नेपाली भूमिमा मोदीको भ्रमणप्रति झलनाथको कडा आपत्ति, भारत ठाडो अतिक्रमणमा उत्रिएको आरोप – Nepal Press

नेपाली भूमिमा मोदीको भ्रमणप्रति झलनाथको कडा आपत्ति, भारत ठाडो अतिक्रमणमा उत्रिएको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल सरकारको जानकारीबिनै नेपाली भूमिमा आएकोप्रति आपत्ति जनाएका छन् । उनले त्यसबारे गठबन्धन सरकारसँग जवाफ माग गरेका हन् ।

उनले भनेका छन्, ‘असोज २५ गते बिहीबार हाम्रो मातृभूमि नेपालको सुदूरपश्चिम दार्चुला जिल्लाको व्यास गाउँपालिका १ कुटी गाउँको जोलिङकाङ हेलिब्याडमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र भारतकै उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामी सशस्त्र फौज र सुरक्षाका साथ उत्रिए । त्यतिमात्र होइन उनीहरुले कुटी गाउँ स्थित पार्वती कुण्डमा पुजा आजा समेत गरे । यो आफैंमा एउटा अर्को आश्चर्यजनक घटनाका रुपमा देखा परेको छ ।’

कुटी, नापी र कुञ्जी जस्ता स्थानहरू लगायत महाकाली नदीको एकमात्र शिर लिम्पियाधुरा सम्मको भूभाग ऐतिहासिक एकीकरण देखि नै नेपालका अभिन्न भूभाग रहेको इतिहाससिद्ध, तथ्यसिद्ध र तर्कसिद्ध रहेको उल्लेख गरेका छन् ।

उनले थपेका छन्, ‘तर भारतका शासकहरु ती नेपालका प्रिय भूभाग माथि एक पछि अर्को अतिक्रमण गर्दै आइरहेका छन् र जबर्जस्त कब्जा गर्ने दुर्नियतले चलिरहेका छन । त्यसैको पछिल्लो कडी हो प्रधानमन्त्री नरेन्द्र मोदीको पुजा आजाको नाममा गरिएको ठाडो अतिक्रमण ।’

के भारतीय प्रधानमन्त्रीको कुटी भ्रमण नेपाल सरकारलाई थाहा थियो ? के नेपाल सरकारसँग स्वीकृति लिएर त्यत्रो सशस्त्र शक्तिका साथ भारतीय प्रधानमन्त्री आएका हुन ? त्यस्तो होइन भने नेपालले राष्ट्रिय सहमतिका साथ चुच्चे नक्सा पास गरेको होइन ? यो नक्सा बमोजिमको नेपाली भूमिको रक्षा गर्ने जिम्मा नेपाल सरकारको होइन? आज गठबन्धन सरकार के हेरेर बसिरहेको छ ? संसद भित्र त्यत्रो आवाज उठ्दा समेत किन आज यस बारेमा कुनै दलले एक शब्दहरु निकालिरहेको छैनन ? वर्तमान गठन्बधन सरकारबाट जवाफ माग गरेका छन् ।

भारतका वर्तमान शासकहरू नेपाली भूमिको सिमानामा बार-बार अतिक्रमण गर्दै आएको आरोप लगाए ।

उनले भनेका छन्, ‘अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका बिरुद्ध अर्को ठाडो अतिक्रमण हो । त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ र यो अन्र्तराष्ट्रिय कानून र मर्यादाको समेत विरुद्ध छ । समस्त देशभक्त नेपाली जनता यस्ता अतिक्रमण र हस्तक्षेपको कडा विरोध गर्दछौं र हाम्रो सिमानाको रक्षाको निम्ति अनन्त सम्म पनि संघर्ष गरिरहने सङ्कल्प गर्दछौ ।’

यस्तो अवस्थामा भारतीय प्रधानमन्त्रीको भ्रमणको अर्थ के हो ? यसको वास्तविकता के हो ? नेपाल सरकार त्यस बारेमा जानकार छ कि छैन ? त्यस प्रकारका अतिक्रमणका विरुद्ध नेपाल सरकारको दृष्टिकोण के हो ? हाम्रो परराष्ट्र मन्त्रालय यसबारेमा के भन्छ ? यी सम्पूर्ण कुराको यथार्थ जनसमक्ष ल्याउन सरकारसँग माग गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर