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्न धनगढी पुगेका ओली आजै काठमाडौं फर्किएका हुन् ।
अधिवेशनबारे थप निर्णय लिने अधिकार महासचिव शंकर पोख्रेललाई जिम्मा लगाउँदै ओली फर्किएका हुन् । ‘सबैसँग सल्लाह गरेर थप निर्णय महासचिवले लिनुहुनेछ’, अध्यक्ष ओलीले प्रदेशका नेताहरूलाई भनेका थिए ।
उनले सर्वसम्मत नेतृत्व चयन गर्न उपलब्ध नेताहरूलाई सुझाव दिएका छन् । ओली फर्किएलगत्तै महासचिव पोख्रेलले पोलिटव्युरो सदस्यहरुसँग सुझाव लिइरहेका छन् ।
‘सौराई पार्टी प्यालेसको एक कोठामा महासचिवले एकएक गरेर बोलाइरहनुभएको छ’, एक नेताले भने, ‘सहमति कसरी गर्न सकिन्छ भन्नेमा उहाँ लागिरहनु भएको छ ।’
पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्जहरुसँगको सुझावपछि आजै जिल्ला अध्यक्षसँग पनि छलफल गर्ने तयारी छ । अहिलेसम्म सुदूरपश्चिममा अध्यक्षमा तीन जनाले दाबी गरेका छन् ।
अछामका कृष्णप्रसाद जैशी र कमल तिमिल्सिना तथा कञ्चनपुरका बचनबहादुर सिंह अध्यक्षको दौडमा छन् । उनीहरुबीच अझै सहमति जुट्न सकेको छैन ।