धनगढीमा झाँक्रीको प्रश्न- संविधान क्रियाशील बनाउने विषय संघीय सरकार बनाउँदा मात्रै कि प्रदेश सरकार बनाउँदा पनि ? – Nepal Press

धनगढीमा झाँक्रीको प्रश्न- संविधान क्रियाशील बनाउने विषय संघीय सरकार बनाउँदा मात्रै कि प्रदेश सरकार बनाउँदा पनि ?

कैलाली । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले संविधान कार्यान्वयन गर्ने विषय संघीय सरकार निर्माणमा मात्रै नहुने र प्रदेश सरकारमा पनि संविधान कार्यान्वयनमा जोड दिनु पर्ने बताइएकी छन् । मेची महाकाली जागरण यात्राको लागि कैलाली पुगेकी झाँक्रीले धनगढी विमान स्थलमा पत्रकारहरूसँग यस्तो बताएकी हुन् ।

धारा ७६ (५) अनुसार कोशी प्रदेशमा सरकार गठनको गृह कार्य भइरहेको छ । यस अघि केन्द्रीय सरकारमा सोही धारामा टेकेर सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । अहिले कोशी प्रदेशमा सोही अवस्था सृजना भएको भन्दै झाँक्रीले शशरीर उपस्थित भएकाहरूलाई नै मान्यता दिनु पर्ने आशय व्यक्त गरिन् ।

लामो समय पार्टीमा निष्क्रिय जस्तै भएकी सचिव झाँक्रीले पार्टी नेतृत्वसँग भएका असहमतिहरू हल भएको बताइन् । विधानमा भएका केही समस्याका विषयहरूमा असहमति जाहेर गरेको र त्यो हल भएपनि अहिले गतिविधिमा संलग्न रहेको उनले बताइन् ।

‘समाजवादीको विधान अनुसार नयाँ नेतृत्व आउने सम्भावना न्यून छ । तोकिएका र चाहेका मान्छेहरू प्रतिनिधि परिषद् हुन्छन् । त्यसले छान्छ केन्द्रीय कमिटी । त्यो छानिएको केन्द्रीय कमिटीले छान्छ पदाधिकारी । त्यसले गर्दा नयाँ नेतृत्वमा नयाँ मान्छे आउने सम्भावना नौ हुँदैन’ उनले भनिन् ‘यस बिषयमा मैले नेतृत्वसँग छलफल गरेको छ ।’

मेची महाकाली जागरण यात्राले पार्टीमा उत्साह भरिएको उनको दाबी छ । सोही अभियानको लागि झाँक्री धनगढी पुगेकी हुन् । पार्टीका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरूको उपस्थितिमा आज कैलालीमा जागरण यात्रा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर