अख्तियारको प्रतिवेदन बुझ्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनको प्रश्न- साना माछा छोपिने, ठूला उम्कने किन ? – Nepal Press

अख्तियारको प्रतिवेदन बुझ्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनको प्रश्न- साना माछा छोपिने, ठूला उम्कने किन ?

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा आर्थिक वर्ष २०७९/०८० मा एक हजार ५२३ उजुरी दर्ता भएका छन् । जसमा अधिकांश स्थानीय तहसँग सम्बन्धित रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार स्थानीय तहमा भएका बेथितिसम्बन्धी १ हजार ३३ उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये एक हजार ५३ अर्थात ६९.१४ प्रतिशत प्रारम्भिक छानबिनबाट फर्छ्योट भएको आयोगले जनाएको छ । त्यसमध्ये २४५ उजुरी आवश्यक कानूनी कारबाहीका पठाइएका छन् भने २३२ अन्य मुद्दामा गाभिएको आयोग बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेले बताए ।

आयोगमा स्थानीय तहको संघीय मामिलामा ७६३ र स्थानीय तहको शिक्षामा २७० उजुरी परेका छन् । तीमध्ये ३१४ वटा मुद्दा फर्छ्योट हुन बाँकी छन् ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले देश गरिब बन्दै जाने तर, पदधारणअघि सामान्य रहेका सरकारी कर्मचारी र सार्वजनिक पदका व्यक्तिको सम्पत्ति एकाएक बढ्दै जानुले संस्थागत भ्रष्टाचार मौलाएको बताए ।

‘अख्तियारले यसलाई रोक्न अभियान नै चलाउनुपर्ने हो । कारबाहीका नाममा साना कर्मचारी पक्राउ पर्ने तर, ठूला उम्कने गरेको अवस्था छ, नीतिगत र कार्यविधिगत भ्रष्टाचार गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउन मेरो आग्रह छ’, उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले गरेका वार्षिक क्रियाकलापको प्रतिवेदन बुझ्दै उनले देशमा सुशासन प्रवर्द्धन गर्न सार्वजनिक पदमा बसेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिए ।

अख्तियारले वर्षभरि हेरेका उजुरी, उजुरीका प्रकृति र अख्तियार दुरुपयोगविरुद्ध गरिनुपर्ने कार्यसहितको प्रतिवेदन बुधबार लुम्बिनी प्रदेश प्रमुख शेरचनलाई बुझाएको थियो ।

आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन बुझाउँदै अख्तियार कार्यालय बुटवलका प्रमुख पाण्डेयले आयोगले संविधानले दिएको अधिकार प्रयोग गरी तदारुकताका साथ काम गरिरहेको बताए ।

अख्तियार बुटवलले गण्डकीको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र लुम्बिनीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान हेर्ने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *