एसीसी यू १९ प्रिमियर कपः ४०.१ ओभरमै अलआउट हुँदा कीर्तिमानी स्कोर बनाउन चुकेको नेपाल – Nepal Press

एसीसी यू १९ प्रिमियर कपः ४०.१ ओभरमै अलआउट हुँदा कीर्तिमानी स्कोर बनाउन चुकेको नेपाल

काठमाडौं । मलेसियामा आज सुरु भएको एसीसी यू १९ प्रिमियर कपमा इरानविरुद्ध नेपालले ३५३ रनको स्कोर खडा गर्यो । यो आफैँमा ठूलो स्कोर भए पनि नेपालले योभन्दा निकै बढी रन बनाउन सक्ने सम्भावना थियो ।

इरानजस्तो कमजोर टिमविरुद्ध नेपालले पूरा ५० ओभर टिकेर खेल्न सकेन । ४०.१ ओभरमै नेपालका सबै ब्याट्सम्यानहरु आउट भएका थिए । नेपालले खेल्न सक्ने ५९ बल खेर गयो । यदि हातमा विकेट भएको भए पछिल्लो १० ओभरमा १०० रन सहजै बनाउन सक्थ्यो र नेपालले ४५० भन्दा धेरै रन हान्ने सम्भावना थियो ।

कुनै धार नभएको इरानी बलिङविरुद्ध नेपालले १० रनमै दुई विकेट गुमाउन पुग्यो । भरपर्दा मानिएका अर्जुन कुमाल दोस्रो बलमै आउट भएका थिए । तेस्रो नम्बरमा पठाइएका आकाश त्रिपाठीले पनि ३ रनमात्रै जोड्न सके । त्यसपछि क्रिजमा आएका देव खनालले इरानको सातो उडाए ।

नेपालको राष्ट्रिय टिमको समेत अनुभव प्राप्त खनालले इरानी बलरहरुमाथि पूर्णरुपमा हावी हुँदै नेपाललाई खेलमा फर्काए । उनलाई दिपक बोहोराले बलियो साथ दिए । उनीहरुबीच १६६ रनको साझेदारी भयो ।

५९ बलमा शतक जोडेलगत्तै देव आउट भए । स्पिनरले फ्याकेको फुल टस बललाई असन्तुलित रुपमा एक हातले छक्का हान्न खोज्दा उनी क्याचआउट भए । त्यसबेला नेपालको स्कोर १७६ रन पुगिसकेको थियो भने २० ओभरको खेल मात्रै सकिएको थियो । तर, खेल धेरै बाँकी रहेको तर्फ ध्यान नदिइ ब्याट्सम्यानहरु ठूला सट खेल्न तल्लिन रहे ।

देव आउट भएलगत्तै देव पनि छक्का हान्ने चक्करमा आउट भए । त्यसपछि दीपक प्रसाद डुम्रे र दिपेश कँडेलबीच अर्को बलियो साझेदारी भयो । यो साझेदारीले नेपाल सहजै ४०० भन्दा माथिको स्कोतर्फ लम्किने संकेत देखाएको थियो । ३०.३ ओभरको खेल समाप्त हुँदा नेपालले २७६ रन बनाएर चार विकेट गुमाएको थियो ।

तर, दिपक ६९ रनमा आउट भएपछि नेपालले लगातार एकपछि अर्को विकेट गुमाउन पुग्यो । २७६/४ बाट नेपाल २९१/८ को अवस्थामा झर्यो ।पछिल्लो क्रममा आएका बलरहरु हेमन्त धामी, सुभास भण्डारी र आकाश चन्दले जेनतेन नेपाललाई ३५० भन्दा माथिको स्कोरमा पुर्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *