भारतीयको ‘ह्यारेसमेन्ट’ पछि विश्वकपका लागि आएकी पाकिस्तानी प्रिजेन्टरले भारत छोडिन्
काठमाडौं । पाकिस्तानी प्रिजेन्टर जैनाब अब्बासले सामाजिक सञ्जालमा ह्यारेसमेन्ट सहन नसकेर भारत छोडेकी छन् ।
उनी विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को डिजिटल टीममा रहेर काम गर्न भारत आएकी थिइन् ।
जैनाब सोमबार हैदरावादबाट पाकिस्तानतिर लागेकी हुन् । लामो समय अगाडि भारतको विरुद्धमा पोस्ट गरेको भन्दै भारतीयहरूले सामाजिक सञ्जालमा उनलाई ‘ह्यारेस’ गरेका थिए ।
यस्तो थियो जैनाबको पुरानो ट्विट
उनी विरुद्ध एक वकिलले उजुरी दिएको र भारत सरकारले उनलाई देश निकाला गरेको समाचारहरू पनि आएका छन् । यद्यपि, आईसीसीले उनी व्यक्तिगत कारणले भारतबाट फर्किएको दावी गरेको छ ।
३५ वर्षीया जैनाबलाई आईसीसीले हैदरावादमा हुने पाकिस्तानका तीन खेलहरूको कभरेजका लागि नियुक्त गरेको थियो । उनले गत अक्टोबर ६ मा पाकिस्तान र नेदरल्यान्डविरुद्धको म्याचमा हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालाबाट प्रस्तुति दिएकी थिइन् ।
जैनाबले आफू भारतमा विश्वकप क्रिकेटको कभरेजका लागि जान लागेको घोषणा गरेपछि उनको अनभेरिफाइड अकाउन्टबाट धेरै वर्षअघि गरिएको एउटा ट्विट भाइरल भएको थियो । यसकै आधारमा उनीमाथि गालीगलौजको वर्षा भएको हो ।
जैनाबले देश छोडेपछि धेरै भारतीयहरूले उनलाई देश निकाला गरिएको भन्दै खुशी मनाएका छन् । तर, आईसीसीका प्रवक्ताले उनलाई देश निकाला नगरिएको बताए ।
अहिले आइसीसीको टीममा पाकिस्तानका रमिज राजा र वकार युनिस मात्रै कमेन्ट्री प्यानलमा छन् ।