हनुमान ढोकामा सार्वजनिक शौचालयको डमी राख्दा कोलाहल, निरीक्षण गर्दा हाकिम नै चकित – Nepal Press

हनुमान ढोकामा सार्वजनिक शौचालयको डमी राख्दा कोलाहल, निरीक्षण गर्दा हाकिम नै चकित

काठमाडौं । विश्व सम्पदा सूचीमा सुचीकृत हनुमानढोकास्थित परिसरमा बिहीबार बिहान सार्वजनिक शौचालय लेखेको बक्स राखियो ।
बाहिरबाट हेर्दा चारैतिरबाट घेरिएको भित्र शौचालय जस्तो देखिने २ वटा बक्स राखिएको थियो ।

वसन्तपुर, हनुमानढोका कुमारीघर घुम्न पुगेकाहरु हनुमानढोका अघि राखिएको डमी देखेर आक्रोशित भए । त्यहाँ पुगेकाहरुलाई हनुमानढोकामा मन्दिर नै छेकिने गरी घुम्ती शौचालय राखेको भ्रम परेको थियो ।

भ्रम पर्नु स्वभाविक नै हो किनकी विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रमा शौचालयको पर्याप्त सुविधा छैन ।

वसन्तपुर घुम्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु शौचालयको सामान्य सुविधा समेत नहुँदा शौच गर्न की त खाजा खाने बहानामा होटल छिर्नुपर्ने बाध्यता थियो की त शौचालय नै नजाने । यो समस्या वर्षोदेखि भोग्दै आइरहेका थिए ।

तर पर्यटकलाई लक्षित गरि काठमाडाैं महानगरपालिकाले सञ्चालन गरिएको सार्वजनिक शौचालय कतिपयले देख्दैनन् । त्यहाँ पुगेकाहरुले शौचालय नदेखेपछि कतै हनुमानढोका परिसरमा घुम्ती शौचालय राखेको होकी भन्ने भ्रम परेको थियो । तर त्यो बक्स घुम्ती शौचालय भने होइन ।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले शौचालयको डमी राखेपछि आक्रोशित स्थानीय महानगर अन्तर्गत रहेको हनुमानढोका दरबार क्षेत्रको कार्यालयमा पुगे ।

महानगरको स्वास्थ्य विभागले एउटा काम भनेर अर्को काम गरेपछि अहिले हनुमानढोका दरबार क्षेत्रको कार्यक्रम शाखा आलोचित बन्न पुग्यो ।
सबैले सम्पदा क्षेत्रमा यसरी मन्दिर नै छेक्ने गरी शौचालयको डमी बनाएर राखेको गुनासो गर्न आएपछि कार्यक्रम प्रमुख चन्द्र गोपाल प्रधान आफैँ हनुमानढोका परिसर पुगे ।

त्यहाँ राखिएको संरचना देखेर उनी आफैँ चकित भए । र, तुरुन्तै हटाउन लगाए ।

त्यहाँ सार्वजनिक शौचालय बनाएको नभई गल्तीले अर्कै फोटो परेको रहेछ ।  महानगरले सार्वजनिक शौचालयलाई प्रवद्र्धन गर्नुपर्छ भनेर फोटो प्रदर्शनी र जनचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको थियो ।

हनुमानढोका परिसरमा जनचेतना कार्यक्रम प्रभावकारी हुनसक्ने देखिएपछि महानगरको स्वास्थ्य विभागले हनुमानढोका दरबार क्षेत्रको कार्यलयमा ठाउँ उपलब्ध गराइदिन पत्र पठाएको थियो ।

सार्वजनिक शौचालय आवश्यक छ, अब कसरी पुरा गर्ने भनेर चेतनामुलक अभियान चलाउने र फोटो प्रदर्शन गर्ने भनेको थियो ।
सोही पत्रको आधारमा कार्यालयले अन्त ठाउँ नभएपछि हनुमानढोका परिसरमा कार्यक्रम गर्न अनुमति दिएको थियो । तर विभागले झट्ट हेर्दा जनचेतनामुलक कार्यक्रमको ब्यानर भन्दा सार्वजनिक शौचालय जस्तो देखिने गरी बनाएर ल्याए ।

मन्दिरमा पनि कहाँ शौचालय राख्छ बुझदै नबुझी जे पनि भन्दिने भन्दै कार्यक्रम प्रमुख प्रधानले प्रश्न गरे ।

‘त्यो जनचेतनाको लागि मात्र बनाएर राखेको हो । उनीहरुले बनाउँदाखेरि पनि मिलेन । बनाउनेले पनि सार्वजनिक शौचालय भनेर लेखिदिए ठक्याकै । मलाई पनि थाहा भएन । पछि हेर्दाखेरि त अर्कै रहेछ मैले हटाउ भनिसकेको छु । प्रधानले भने, तर शौचालय चाहिँ होइन ।’

महानगरको स्वास्थ्य विभागबाट सार्वजनिक शौचालय अनिवार्य छ है भनेर जनचेतनामुलक कार्यक्रम र फोटो प्रदर्शनी गर्न ठाउँ उपलब्ध गराइदिन चिठी लेखेपछि हनुमानढोका परिसरमा ठाउँ दिएको उनको भनाइ छ ।

हुनमानढोकामा कार्यक्रम प्रभावकारी हुन्छ भनेर लौ न त भनेर त्यो ठाउँ अलिकति प्रयोग गर्नुन त भनेको त उसले त शौचालय भनेर ठयाक्कै शौचालयजस्तो गरी बक्स नै बनाएर ल्याएछ । उसले चाहिँ बनाएर ल्याउँदा शौचालय आकारको बक्स नै बनाएर ल्याएछ । खास सानो ब्यानर बनाएर राख्न खोजेको अर्कै परेछ ।’

महानगरले पर्यटकहरुको लागि हनुमानढोकामा दुई वटा सार्वजनिक शौचालय बनाएको छ । जहाँ स्वदेशीदेखि विदेशी पर्यटकले प्रयोग गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *