कोशीका मुख्यमन्त्री काठमाडौं आएलगत्तै शेखर निवासमा
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की काठमाडौं आइपुगेका छन् । प्रदेश प्रमुखबाट नियुक्ति पाएसँगै उनी काठमाडौं आएका हुन् ।
शनिवार साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएसँगै उनी सिधै कांग्रेस नेता शेखर कोइरालालाई भेट्न उनको निवास पुगेका छन् ।
हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आह्वान गरेका थिए ।
सो धारा अन्तर्गत केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेसबाट प्रदेशसभा सदस्य निर्वाचित भएका केदारले कांग्रेसको निर्णयको विरुद्धमा विद्रोह गर्दै कांग्रेसका ८ प्रदेशसभा सदस्यसहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी गरेका थिए ।
कांग्रेसका ८ र एमालेका उपसभामुखसहित ४० सदस्यले केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । कोशीप्रदेश सभामा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्दछ ।