यहाँ मेनुकाहरु गुमनाम छन्, भेलुबाजे-कलाैटेहरूकाे जगजगी छ
काठमाडौं । इन्डियन आइडल- १४ को अडिसन राउण्डमा नेपालकी गायिका मेनुका पौडेलले गोल्डेन माइक जितिन् । ‘तुम्हारेविना हमारा कोनो नहीं’ बोलको शास्त्रीय भजनमा उनको प्रस्तुति दमदार थियो । त्यसैले त पाइन् जजहरु श्रेया घोसाल, कुमार सानु र विशाल डिडलानीबाट स्टान्डिङ अवेसन ।
मेनुकाले प्रस्तुति दिइरहँदा गायिका श्रेया भक्कानिइरहेकी थिइन् । सँगसँगै विशालले पनि आँसु रोक्न सकिरहेका थिएनन् । उनले प्रस्तुति सकाएपछि केहीबेरसम्म एक खालको सन्नाटा छाएको थियो । सन्नाटालाई चिर्दै विशालले भनेका थिए, ‘हामी संगीतकर्मीले जुन चिजलाई पुज्छौं, त्यो चिज आज आँखा अगाडि देखिरहेका छौं । म जे चिजलाई पुग्छु, त्यो तिमी हौ । श्रेया रोइरहेकी छिन् (श्रेयालाई हेर्दै) । म आफैं रोइरहेको छु ।’
विशालले मेनुकालाई प्रस्तुतिका लागि धन्यवाद दिँदै अबदेखि आफूले गर्ने संगीतहरु मेनुकाकै कारण फरक हुनेसमेत बताए । श्रेयाले पनि आँसु पुछ्दै भनिन्, ‘तिमी के हौ, तिमी आफैंलाई थाहा छैन मेनुका । यही कारण मलाई मज्जा आयो । मलाई लाग्दैन कि यस इन्डियन आइडलमा कसैले पनि यति राम्रोसँग गाएको छ ।’
मेनुकाको उक्त प्रस्तुति अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनलाई नेपाली संगीतकर्मीहरुले बधाई दिइरहेका छन् । मेनुकाको गायकीलाई संगीतका त्यस्ता उस्तादहरुले स्टान्डिङ अवेसन दिनु धेरै ठूलो कुरा हो भनिरहेका छन् । नेपाली संगीतप्रेमीले पनि मेनुकाप्रति गर्व महसुस गरिरहेका छन् ।
मेनुकाहरुको होइन, भेलु बाजे र कलाैटेहरुको डिमान्ड छ
झापाकी मेनुका एक दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छिन् । संगीतमा आफ्नो उज्ज्वल भविष्य बनाउन संघर्षरत छिन् । उनको गायकी कलाको सबैले तारिफ पनि गर्छन् ।
तर, वर्तमान नेपाली संगीतले मेनुकालाई होइन, भेलु भाजे र तेजेन्द्रपरियार कलाैटेहरुलाई खोजिरहेको समय हो यो । कोही मान्छे कुनै अन्टसन्ट र चटक गरेर चर्चामा आउनासाथ गल्लीगल्लीमा छ्यापछ्याप्ती रहेका स्टुडियोहरुमा लतारेर पु¥याइन्छन् । बेसुरा गीतहरु गाउन लगाइन्छन् । अटो ट्युनको मद्दतले स्वरहरुलाई ठासठुस पारेर मिलाइन्छन् ।
र, संगीतमाथि न्यूनतम ज्ञान नभएका उनीहरु नेपाली संगीतको क्षेत्रमा गायक/गायिकाको अवतारमा पदार्पन हुन्छन् । उनीहरुको गायकी होइन, गायकीमार्फत् उनीहरुले देखाउने मजाक हेर्न भीड जम्मा हुन्छ । स्टेज शो पाउँछन्, सेलिब्रेटी हुन्छन् ।
साधनाले निखारिएको गलामा माधुर्यता भएका मेनुकाहरु गुमनाम हुँदै गर्दा भेलु बाजेहरु किन व्यस्त भइरहेका छन् ? संगीतकार आशिष अविरलको विश्लेषण छ, यस्तो हुनु भनेको संगीतमा लागेकाहरुको फ्रस्टेसनको पराकाष्ठा हो ।
अविरल भन्छन्, ‘जो भाइरल भएका छन्, तिनलाई ल्याउँदा डलर आउँछ कि भन्ने समूहको चरम फ्रस्टेसन हो यो । यहाँ जसरी हुन्छ, मान्छेलाई हिट हुनु छ । उनीहरु चरम फ्रस्टेसनमा छन् । त्यसैले उनीहरु छोटो बाटो खोजिरहेका छन् । त्यही कारणले गर्दा नेपाली संगीतमा समस्या आइरहेको छ ।’
गर्न खोज्दा पनि भने जस्तो काम नपाएपछि अहिले इन्डियन आइडलमा पुगेकी छन् मेनुका । २०७४ सालमै नेपाल आइडलमा भिडेकी उनी २०७५ सालमा भारतकै रियालिटी शो सारेगमपसम्म पुगिन् । रियालिटी शोमा भिडेको छ वर्षपछि आहिले पनि उनी रियालिटी शोमै भिडिरहेकी छन् । तर, टिकटक या युट्युबतिर अन्टसन्ट गरेर भाइरल भएकाहरुलाई कथित गीत रेकर्डिङका लागि भ्याइनभ्याइ छ ।
मेनुकाहरुलाई बिर्सिएर नेपाली संगीत भेलु बाजेहरुको पछि लागेको दृश्य नौलो होइन । एकाध राम्रा संगीतकारहरुले नेपाली संगीत बचाएका त छन् । तर, उनीहरुले सुन्दर गीतका लागि भन्दा पनि घर खर्च चलाउन बढी संघर्ष गरिरहनु परेको छ । अनि तिलकसिंह पेलाहरु होइन, नरेश पातलीहरुको बजारमा डिमान्ड हुन्छ ।
त्यस्ता भाइरलहरु र उनीहरुको क्षमतामाथि प्रश्न गर्ने हिम्मत कसको ? संगीतकार वसन्त सापकोटा दुःखेसो पोख्छन्, ‘कसैले संगीत बिगारेको छ भनेर बोलियो भने उल्टै गाली धेरै पाइन्छ । त्यसैले नराम्रा कुराहरुप्रति नबोलौं लाग्छ । नराम्रो कुराप्रति प्रतिक्रिया नदिएपछि सबैले राम्रो भन्दा रहेछन् । अनि त्यस्तो काम गर्नेहरुलाई थप हौसला मिल्दोरहेछ ।’
वसन्त व्यवसायिक संगीतकार हुन् । संगीत गर्दा भने व्यवसायिकतालाई एक ठाउँमा राखेर राम्रो सृजना पस्कन नै तत्पर हुन्छन् । तर, उनको सृजनामाथि जसले लगानी गरिरहेको छ, तिनलाई भने भ्युज चाहिन्छ । भ्युजका लागि के गर्ने ? बजारमा जो भाइरल छ, उसैलाई ल्याउने ।
वसन्त भन्छन्, ‘हामीले यस्तो भएन, हुँदैन भन्यौं भने हामी नै प्रोजेक्टबाट आउट हुनुपर्ने अवस्था आइदिन्छ । स्वर राम्रो भएर, कलालाई सम्मान गरेर आउने वातावरण नै छैन । तर, हामीले सक्दो राम्रो काम गर्ने कोसिस चाहिँ गरिरहेका छौं ।’
यसरी भाइरलहरुले बजार पिट्नुमा हाम्रो समाजमा प्राज्ञिक र दार्शनिक कुराहरुको बहस, विमर्श गर्ने संस्कृति हराउँदै जानुलाई कारक मान्छन् संगीतकार सुरेश अधिकारी । उनी समाजबाट कला, साहित्य विस्थापित हुँदै गएको हो कि भन्ने महसुस गर्छन् वेलावेलामा ।
सुरेश भन्छन्, ‘हाम्रोमा कला र प्रतिभालाई स्वीकार गर्नुभन्दा पनि सञ्जालमा अन्टसन्ट गर्नेहरुका कारण असली कला लोप हुँदै जाने संघारमा छ । मान्छेले कलातिर ध्यान दिन छाडेर चटकतिर मनोरञ्जन लिइरहेका छन् । मैले त कतिसम्म देखेको छु भने अरुको घर झगडा हेरेर मनोरञ्जन लिनेहरुसमेत देखेको छु । यो कलाका लागि घातक कुरो हो ।’
भाइरलहरु आउँछन् जान्छन्, तर मेनुकाहरु आइरहन्छन्
सन् २०१६ मा साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी लोकगायक बब डिलनलाई दिइयो । उनलाई ‘महान अमेरिकी गीति परम्पराभित्रैबाट नौलो काव्यात्मक अभिव्यक्ति सृजना गरेका’का कारण सो पुरस्कार दिइएको थियो ।
डिलनले नोबेल साहित्य पुरस्कार पाएपछि त्यसवेला निकै बहस विमर्श भएको थियो । उनले उक्त पुरस्कार पाउँदै गर्दा संसारभरका संगीतकर्मीहरुमा खुसीको उछाल भएको थियो । संगीतको ओज र गरिमालाई नोबेल पुरस्कार समितिले बुझेको विश्लेषण भएको थियो । तर, नेपालमा भने मेनुका जस्ता सयौं प्रतिभा कतै न कतै गुमनाम छन् । भाइरलहरु बदनाम छन् । तर, चर्चामा छन्, हाइहाइ पाइरहेका छन् ।
नातिकाजी, अम्बर गुरुङ, गोपाल योञ्जनहरुको काम, प्रतिभा र योगदानको चर्चा कम हुन्छ । भाइरलहरुको चर्चा गल्लीगल्लीमा हुन्छ । टिकटक, युट्युब र फेसबुक, इन्स्टाका रिलहरुमा उनीहरुको कर्कस आवाज छरपष्ट हुन्छन् ।
तर, भाइरलहरुलाई संगीतकार सुरेश एक भेलबाढीको रुपमा मात्रै देख्छन् । उनी भन्छन्, ‘एउटा बाढी आउँदा धेरै कुरा पुरिन्छन् । कहिलेकाहीं त्यस्तो बाढीले डाँडा भत्काएर हिरा पनि निकाल्छ । भाइरलहरुले मेनुका जस्ता धेरै राम्रा प्रतिभाहरुलाई पुरेको देखेको छु मैले । तर, नराम्रा कुराहरु बढ्दै गएपछि जब अन्धकार छाउँछ, तब घाम लाग्छ । समाज एक किसिमको मानसिक अवस्थामा गुज्रन थालेपछि समाजलाई कसरी अनुशील, विनयशील बनाउने भन्ने कुरो आउँछ । अनि नराम्राहरुको थुप्रोभित्र राम्रो कुराको उत्खनन् गर्ने दिन आउँछ ।’
संगीतकार वसन्तको विश्लेषण छ, ‘भाइरल ज्वरो आउँछ अनि जान्छ । कोरोना आयो, गयो । भेल आउँछ, जान्छ । तर, नदी भनेको नदी हो । त्यसको आफ्नै आधार हुन्छ, सधैं बगिरहन्छ ।’
उनी थप्छन्, ‘मैले मेनुकालाई सानैदेखि वाच गरेको छु । दुईतीन वटा गीत पनि गरेको छु । उनी संगीतमा धेरै राम्रो ज्ञान भएको, साधना गरिरहेको, शब्दहरुलाई न्याय दिनसक्ने प्रतिभा हो । उनी भाइरल ज्वरो होइनन् । भाइरल ज्वरोको भीडमा उनी अलग्गै छिन् ।’
प्रतियोगीले गाउँदा साना साना खोट औँल्याउने रियालिटी-शो का निर्णायकहरु समेत कलोटे र भेलुबाजे (ब्यक्तिगत कुरा होईन है, प्रबृत्तीको) लाई स्टुडियोमा लगेर, र्याप र पप गाउन लगाएर आफ्ना युट्युब च्यानलमा राखेको देख्दा चाहीँ ‘सिर्जना र वैश्ययुग’को सम्बन्ध प्रष्ट देखिन्छ।
“क्लासिकल” भजनमा हैन हजुर यसको को नेपाली मिठो शब्द छ त “शास्त्रीय” भन्छ
केको भेलु बजे भन्नु हाम्रा सम्पादक हरुनै कलौटे र भेलु बजे छन् ! हाम्रा जनता ले बुझ्ने नै तेत्ति ह।
हमिरो अंग्रेजी मोह ले गर्दा हाम्रा सम्पादक हरुले “शास्त्रीय ” भन्ने नै बिर्सिसके