बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १४० चिकित्सकले दिए सामूहिक राजीनामा
विराटनगर । सरकारका कारण वृत्ति विकास रोकिएको भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।
७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।
चिकित्सकहरूले स्वास्थ्य मन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासो सहित मङ्गलवार ज्ञापन पत्र बुझाएका थिए । तर आफूहरूको मागप्रति मन्त्री बस्नेत गैर जिम्मेवार बनेपछि राजीनामा दिनुपरेको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए ।
प्रतिष्ठानका पदाधिकारीबाट माग सुनवाइ हुन नसकेपछि सामूहिक बिदा लिएर मन्त्रीलाई ध्यानाकर्षण गराउन काठमाडौँ पुगेका १ सय ७७ जना चिकित्सकमध्ये १ सय ४० जनाले राजीनामा दिएको सहप्राध्यापक रिमालले बताए ।
उनीहरूले प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयता मात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरूले प्रतिष्ठान छाडेको बताएका छन् ।
यस्तै विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएर प्रतिष्ठानको पठनपाठनमा असर परेको बारेमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । तर मन्त्री बस्नेत जिम्मेवार भएर प्रस्तुत नभएको डा। रिमालले बताए ।
चिकित्सकको टोलीले राजीनामाबारे प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी दिएका थिए ।
प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खानले प्रधानमन्त्रीले समस्या समाधान गरिदिने आश्वासन दिएको बताए ।
भेटमा प्रधानमन्त्रीसँग चिकित्सकहरूले विगत दुई वर्षमा ५० भन्दा बढी योग्य चिकित्सकले प्रतिष्ठान छाडेको जानकारी गराएका छन् । प्रतिष्ठानका विभिन्न विभागमा प्राध्यापक तहका चिकित्सक नहुँदा चिकित्सा अध्ययनसमेत प्रभावित भएको चिकित्सकहरूले बताएका छन् ।
चिकित्सकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव डा। वैकुण्ठ अर्याललाई लोकसेवासँग समन्वय गरी समस्या समाधान गर्न निर्देशन दिएका छन् ।