कोशीको मुख्यमन्त्री इन्द्र कि केदार ? प्रदेश प्रमुखले आज निर्णय लिँदै
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेश गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङ्ग यतिखेर कानूनी परामर्शमा छन् । संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्रीको दाबी पेश गर्न उनले दिएको समय सीमा आज साँझ ५ बजेबाट सकिँदैछ ।
तर, हिजै मुख्यमन्त्रीमा दाबी भइसकेको छ । कोशीमा नयाँ मुख्यमन्त्रीका लागि दुईजनाले दाबी गरेपछि परामर्शका लागि समय लाग्ने भन्दै उनले आजमात्र मुख्यमन्त्री नियुक्तिसम्बन्धी निर्णय गर्ने बताएका थिए ।
सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् ।
तर, गठबन्धनका शीर्ष नेताको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ । नेपाली कांग्रेसका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेका छन् ।
कार्कीले आफूसहित कांग्रेसका ९ प्रदेशसभा सदस्य र एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका हुन् ।
कार्कीसहित कांग्रेसका ८ सांसद प्रदेश प्रमुख खापुङ्गसमक्ष सशरीर उपस्थित भएर इन्द्र आङ्बोको समर्थनमा आफूहरूले हस्ताक्षर नगरेको भन्दै पुरानो हस्ताक्षर ल्याएर झूटो विवरण पेश गरेको बताएका छन् । उनीहरूले आफ्नो उम्मेदवार केदार कार्की भएको बताएका छन् ।
कोशीमा उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ ।
ईन्द्रलाई नियुक्ति गरेमा प्रदेश प्रमुख गठबन्धनको आदेशपालक हुनेछन् । उनलाइ त हस्ताक्षर किर्तेमा कारवाही हुनुपर्ने हो । ८ जनाले स्वयम् उपस्थित भएर केदार बाहेक अरूलाई हामीले हस्ताक्षर गरेकै छैनौं भनेपछि त ईन्द्रलाई त मुलुकी ऐन किर्ते महल अनुसार कारवाही गर्नुपर्छ । के को मुख्यमन्त्रि नियुक्त गर्नु नि ! तर दिल्लीका टट्टुहरू उताबाट आदेश आएपछि त्यहि अनुसार गर्छन् ।