धार्मिक सद्भाव कायम राख्न नसकेको भन्दै बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले पछिल्लो समय धार्मिक सद्भाव बिथोलिएका बाँके र सर्लाहीका प्रहरी प्रमुखको सरुवा गरेको छ ।
बाँकेका एसपी सन्तोषसिंह राठोर र सर्लाहीका एसपी नरेशराज सुवेदीको काज सरुवा भएको हो । बाँकेमा सुवासचन्द्र बोहरा र सर्लाहीमा प्रवीण धिताललाई पठाइएको छ।
बाँकेका सीडीओ विपीन आचार्यलाई गृहमा तानेर इलामका सीडीओ श्रवणकुमार पोखरेललाई पठाइएको छ ।
राठोर र सुवेदी दुवैको कार्यकाल एक वर्ष पूरा नभई सरुवा भएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले राठोर र सुवेदीको काज सरुवा गरिएको बताए।
‘सामान्य अवस्थामा एक वर्ष पूरा नभई हटाउन नपाइने भन्ने हो । तर, कमान्ड कन्ट्रोल, अपराध अनुसन्धानलगायतका विषयमा सरुवा गर्न सकिन्छ’, कडायतले भने ।
यसअघि सर्लाही र बाँकेमा हिन्दू-मुस्लिम सद्भाव बिथोलिएपछि बसेको सुरक्षा परिषद् बैठकमा पनि दुवै जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई सरुवा गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।