एमाले मधेश प्रदेशमा सर्वसम्मतिको खाका- यी हुन् प्रस्तावित पदाधिकारी
जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश अध्यक्षमा चन्देश्वर मण्डल सर्वसम्मत बनाउने प्रस्ताव गरिएको छ ।
नेताहरुले अध्यक्षमण्डलसमक्ष पदाधिकारीहरु निर्विरोध गर्न नाम प्रस्ताव गरेका हुन् । सिरहाका जिल्ला अध्यक्षसमेत रहेका मण्डललाई प्रदेश अध्यक्ष बनाउने सहमति जुटेको एक नेताले बताए ।
प्रदेश अध्यक्षमा मण्डल सर्वसम्मत चयन भइसकेको र अन्य पदाधिकारीमा पनि सहमति जुटिसकेको एक नेताले बताए ।
मण्डललाई प्रदेश अध्यक्षका लागि एमाले नेता लीलानाथ श्रेष्ठले अगाडी सारेका थिए । उनको पक्षमा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादव र पोलिटब्यूरो सदस्य सुमन प्याकुरेल पनि उभिएपछि सहमति जुटेको बताइएको छ ।
एमाले सचिव रघुवीर महासेठले अध्यक्ष पदका लागि उठाएका शिवशंकर साह ‘हिरा’लाई सचिव मान्न नेताहरु तयार नभएपछि बाराका मनोज पौडेलको नाम प्रस्ताव गरिएको छ । हिरालाई अन्यत्र व्यवस्थापन गर्ने नेताहरुको प्रस्ताव छ ।
प्रदेश उपाध्यक्षको जिम्मेवारी संविधानसभा सदस्य पर्साका नेता बिचारी यादवले पाउने बुझिएको छ । सहसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस चयन भएको स्रोतको दाबी छ ।
प्रदेश कमिटीमा २३१ सदस्य रहनेछन् । सदस्य चयनको जिम्मेवारी सम्बन्धित जिल्लाका प्रतिनिधिहरुलाई नै दिइएको छ । यसरी सदस्य चयनमा सकस परेको नेताहरु बताउँछन् ।