एमालेको मधेश अधिवेशन : बन्दसत्र सुरु, सर्वसम्मत नेतृत्व चयनमा सकस – Nepal Press

एमालेको मधेश अधिवेशन : बन्दसत्र सुरु, सर्वसम्मत नेतृत्व चयनमा सकस

जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ । महाधिवेशन प्रतिनिधि र नेताहरू खाना खाएर बन्दसत्रमा गएका हुन् ।

बुधवार महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरे । बुधवार राति ८ बजे नै बन्दसत्र हुने भनिएको थियो । तर बन्दसत्र अघि प्रदेश नेतृत्वमा सहमति गर्ने प्रयासमा लागे । सहमति जुटाउने प्रयास विफल भएपछि बन्दसत्र सुरु गरिएको छ ।

प्रदेश अध्यक्षका लागि आधा दर्जन बढी आकांक्षी रहे पनि अहिले चार जनाको नाम मात्र चर्चामा छन् । जसमध्ये धनुषाकै तीन नेता लक्ष्मीनारायण यादव, शिवशंकर साह ‘हिरा’ र राजकिशोर यादव ‌। यस्तै सिरहाका चन्देश्वर मण्डल पनि बलिया दाबेदार छन् ।

प्रदेशमा एमालेभित्र अहिले दुई गुट देखिएको छ, सरोज यादव र रघुवीर महासेठ । तर एमाले नेता लीलानाथ श्रेष्ठ पनि उम्मेदवार खडा गरेपछि तीन गुट देखिन्छ ।

सरोजले लक्ष्मीनारायण र लीलानाथले चन्देश्वरलाई प्रदेश अध्यक्ष बनाउन चाहेका छन् । रघुवीरले शिवशंकर साहलाई सुरुमा अघि सारे । तर उनी कमजोर देखिएपछि अब राजकिशोरको पक्षमा माहोल बनाउन सुरु गरेको बुझिएको छ ।

प्रदेशमा रघुवीरलाई हाबी हुन नदिने पक्षमा सरोज खडा देखिन्छन् । त्यसैले कुनै पनि हालतमा रघुवीरले चाहेका व्यक्तिलाई प्रदेश अध्यक्ष बनाउन नदिने पक्षमा सरोज रहेको एक नेताले सुनाए ।

ती नेताले भने, हिजोसम्म फरक परिस्थिति थियो । आज परिस्थिति बदलिएको छ । सरोजले अघि सारेका लक्ष्मीनारायणमा सहमति नजुटे उनले चन्देश्वरलाई स्वीकार्ने अवस्था आएको छ ।’ उनले सहमतिको प्रयास अझै जारी रहेको तर सहमति जुट्ने सम्भावना कम रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर