इजाजतबिनाका ओटीटी र आइपीटीभी मोबाइल एप्स बन्द गर्न प्रसारण विभागको निर्देशन – Nepal Press

इजाजतबिनाका ओटीटी र आइपीटीभी मोबाइल एप्स बन्द गर्न प्रसारण विभागको निर्देशन

इन्टरनेटको माध्यमबाट अर्बौँ रुपैयाँ अवैध रुपमा नेपालबाट लगिरहेका नेटफ्लिक्स, अमेजन, हटस्टारलगायत विदेशी एपका बारेमा सूचना तथा प्रसारण विभाग मौन

काठमाडौं । सरकारले इजाजत नलिई मोबाइलहरूमा देखिने गरी सञ्चालन भइरहेको ओटीटी, भिओडी र आइपीटीभीजस्ता एपहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रसारण विभागले इजाजत पत्र नलिई सञ्चालित ओटीटी तथा भिओडीहरु बन्द गर्ने समेत जनाएको छ ।

नेपालमा व्यक्तिको हात हातमा रहेका स्मार्ट फोनमा निर्वाध रुपमा इजाजतबिनाका स्वदेशी तथा विदेशी टेलिभिजन तथा अनलाइन प्लेटफर्महरू सञ्चालनमा छन् । यो गैरकानूनी मात्र छैन, यसबाट अर्बौँको राजश्व समेत सरकारले गुमाइरहेको छ ।

विभागले OTT, VOD, IPTV सेवाहरु अनुमति नलिई सञ्चालन गरिरहेका संस्थाहरूलाई तत्काल सो सेवा बन्द गर्न भनेको हो ।

विभागबाट इजाजत पत्र लिएर मात्र ती भिडिओ अनलाइन प्लेटफर्महरू सञ्चालन गर्न विभागले सूचना जारी गरेको छ ।

अनुमति नलिई सञ्चालित सबै खाले त्यस्ता प्रसारणहरू बन्द गरी कानून बमोजिम कारबाही गर्ने समेत विभागले जनाएको छ ।

नेपाली एपहरू डिसहोम गो, नेट टिभी मोबाइल एप, भाया टिभी मोबाइल एपलगायत ओटीटीहरु सञ्चालनमा छन् । यो सूचनाले नेपाली एपहरूलाई कानूनी दायरमा ल्याए पनि विदेशी एपको हकमा सूचना बोलेको छैन ।

नेटफ्लिक्स, अमेजन, सोनीलगायतका दर्जनौँ विदेशी विशेष गरी भारतीय एपहरूले इन्टरनेटको माध्यमबाट अर्बौँ रुपैयाँ नेपालबाट लगिरहेका छन् । उनीहरूलाई रोक्ने वा नेपालमा दर्ता गरेर सञ्चालन गर्नेतर्फ सरकारले अझै काम गरेको छैन ।

विभागले जारी गरेको सूचना विदेशी ओटिटीहरुको हकमा मौन र स्वदेशीकै हकमा पनि अपूरो रहेको टिप्पणी व्यवसायीले गरेका छन् । राष्ट्रिय प्रसारण एनेका दफा ४,६,१० र १७ बमोजिम अवैध प्रसारण गरेर उपभोक्ताबाट पैसा उठाएकोमा कारवाही गर्नेबारे विभागले मौनता साँधेको छ ।

त्यस्तै उपभोक्ताबाट शुल्क पनि लिएका तर राष्ट्रिय प्रसारण ऐन बमोजिम गैरकानून ओटिटी मोबाइल एप चलाएर टेलिभिजन व्यवसायलाई धरशायी बनाएकोमा जवाफदेहीता कसले लिने भन्ने प्रश्न सन्चार मन्त्रालय र प्रसारण विभागमाथि उठेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर