इजरायलमा अफ्ठ्यारोमा परेका नेपालीहरुको उद्धारका लागि यी हुन् सरकारले गरेका ११ निर्णय (सूचीसहित) – Nepal Press

इजरायलमा अफ्ठ्यारोमा परेका नेपालीहरुको उद्धारका लागि यी हुन् सरकारले गरेका ११ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले इजरायल घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न आह्वान गरेको छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले असंवेदनशील सामर्गी प्रवाह नगरी आ-आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको हो ।

बैठकपछि सरकारी प्रवक्ता रेखा शर्माले इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने निर्णय भएको बताइन् । नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय भएको बताइन् ।

इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने निर्णय भएको बताइन् ।

यी हुन् मन्त्रीपरिषद्का ११ निर्णयहरू:

१. मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० (दश) जना नेपालीको दुःखद् निधन भएकोमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने ।

२. यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने ।

३. परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने ।

४. यस घटनामा निधन भएका नेपालीहरुको परिवारलाई राहतस्वरप प्रति परिवार दश लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने ।

५. इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने ।

६. इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने । स्वदेश फर्कन चाहने इजरायलमा रहनुभएका नेपालीहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने ।

७. अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने ।

८. इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ (तीन) महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने ।

९. इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने । नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने ।

१०. इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने ।

११. यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *