चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु, सांसद चौधरीले गरे उद्घाटन – Nepal Press

चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु, सांसद चौधरीले गरे उद्घाटन

ट्रमा सेन्टर बनाएरै छोड्ने प्रतिबद्धता

बर्दघाट । सुस्ता पश्चिमको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ ।

चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र सञ्चालनमा आएको हो ।

शनिवार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गरेका हुन् । अब चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निःशुल्क पाउनेछन् ।

नवलपरासी(१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रूपमा अगाडि बढाउने जोड दिँदै आएका छन् ।

चौधरी फाउन्डेसनको सहयोगमा अस्पताललाई विशिष्टीकृत सेवा दिने अस्पतालका रूपमा काम भइरहेका बेला शनिवारदेखि सबल केन्द्रको पनि उद्घाटन भएको हो ।

सिजी सबल केन्द्रबाट हालसम्म करिब एक हजार जना लाभान्वित भइसकेका छन् । केन्द्रले निःशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउँदै आएको छ ।

सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई ध्यानमा राखेर मानवीय सेवाभावले चिसापानी अस्पतालमा सबल केन्द्र स्थापना गरेका हुन् ।

निर्वाचनका बेला यहाँका नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवाको व्यवस्था गर्ने घोषणा गरेका नेता चौधरीले नवलपरासीमा स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएका छन् ।

चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले सेवा पाउने चौधरी फाउन्डेसनले जनाएको छ । साथै अस्पताललाई यस क्षेत्रको उत्कृष्ट अस्पताल बनाउने फाउन्डेसनको प्रतिबद्धता छ ।

सांसद चौधरीले चिसापानी अस्पताललाई थप विशिष्टीकृत बनाउन ट्रमा सेन्टरको स्थापना गर्ने जनाएका छन् ।

उनले ट्रमा सेन्टर स्थापनाका लागि सोही क्षेत्रकै कतिपय नेताहरूले अवरोध गरेको उल्लेख गर्दै आफू यस अभियानबाट पछाडि नहट्ने प्रतिबद्धता जनाए ।

‘यो अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी काम हुन्छ । यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण साथ सहयोग हुन्छ’, उनले भने, ‘ट्रमा सेन्टर बनाउन यहिका केहि नेताहरू लागेको देख्दा म आफै लज्जित बनेको छु । तर यो मेरो प्रतिबद्धता हो कि म बनाएरै छोड्छु ।’

बर्दघाट नगरपालिकाका मेयर शम्भु श्रेष्ठले चिसापानी अस्पतालको सेवा विस्तार र सुधारमा चौधरी फाउन्डेसनले महत्त्वपूर्ण योगदान दिएको बताए ।

उनले भने, म यसका लागि फाउन्डेसनलाई धन्यवाद दिन चाहन्छु । र अस्पताललाई उत्कृष्ट बनाउन नगरपालिकाले सहयोग गर्नेछ ।’

सांसद चौधरीकै पहलमा सरकारले चिसापानी अस्पतालसहित नवलपरासी १ का तीन वटा स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ । यसअघि चिसापानी अस्पतालमा टोकन प्रणालीबाट सेवा लिने व्यवस्था सुरु भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर