काठमाडौंमा दसैँ विशेष सुरक्षा योजना : सीसीटीभी र ड्रोनबाट गरिनेछ निगरानी (भिडिओ) – Nepal Press

काठमाडौंमा दसैँ विशेष सुरक्षा योजना : सीसीटीभी र ड्रोनबाट गरिनेछ निगरानी (भिडिओ)

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा दसैँलक्षित विशेष सुरक्षा योजना बनाउने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्रीका अनुसार भिडभाड हुने ठाउँमा सीसीटीभी र ड्रोनबाट निगरानी बढाइनेछ ।

काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको उनले बताए । विभिन्न प्रविधिको सहायतामा नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित आफूहरू तयार रहेको खत्रीको भनाइ छ ।

उनले भने, ‘यात्रुहरूको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । सीसीटिभी र ड्रोन लगायत हामीले काठमाडौं उपत्यकामा प्रयोग गर्ने क्रममा छौं । ड्रोनबाट भीडभाड हुने स्थानलाई नियालेर जनशक्ति सञ्चालन गर्नेछौं ।’

सोमबार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ सुरू भइसकेको छ । यात्रुहरूले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भएपनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको गुनासो गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहान ६ बजेदेखि नै यात्रुहरू लाइनमा बसेर अग्रिम टिकट काट्न आएको बताए । बाटोको कारणले सुरक्षित ढंगबाट यात्रुहरू गन्तव्यस्थल लैजान असहज रहको भन्दै सरकारले सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । सडक नबनाए समयमा सवारीसाधन नआइपुग्ने र बुकिङ खुलाएको औचित्य नहुने उनको जिकिर छ ।

चाडबाडको बेलामा यात्रुहरुलाई ठग्न सक्ने भन्दै परिचय पत्र र पोशाक लगाएका आधिकारिक ठाउँमा गएरमात्रै टिकट काट्न आग्रह यातायात व्यवसायीको आग्रह छ । दसैँतिहार मनाउन यस पटक करिब १६ लाखले काठमाडौं छोड्ने अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *