चौका हान्न खोजेको बल छक्का जाँदा केएल राहुल निराश ! – Nepal Press

चौका हान्न खोजेको बल छक्का जाँदा केएल राहुल निराश !

काठमाडौं । क्रिकेट म्याचमा छक्का हान्दा कुनै ब्याट्सम्यान बेखुसी होला ? त्यसमाथि जब त्यो छक्का तपाईँको टीमको ‘विनिङ रन’ हुन्छ भने ब्याट्सम्यानलाई त्योभन्दा ठूलो सन्तुष्टि कुनै हुँदैन । तर, विश्वकप क्रिकेटमा अष्ट्रेलिया र भारतबीचको भिडन्तका क्रममा फरक दृश्य देखियो ।

४१.२ ओभरमा राहुक केएलले प्रहार गरेको बलले बाउन्ड्री लाइन पार गर्दै छक्का भयो । अष्ट्रेलियाले दिएको २०० रनको लक्ष्य पार गर्दै भारतले खेल जित्यो । तर, सेलिब्रेट गर्नुको साटो राहुल स्तब्ध भएर थचक्क भुईँमा बसे । उनको अनुहारमा निराशा देखियो । केहीबेरमा उनी मुस्कुराए । अनि जितको उत्सव मनाए ।

खासमा केएल राहुलले यो बल छक्का होस भन्ने चाहेका थिएनन् । आखिर किन ? कारण रोचक छ ।

हिजोको खेलमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले २०० रनको मामुली लक्ष्य भारतलाई दिएको थियो । भारतले पनि खराब सुरुवात गर्दै २ रनमै तीन विकेट गुमायो । खेल रोमाञ्चक बन्ने देखिएको थियो । तर, अष्ट्रेलियाका मिचेल मार्चले भारतका विराट कोहलीलाई ड्रप गरे । यही क्षण नै खेलमा मुख्य टर्निङ प्वाइन्ट बन्यो । कोहली र राहुलले त्यसपछि टीमलाई सम्हाल्दै जिततर्फ डोहोर्‍याए ।

कोहली ८५ रनमा आउट हुँदा राहुल ९७ रनमा अविजित रहेका थिए । उनी ३ रनले पहिलो विश्वकप शतक बनाउन चुके । उनी शतकका निम्ति लालायित थिए । शतक बनाउन उनका लागि एकदमै झिनो अवसर थियो । भारतलाई जितका लागि ५ रन मात्र चाहिँदा राहुल शतकबाट ९ रनले टाढा थिए । ४२ औँ ओभरमा उनी स्ट्राइभमा आए । उनको दिमागमा थियो, एउटा बल चौका र त्यसपछिको बल छक्का हान्दै आफ्नो शतक पूरा गर्ने ।

४१ ओभरको खेल समाप्तिमा भारतले १९५ रन बनाएको थियो । यहाँबाट राहुलले एक चौका हान्दा स्कोर बराबरी हुन्थ्यो । त्यसपछि छक्का हानेर उनले शतक पूरा गर्न सक्थे । तर, सोचेझैँ कहाँ हुन्छ र !

४१.१ ओभरमा राहुलले डट बल खेले । त्यसपछि दोस्रो बलमा उनले चौका निकाल्ने धुनमा कडा प्रहार गरे । तर, बल हावामा गयो र सिधै छक्का भयो । भारतले २०१ रन बनाउँदै खेल जित्यो । राहुल ९७ रनमै रोकिए । यसैको निराशमा उनले मैदानमा व्यक्त गरेका थिए । यद्यपि, उनले पछि शतक हानेकै शैलीमा सेलिब्रेसन गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *