युद्धभूमिबाट रिपोर्टिङ- त्रासमै छु, तर पत्रकारिता कर्मबाट पछि हटेकी छैन
असोज २० गते शनिबार, समय आफ्नै रफ्तारमा अघि बढ्दै थियो । इजरायलको किरियात मलाखीको एउटा नर्सिङ होम मेरो ‘वर्किङ’ गन्तव्य । सधैं झैं म बिहान ६ः३० बजेको निर्धारित ड्युटीको लागि नर्सिङ होम पुगेकी थिएँ ।
काम गरिरहेको बेला एक्कासि बाहिर साइरन बजेको सुनियो । हामी काम गरिरहेका नेपालीको मनमा एउटा कौतुहल बल्झियो किन बाहिर साइरन बजिरहेको छ ? साइरनको रहस्य जान्न नपाई बाहिर बम पड्किन थाल्यो । यो क्रम बढ्दै गएपछि हामी त्रसित भयौं । किनभने यो अघिपछिको भन्दा फरक र भयङ्कर थियो ।
पछि थाहा भयो, इजरायलका विभिन्न ठाउँमा हमास विद्रोहीले आक्रमण गरेका रहेछन् एकैपटक । हजारौंको संख्यामा हमासका विद्रोहीहरु इजरायलीका घर र ठूला व्यापारिक भवनहरुभित्र घुसेर नरसंहार मच्चाइसकेका रहेछन् । हामीलाई बाहिर निस्कन दिइएन र निस्कने अवस्था पनि थिएन । कतिबेला हामी बसेकै भवन बमको शिकार हुन्छ भन्ने ठेगान थिएन ।
झण्डै दुई महिनाअघि पनि यस्तै घटना भएको थियो । त्यो बेला सामान्य बमबारी भएकोले थोरै समयमात्र त्रसित बनायो । यो पटक भने पाँच दिन बितिसक्दासमेत मनको त्रास हट्न सकेको छैन र आफू बस्ने कोठामा पुग्न सकेको छैन । शनिबार सुरु भएको बमबारी घटेको छ । तर, रोकिएको छैन । सीमा क्षेत्रमा अहिले पनि अवस्था भयङ्कर नै छ ।
त्यसो त हामी अहिले सुरक्षित नै छौं । हाम्रो नर्सिङ होमको व्यवस्थापनले हामीलाई काम गर्ने ठाउँ आसपासमै सुरक्षित स्थानमा राखेको छ । तर, मनको त्रासका कारण मानसिक रुपमा खुशी हुन सकिरहेका छैनौं । हाम्रो व्यवस्थापनले हुनेसम्म सबै उपाय लगाए पनि त्रास र बेचैनी हट्ने कुरा भएन ।
हमासले आक्रमण गरेको सुरुको दिन निकै कठिन र त्रासदीपूर्ण भयो । बमबारीसँगै जब टेलिभिजनहरुले बाहिरको भयङ्कर आक्रमणसहितको सदृश्य समाचार दिन थाल्यो, हामीलाई अब जीवित रहन सक्छौं कि सक्दैनौं भन्ने त्रासले निकै पिरोल्यो ।
यो बेला नेपालबाट आफ्नो परिवारका सदस्यले मात्र हैन, कहिल्यै नबोलेका सामान्य चिनजानका नेपालीले समेत चिन्ता व्यक्त गर्नुभयो । यसले एक प्रकारको खुशी पनि दियो । किनकि संसारभर जहाँ रहे पनि नेपालीहरुले यस्तो बेलामा नचिनेकाले समेत चिन्ता व्यक्त गरे । तर, परिवारले गरेको चिन्ता र अनावश्यक आशंकाले थप गम्भीरसमेत बनाएको छ ।
म नेपालमा रहँदा पत्रकारितामै थिएँ । इजरायल आएपछि पनि कामबाट बाँकी रहेको समय पत्रकारितामै सर्मपण गरेको छु । नेपाल प्रेसको लागि इजरायलबाट रिपोर्टिङसमेत गरिरहेको छु र ब्लग तथा लेखहरु पनि लेख्छु । नेपाल प्रेसको प्रवास व्यूरोको सदस्यकै रुपमा आधिकारिक प्रतिनिधि छु ।
इजरायल-हमास युद्धमा म आफैं पनि पीडित हुँ । कोठामा जान नसकेर काम गर्ने ठाउँमै सुरक्षित बसेको छु । तर, मैले मेरो पत्रकारिताको धर्म पनि भुलेको छैन । जोखिम हुँदाहुँदै पनि सकेसम्म यहाँको अवस्थाको बारेमा रिपोर्टिङ गरिरहेको छु । शुरुकै दिन नेपालमा धेरै अन्योलका बेला भिडिओ रिपोर्ट गर्न सफल भएँ ।
अहिले इजरायलले समेत प्रत्याक्रमण गरेकाले केही शान्त जस्तो छ इजरायल । तर, हमासका विद्रोही कति इजरायल छिरेका छन् भन्ने कुराले सबैलाई चिन्तित बनाएको छ । हामी बसेको ठाउँ तुलनात्मक रुपमा सुरक्षित छ । प्यालेस्टाइन सिमाना गाँजा क्षेत्रमा बसेका नेपालीहरु बढी जोखिममा छन् । उनीहरुको तत्काल उद्धार गर्नु आवश्यक छ ।
म सुरक्षित छु र पत्रकारिताको माध्यमबाट समस्यामा परेका नेपालीलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा लागेको छु । साथै पत्रकारिताको माध्यमबाट इजरायलको ताजा जानकारी गराउँदै सकेसम्म नेपालीको अवस्थाको बारेमा समेत नेपालमा रहेका परिवारका सदस्यलाई सूचना पुर्याउने प्रयत्न गरिरहनेछु ।
सरकारले आफ्नो प्रयास गरिरहेकै होला । नेपाल दक्षिण एसियामै इजरायलको सबैभन्दा पुरानो दौत्य सम्बन्ध भएको मित्र राष्ट्र पनि हो । त्यसैले नेपालले लगाएको गुण इजरायलले पनि तिर्ने बेला आएको छ । नेपाल र नेपाली असंलग्न रहेको यो युद्धमा विनाकुनै कारण हमासबाट १० जना होनहार नेपाली युवाको हत्या भएको छ ।
‘हामी नेपाली हौं’ भन्दाभन्दै पनि उनीहरुको किन हत्या भयो ? हमास संगठनले एक दिन जवाफ दिनुपर्ला । सरकारले पहिलो चरणमा विद्यार्थीहरुको उद्धार गरेर स्वदेश फर्काउने निर्णय गरेको समाचार पढियो । त्यो उपयुक्त निर्णय नै हो । बाँकी नेपाली जो इजरायलबाट फर्किन चाहन्छन्, उनीहरु सबैलाई सरकारले सुरक्षित उद्धार गरोस् ।
इजरायलमा करिब ४५ सय नेपाली कार्यरत छौं । तीमध्ये कतिपय घरपरिवारकै सदस्यसरह इजरायलमा बसेकाहरु तत्काल फर्किन नचाहन पनि सक्छन् । इजरायल सरकारसँग नेपाल सरकारले वार्ता गरेर भोलि परिस्थिति सहज भएपछि फेरि काममा फर्किन पाउनेगरी अन्तरिम व्यवस्थापन गर्न पनि पहल गर्नुपर्छ ।
यो त्रासदीपूर्ण अवस्थामा बंकरभित्र बसेर भने पनि नेपालीहरुको उद्धार, खोजी र स्वदेश फिर्तीका लागि तेल अभिभस्थित नेपाली दूतावासको टीमले गरेको पहल पनि उल्लेखनीय छ । यो युद्धमा नेपाल आफ्नो परराष्ट्र नीतिअनुसार असंलग्न रहेको छ । तर, इजरायलमा आफ्ना नागरिक रहेकाले उसको स्वाभाविक रुपमा सद्भाव सोहीबमोजिम हुन्छ नै ।
तर पनि नेपाल र नेपाली इजरायल तथा प्यालेस्टाइन दुवैतिरका जनता शान्तिपूर्वक बाँच्न पाउनुपर्छ भन्नेमा दृढ छौं । थाहा छैन, यो युद्ध कति लम्बिन्छ र कति हिंस्रक बन्दै जान्छ ? तर, सकेसम्म यो युद्धभूमिबाट पत्रकारको भूमिका पनि निर्वाह गर्ने प्रयास जारी राख्नेछु ।