विश्वविद्यालयले स्थानीयसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा बिक्ने जनशक्ति तयार गर्नुपर्छ: प्रा.डा.सिंह – Nepal Press
नेपाल टक

विश्वविद्यालयले स्थानीयसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा बिक्ने जनशक्ति तयार गर्नुपर्छ: प्रा.डा.सिंह

वीरेन्द्रनगर । पछिल्लो समय नेपालमा विश्वविद्यालयहरुले समयमै कक्षा सञ्चालन नगर्नेमात्रै होइन परीक्षासमेत ढिलो गरी गर्ने गुनासो बढेको छ । विश्वविद्यालयले दिने शिक्षाको गुणस्तरमाथि त प्रश्नैप्रश्न छन् ।

त्यसमाथि विश्वविद्यालयमा हुने विद्यार्थी राजनीति र त्यसैलाई टेकेर सत्तारुढ दलहरुले विश्वविद्यालयलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउने प्रवृत्ति रोकिएको छैन । नेपालका विश्वविद्यालयमा राजनीतिकरण धेरै भयो । कक्षा सञ्चालनभन्दा बढी तालाबन्दी हुन्छ । राजनीतिक दल र विद्यार्थी संगठनले शैक्षिक क्षेत्र अस्तव्यस्त बनाए । पढाइ राम्रो नभएपछि नतिजा राम्रो आउने कुरै भएन ।

विश्वविद्यालयका यी विकृति र विसंगति देखेर आजित भएका विद्यार्थीहरु स्वदेशमै सस्तो र सुलभ रुपमा पाइने शिक्षा लिन विदेशिने क्रम बढेको छ । स्वदेशी विश्वविद्यालयप्रति विद्यार्थीहरु आकर्षित छैनन् । किन नेपालका विश्वविद्यालयप्रति विद्यार्थीहरु विश्वस्त हुन सकिरहेका छैनन् ? सरकार, शिक्षाविद्हरुले गम्भीरतापूर्वक सोच्ने र समस्या भए हल गर्न ढिलो भइसक्यो ।

यसै सन्दर्भमा मध्यपश्चिम विश्वविद्यालयको विगत, वर्तमान र भविष्यमा केन्द्रित रहेर विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहसँग नेपालप्रेसकर्मी अप्सरा विष्टले गरेको कुराकानीको सम्पादित अंशः

– मध्यपश्चिम विश्वविद्यालयको अवस्था कस्तो छ ?

म आउनुभन्दा पहिला विश्वविद्यालयको ४० करोड रुपैयाँ बेरुजु थियो । अहिले बेरुजु घटेर तीन करोेड ५२ लाखमा पुगेको छ । यो कल्पना गर्न नसकिने प्रशासनिक सफलता हो । मैले भ्रष्टाचारविरुद्ध सुशासन र पारदर्शी नीति लिएर अगाडि बढेको छु । निर्णयहरू पनि पारदर्शी हुन्छन् । विश्वविद्यालयमा ७५० जना शिक्षक तथा प्राध्यापक हुनुहुन्छ । उहाँहरूको क्षमता वृद्धि गर्दै विश्वविद्यालयको रुपान्तरण हुन सक्ने खालका कामहरू सुरु गरेका छौं । म आएपछि ३० भन्दा बढी कार्यविधि पास भएका छन् । हिजोको जम्बो पदाधिकारी टीम काँटछाँट गरेर सानो स्मार्ट बनाएको छु । नियमावलीलाई रिफर्म गरेको छु । कक्षा कोठा सुधारिएका छन् ।

हामीले अहिले ४७ वटा प्यारालग प्राजेक्ट सुरु गरेका छौं । नेपालका विश्वविद्यालयमा पहिलो कोभिडको समयमा ९५ प्रतिशत, दोेस्रो कोभिडमा ९९ प्रतिशत र यो वर्षमा १०० प्रतिशत पूँजीगत खर्च गर्ने यो नेपालको पहिलो विश्वविद्यालय हो । हाम्रो पूँजीगत खर्च गर्ने क्षमताबाट नेपाल सरकारले पनि पाठ सिकोस् । शत प्रतिशत पूँजीगत खर्च गरे, देश बन्छ भन्ने हामीलाई विश्वास छ । हामीसँग पैसा नभएको होइन, नभएको त खर्च गर्ने क्षमता हो ।

हामीले पारदर्शी काम गरेका छौं । २१औं शताब्दीको विश्वविद्यालय कस्तो हुन्छ भनेर हाम्रो केन्द्रीय कार्यालयमा साइड एण्ड लेफ्ट रिङ रोड, पछाडि बनेको पाँच हजार मान्छे अट्ने अत्याधुनिक मैदानलाई देख्न सकिन्छ । थ्रीस्टार होटेल बनाइसकेका छौं । केही समयपछि उक्त होटेल सञ्चालनमा आउनेछ । स्विमिङ पुल र हर्बल युनिट बनाएका छौं । चारवटा होस्टेल बनाएका छौं । युवा स्पोर्टस, ल्याब बनाउँदैछौं ।

– विश्वविद्यालयको शैक्षिक अवस्था चाहिँ कस्तो छ ?

म आउनुभन्दा पहिला ६ वटा संकाय थिए । फ्याकेल्टी अफ इन्जिनियरिङ, साइन्स, म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज अफ सोसल साइन्स थियो । अहिले आठ वटा संकायको स्टक्चर बनाएको छु । जसमा ग्राजुयट एग्रिकल्चर, इन्जिनियरिङ, साइन्स एण्ड टेक्नोलोजीको पढाइ भइरहेको छ । अब ग्राजुयट अफ मेडिकल साइन्स पनि सुरु गर्ने तयारी छ । सोसल साइन्समा ग्राजुयट अफ ह्युमानिटिज, एजुकेसन, सोसल साइन्सलगायतका विषयको लागि तीन बिघा जग्गामा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको ग्राजुयट स्कुल बनाउने योजनामा रिफर्म गरिएको छ । भवनहरू बनिसकेका छन् ।

– नेपाली विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण किन बढेन ?

नेपालका विश्वविद्यालयमा २०६२ देखि २०८० सालको बीचमा राष्ट्रिय तथ्यांकअनुसार १२ कक्षा पास गर्नेबित्तिकै संसारका ७२ देशका ५६ वटा विषय पढ्न ६ लाख ३३ हजार ४१८ जना नेपाली बाहिर गएका छन् । त्यसमा अधिकांश भर्खरैका ससाना भाइबहिनी छन् । सरकारले विदेश जाँदा १०–१५ लाख दिनुपर्ने भन्ने छ । अहिले खर्बौं पैसा बाहिर गएको छ । अस्ट्रेलिया र जापानमा तेस्रो ठूलो नेपाली विद्यार्थी छन् । अमेरिकामा छैटौं ठूलो विद्यार्थी र क्यानडामा १० हजारभन्दा बढी छन् ।

त्यस्तै बेलायतमा म्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या पनि उस्तै छ । यस्तो किन भयो भन्दा नेपालका विश्वविद्यालयमा राजनीतिकरण धेरै भयो । तालाबन्दी भयो । राजनीतिक दल र विद्यार्थी संगठनले अस्तव्यस्त बनाए । त्यसले गर्दा जनताका छोराछोरीहरूले समयमा पढ्न नपाएपछि परीक्षामा राम्रो नतिजा आउन सक्दैन । त्यसैले उनीहरू देश छोडेर बाहिर जान थाले ।

– मध्यपश्चिमलाई डिजिटल विश्वविद्यालय बनाउने योजना कहाँ पुग्यो ?

यो त सफल भइसक्यो । कर्णालीमा यो सम्भव हुँदैन भन्थे । मैले सुरु गरें । सफल पनि भयो । सन् २०७० मा संसार डिजिटल बन्छ । त्यसबेला संसारका प्रत्येक मान्छे डिजिटल ज्ञानविना बाँच्न सक्दैन । यही सोचेर विश्वविद्यालयलाई डिजिटल बनाउँछौं भन्दा धेरैले यो कुरालाई हाँसोमा उडाए । त्यसको एक वर्षपछि १७ जना ग्लोबल कम्पिटिसनमा गएका थिए ।

मध्यपश्चिम डिजिटल विश्वविद्यालय बन्ने क्रममा छ र पेपरलेस विश्वविद्यालय बनाउँछौं । अहिले अधिकांश डेटा अप्लोड छन् । यसलाई मेन्टिनेन्स गर्‍यो भने साउथ एसियाको पहिलो विश्वविद्यालय बनाउँछौं । संसारका धेरै ठाउँमा यसलाई कनेक्ट गर्छाैं । डिजिटल विश्वविद्यालय घोषणा गरिसकेका छौं । तर, उद्घाटन गर्न बाँकी छ । पोलिसी ल्याब बनाउँदैछौं ।

– शैक्षिक क्यालेण्डर कार्यान्वयनको अवस्था कस्तो छ ?

हामीले एकेडेमिक क्यालेन्डर बनाएका छौं । विश्वविद्यालयका हरेक गतिविधि यसैमा राखेका छौं । यो सिस्टममा ल्याउन दुईतीन वर्ष लाग्यो । हाम्रो क्यालेन्डरलाई राष्ट्रिय एकेडेमिक क्यालेन्डर भनेर घोषणा गरेको छ । अनिवार्य रुपमा यो विश्वविद्यालयमा लागू गर्नुपर्छ । यसले गर्दा विद्यार्थीसँगै अभिभावकलाई पनि जानकारी हुन्छ ।

– विश्वविद्यालयलाई भर्ती केन्द्र बनाइयो भनिन्छ नि ?

यसो भन्नेहरु हिजो यहाँभित्र बानी परेकाहरू हुन् । यहाँ आफू पढाएर श्रीमतीलाई प्रशासनमा राख्नेहरु पनि थिए । आफू कुनै पावरमा भए छोराछोरीलाई जागिर लगाइदिनेहरु थिए । हिजो विश्वविद्यालयमा जागिर खुवाउने बानी परेकाहरूले आज नपाउँदा विरोध गरेका हुन् । मलाई धेरै पटक विवादमा ल्याए । मेरा भाञ्जाभाञ्जीलाई जागिर खुवायो भन्नेहरु पनि आए । यदि खुवाएकै हो भने नियुक्ति देखाउनुपर्‍यो नि !

मैले तीनवटा कुरा सुरु गरें । जो राम्रो छ, टप गर्छ, उसलाई प्राथमिकता दिने हो । व्यवसायिक र इमानदारी भएन भने कुनै संस्था चल्दैन । पहिला करार र पार्टटाइम टिचर, भीसीहरू मिल्ने अनि आफ्नो मान्छे हाल्ने रहेछन् । मैले यो सब हटाएँ । पार्टटाइम र करारलाई फ्री कम्पिटसनबाट लिन्छौं । प्रत्येक मान्छेको क्षमता हेर्छाैं । नयाँ नयाँ राम्रो मान्छे त लिनुप¥यो । मैले यस्तो सिस्टम सुरु गर्दा थर्ड डिभिजन ल्याएकाहरू र राजनीतिक पावर लगाएर विश्वविद्यालयमा जान बानी परेकाहरू रोकिए । यो रोकिँदा विरोध गरेका हुन् ।

– विश्वविद्यालयमा नीतिगत सुधार चै के के भए ?

पहिला सिस्टम थिएन । अहिले पूरै सिस्टममा ल्याएँ । पाठ्यक्रम पूरै परिवर्तन, पाँचवटा नयाँ संस्थाहरू स्थापना, ३०-३५ वटा कार्यविधि बनाएका छौं । संरचना र पूर्वाधारमा सुधार भएका छन् ।

– यहाँबाट उत्पादित जनशक्ति कहाँ खपत भइरहेको छ ?

विश्वविद्यालयले स्किल मेनपावर उत्पादन गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । स्किल मेनपावर भन्नाले स्थानीय बजारमा बिक्री हुनुपर्‍यो । राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा बिक्री हुनपर्‍यो । बिक्री हुन तपाईंले पढेको विषय राम्रो हुनपर्‍यो । विश्वविद्यालयमा विषयहरू राम्रो हुनपर्‍यो । मध्यपश्चिम विश्वविद्यालयमा १३ वर्ष रनिङमा छ । एक पटक पनि कोर्ष परिवर्तन भएको थिएन । मैले दुईदुई वर्षमा कोर्ष परिवर्तन हुने नयाँ मोडेल ल्याएको छु । अहिलेको कोर्ष अध्ययन अनुपम छ । यहाँको जनता र माटोलाई सुहाउँदो कोर्ष बनाएका छौं । लेबर मार्केट भन्छौं । यसले कुनै स्थान त पाइहाल्छ । यदि पाएन भने पनि आत्मनिर्भर हुनसक्छ । यो खालको म्यानपावर बनाउने लक्ष्यका साथ हिँडेका छौं ।

– विश्वविद्यालयका गतिविधिमा बेला बेला विरोध र असन्तुष्टि व्यक्त भइरहेको हुन्छ नि किन ?

यो केन्द्रीय विश्वविद्यालय हो । यहाँका केही स्थानीय नेताहरू विश्वविद्यालयलाई गोठ बनाउन चाहन्छन् । त्यो गर्न म दिन्नँ । उनीहरू आफूलाई यहाँको स्थानीय ठालू र राजा ठान्छन् । मैले केही राम्रा काम गरे पनि उनीहरु सबै गल्ती ठान्छन् । उनीहरुले भीसीले आफ्नो मान्छे हाल्देओस्, भनेकालाई जागिर दिओस्, मैले भनेअनुसार चलोस् भन्ने चाहन्छन् । म त्यस्तो हुन र बन्न दिन्न । म कुनै पार्टीको पछि लाग्दिनँ । तर, यो देश र जनताको लागि विश्वविद्यालयलाई उद्देश्यमा पुर्‍याउँछु । यहाँका दुईचार जना नेताले बदमासी र लडाइँ गरेर विश्वविद्यालय बिगार्न खोजेका छन् । उनीहरुका कथित प्राध्यापक संगठन मिलेर भीसीलाई घेर्ने, दुईचार जना काम नलाग्ने विद्यार्थी र कर्मचारी उचालेर भीसीलाई दुःख दिने काम गरिरहेका छन् । उनीहरूको चाहना भागबन्डा हो । म त्यो पूरा गर्दिनँ । म त्यसविरुद्ध डटेर लड्छु ।

– विश्वविद्यालयका आगामी रणनीति र योजना के के छन् ?

विश्वविद्यालयले आफ्नो परिवारको भेटघाट गर्ने र कर्णाली फुड फेस्टिभल गर्ने जस्ता नयाँ कुराको सुरुवात गरेको छ । यो योजना र सुझाव संकलन गर्ने माध्यम हो । यसले आदिवासी ज्ञान र खानालाई अगाडि बढाउँछ । अन्तर्राष्ट्रिय सम्मेलन गर्दैछौं । प्रत्येक वर्ष साउनमा सिनेट र फागुनमा दीक्षान्त समारोह गर्ने प्रचलन अगाडि बढाएका छौं । राजनीतिक दल तथा विद्यार्थी संगठनहरूलाई यो नबिगार्न आग्रह गर्छु ।

अब समयमै भौतिक संरचना बनाउनुपर्नेछ । प्राध्यापक तथा विद्यार्थीहरुले पढ्ने, रिसर्च गर्ने, आर्टिकल निकाल्ने र प्रत्येक वर्षको दुई-दुई वर्षमा नयाँ कोर्ष बनाउने कामले निरन्तरता पाउनुपर्छ । विद्यार्थीलाई उद्योगसँग जोड्ने, उनीहरूलाई फिल्डमा पठाउने, विश्वविद्यालयमा पढेका र सिकेका कुराको थेसिस लेख्ने र सेवक भएर जाने कुरालाई अभ्यासमा प्रयोग गरेका छौं । विश्वविद्यालयले टेक्नोलोजीमा इन्भेष्ट गर्छ । यसले गर्दा समाज अगाडि बढ्छ । विश्वविद्यालयले निश्चित समयमा निश्चित काम गर्छ । विश्वविद्यालयलाई देश र जनताका लागि काम गर्ने सक्षम भिसि ल्याउनसक्यो भनेमात्रै शैक्षिक विकास हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर