हाम्रा रैथाने ‘सुपर फुड’ अन्न कसरी लोप भए ? – Nepal Press
सन्दर्भ : विश्व खाद्य दिवस

हाम्रा रैथाने ‘सुपर फुड’ अन्न कसरी लोप भए ?

भिटामिन र सप्लिमेन्टको लागि आजभोलि ‘सुपर फुड’ खाने प्रचलन बढेको छ । शरीरको सन्तुलित विकासका लागि यसलाई अनावश्यक मान्न सकिँदैन पनि । पोषण तत्वयुक्त खानाको अभावले मानिसमा विभिन्न रोग देखापर्ने गरेका छन् । संसारभर एकातिर भोकमरीको चुनौती छ भने अर्कोतिर पोषणयुक्त खानाको । त्यसैले खाद्य सुरक्षा र पोषण सुरक्षाको सवाल उठिरहेको पाइन्छ ।

मलाई बाल्यकालको याद भएसम्म हामी प्रायः मकैको आटो, गहुँ, कोदो र फापरको रोटी, तोरीको साग, सिमी, बोडी, फर्सी, काँचो केराको तरकारी, सुकाएको साग, स्कुस, निउरो, चम्सुरको साग, गुन्द्रुक अर्थात् सिन्की, अचारको रुपमा केराको बाेंगो, सिमली कान, कोइरालो, सिलाम, पुदिना आदिको अचार खुबै मीठो मानेर खान्थ्यौं । सखरखण्ड, पिंडालु, तरुल खास सिजनमा खाइन्थ्यो । मेरो अनुभवमा दाल धेरै कम खाइन्थ्यो । कहिलेकाहीं गहत, झिलङ्गी, बोडी, मासको दाल भने खाइन्थ्यो । यो अनुभव अर्घाखाँची पाणिनि साविक मैदानको भए पनि पूरै जिल्ला र अन्य पहाडी जिल्लाको कथासमेत हो । कथा यस अर्थमा कि ती खानपान, रहनसहन अहिलेका लागि कथा नै हुन् ।

विश्व खाद्य दिवसका सन्दर्भमा खाद्य सुरक्षा, पोषण र कुपोषणको सन्दर्भ अनेक ढंगले उठ्ने गर्छन् । यसका साथै जलवायु परिवर्तनको विषय पनि अहिले उठ्ने गरेको ज्वलन्त विषय हो । यसका लागि सरकार र गैरसरकारी संस्थाहरुले गोष्ठी, सेमिनार गर्छन् । भाषण र कार्यपत्र प्रस्तुत हुन्छन् । यतिसम्म ठीकै छ । तर, हामीले ४० देखि ५० वर्ष पुरानो खानपानलाई एकपटक स्मरणमात्र गर्ने हो भने अहिलेका ‘सुपर फुड’ आवश्यक नै पर्दैन ।

जलवायु परिवर्तनका कारण वर्षाको उत्तरार्द्धमा मात्र पानी पर्ने अवस्था छ । हाम्रो खाना भातमैत्री भएकाले आयात गरेर पनि भात खाने प्रचलन बढेको छ । जलवायु अनुकूलनका हिसाबले धान खेती कम र अरु खेती बढाउनुपर्ने अवस्था छ ।

यो वर्ष सन् २०२३ लाई ‘जीवन र खाद्यको आधार पानी’ भन्ने नाराका साथ विश्व खाद्य दिवस मनाइँदैछ । यस अर्थमा यो पटक खाद्यान्नका लागि सिंचाइ र थोरै पानीमा कसरी खेती गर्ने भन्ने विषयले पनि ठाउँ पाउने अनुमान गर्न सकिन्छ । कोदो र फापर अलि रुखो र पानी कम भए पनि हुने खाद्यान्न हो । केरा, कर्कलोलाई पनि खासै धेरै पानी चाहिँदैन । धानलाई सबैभन्दा धेरै पानी चाहिन्छ । मकैका लागि पनि त्यति धेरै पानी चाहिँदैन । जलवायु परिवर्तनका कारण वर्षाको उत्तरार्द्धमा मात्र पानी पर्ने अवस्था छ । हाम्रो खाना भातमैत्री भएकाले आयात गरेर पनि भात खाने प्रचलन बढेको छ । जलवायु अनुकूलनका हिसाबले धान खेती कम र अरु खेती बढाउनुपर्ने अवस्था छ ।

यो कुरा अन्नमा मात्र हैन, तरकारीमा पनि उत्तिकै लागू हुन्छ । हरियो सागपातबाहेक हामी प्रायः गोभी खान मन पराउँछौं । बेमौसमी तरकारी र फलफूल खान हामीलाई मनपर्न थालेको छ । अर्थात् हाम्रो जीवनशैली वातावरणमैत्री हुन सकिरहेको छैन ।

खाना खाने रैथाने शैली गजबको थियो । म स्वयंले अनुभव गरेको, देखेको र भोगेको कुरा हो- कोदाको पीठो अलि सारो बन्ने गरी मुछेर तेल घिउ नहाली च्युरी र केराको पातमा खाने गरिन्थ्यो । गोमुत्र चिकित्सक बाबा योगीराजका अनुसार यसरी पकाएर खाँदा अमिलचुकी आउने रहेछ भने ठीक हुन्छ । मकैको रोटी बनाएर मोहीसँग मीठो मानेरै खाने गरिन्थ्यो । मोही पाचन क्रियाका लागि असाध्यै उपयोगी रहेछ । चामल कमै खाने गरिन्थ्यो । खासमा चाडबाडमा मीठो मसिनो मानेर भात खाइन्थ्यो । त्यतिवेलाको आफैं मिलमा लगेर पिसेको चामलबाट पकाएको भात स्वादिलो हुन्थ्यो । चामल धोएको पानी चौलानी हालेको तरकारी बाक्लो हुन्थ्यो । अहिले चामल जति धोए पनि सेतो आउँदैन । सेतो नआउनेमात्र हैन कमिला पनि नजिक पर्दैन ।

आजभोलि बिरामी हुने ४० वर्ष कटेको प्रायः बिरामीलाई चिकित्सकहरुले भात, चिनी, नून, मैदाको रोटी, पाउरोटी, चाउमिन, चाउचाउ आदि नखान नै भन्ने गर्छन् । ओहो हाम्रा बाउबाजेहरु कति जान्ने, सुन्ने र बुझ्ने रहेछन् । यसको अर्थ सबै बिषयमा हैन, कैयौं कुरामा कमजोर थिए । तर, खानेकुरामा कति परिपक्व थिए । अहिले सम्झँदा पनि आश्चर्य लाग्छ ।

विडम्बना के छ भने यो कुरा बुझ्नै ५० वर्ष लाग्ने रहेछ । यहाँनिर मैले जोड्न खोजेको विषय यो हो कि आज हामी सुपर फुडको खोजीमा भौंतारिएका छौं । तर, हाम्रा रैथाने खानपान सबै सुपरफुड रहेछन् । हाम्रोमा कोदोलाई तल्लोस्तरको खाना भनिन्थ्यो । कतिपय ब्राह्मणले त यसलाई खाँदैनथे । कसैलाई गाली गर्दा ‘कोदे’ भनेर भनिन्थ्यो । मैले सायद २०५५ सालपछि मात्र ढेंडो खान थालेको हुँ । पहिलोपटक मेरो खवाई देखेर हरि लम्साल (तत्कालीन रुपन्देही पत्रकार महासंघका अध्यक्ष)ले थाहा पाउनुभयो र भन्नुभयो- तपाईं ढेंडो खाने मान्छे हैन ।

चामल कमै खाने गरिन्थ्यो । खासमा चाडबाडमा मीठो मसिनो मानेर भात खाइन्थ्यो । त्यतिवेलाको आफैं मिलमा लगेर पिसेको चामलबाट पकाएको भात स्वादिलो हुन्थ्यो । चामल धोएको पानी चौलानी हालेको तरकारी बाक्लो हुन्थ्यो । अहिले चामल जति धोए पनि सेतो आउँदैन । सेतो नआउनेमात्र हैन कमिला पनि नजिक पर्दैन ।

ढेंडो खाँदा दाल, मासुको रस वा तरकारीमा डोवेर सुर्लुक्क निल्नुपर्ने रहेछ । मलाई के थाहा ? मैले त भात जसरी चपाएर खाएछु । कोदोको रोटी भने खाएको थिएँ । लगभग ५ हजार वर्ष पुरानो विश्वको सबैभन्दा पुरानो बाली तथा फाइबरको स्रोत कोदो कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स र भिटामिन तथा फलाम, म्याग्नेसियम, पोटासियम र फोसफोरस एवं धेरै खनिजहरूको स्रोत रहेछ । कोदोमा शरीरलाई आवश्यक पर्ने सबै एमिनो एसिडहरू पनि हुने रहेछन् । यसले रक्तचापलाई नियन्त्रण गर्न, हृदय रोग र टाइप टु मधुमेहको जोखिम कम गर्न मद्दत गर्छ । हड्डी र दाँत बलियो पार्न, छाला स्वस्थ राख्न, कोषहरूलाई क्षति हुनबाट बचाउने एक शक्तिशाली एन्टिअक्सिडेन्ट पनि पाइन्छ । एन्टिअक्सिडेन्ट गुणयुक्त कोदो मधुमेहका रोगीलाई फाइदाजनक मानिन्छ ।

अर्को सुपर फुड फापर तीते र मीठे दुई किसिमको हुन्छ । तीते त्यति खाने चलन थिएन । मीठे स्वादिलो र मीठो हुने भएकाले खाने गरिन्थ्यो । अहिले जताततै फापरको बखान हुने गर्छ । अहिले कोदोको लोकप्रियता संसारभर नै बढिरहेको छ । तीते फापर मधुमेहका बिरामीलाई अझ बढी लाभदायक छ । यसले बढ्दो चिनी, इन्सुलिन र कोलेस्टेरोलको मात्रा न्यूनीकरण गर्छ । यसमा फाइबर, स्टार्चका अलावा भिटामिन बी १, बी २ पनि पाइन्छ । फापरमा पाइने ‘रुटिन’ भनिने एन्टिअक्सिडेन्टले उच्च रक्तचाप र हृदयसम्बन्धी रोग लाग्नबाट बचाउन सहयोग गर्छ । जापानी अध्ययनअनुसार फापरमा पित्तथैलीको कोलेस्टेरोल (गल स्टोन) हुनबाट बचाउने क्षमता हुन्छ । फापरमा मिनरल, भिटामिनका साथै कार्बोहाइड्रेड, फाइबर, प्रोटिन, सुगर, चिल्लो पदार्थ र पानीको मात्रा पनि पाइन्छ ।

त्यतिमात्र हैन, यसले क्यान्सर लाग्ने जोखिम कम गर्ने, आइरन, भिटामिन ई र म्याग्नेसियम प्रशस्त पाइने भएकाले यो आफैंमा औषधिजन्य खाद्यपदार्थ हो । तरकारीमा चम्सुरको साग भाँचिएको हड्डीको उपचारका लागि रामवाण मानिन्थ्यो । दम र खोकीको उपचारमा पनि यसको प्रयोग हुन्थ्यो । यसले कलेजो, मिर्गौला, छाला, आँखाका समस्या निराकरण गर्न पनि मद्दत गर्छ भन्ने मान्यता छ । चम्सुरले रक्तचाप र रगतमा चिनीको मात्रा घटाउँछ भन्ने मान्यता छ । भनिन्छ यसमा झाडापखाला र ब्रोङ्काइटिस निदान गर्ने गुण पनि हुन्छ । यो प्रायः हातखुट्टा भाँचिँदामात्र खाने गरिन्थ्यो ।

‘छोरा पाए खसी, छोरी पाए फर्सी’ भनेर अवहेलना गरिने फर्सी तरकारीमा सुपरफुड नै रहेछ । यो एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटरी र एन्टिडाइबेटिक गुणयुक्त तरकारी मानिने रहेछ । यसमा पाइने केमिकल र फ्याटी एसिड शरीरका लागि लाभदायक रहेछन् । फर्सीको बियाँ फालेर तरकारी खाइन्थ्यो । तर, आजभोलि प्रोस्टेटको समस्या हुनेले नियमित फर्सीको बियाँ खाने गर्छन् । भिटामिन ‘ए’ धेरै पाइने भएकाले प्रायः विदेशतिर फर्सीको सुपलाई उत्तम मानेर खाइन्छ ।

तीते फापर मधुमेहका बिरामीलाई अझ बढी लाभदायक छ । यसले बढ्दो चिनी, इन्सुलिन र कोलेस्टेरोलको मात्रा न्यूनीकरण गर्छ । यसमा फाइबर, स्टार्चका अलावा भिटामिन बी–१, बी २ पनि पाइन्छ । फापरमा पाइने ‘रुटिन’ भनिने एन्टिअक्सिडेन्टले उच्च रक्तचाप र हृदयसम्बन्धी रोग लाग्नबाट बचाउन सहयोग गर्छ ।

गुन्द्रुक हिमालयन सुप भनेर तारे होटलहरुमा खुवाउन थालिएको छ । थकाली खानामा त यो अनिवार्य नै हुन्छ । गुन्द्रुक पोटासियम, म्याग्नेसियम र क्याल्सियम जस्ता तत्वको पनि स्रोत रहेछ । मस्यौरा वा तितौरा अभावमा खाने तरकारी थियो । दालको साटो झोलिलो तरकारीको रुपमा मस्यौरा खाने गरिन्थ्यो । मासको दालमा कर्कलो थिचेर वा कुटेर ससाना डल्ला पारेर घाममा सुकाएर तयार गरिने यो तरकारी परम्परागत खाद्य हो । आजभोलि मासमा आलु, कर्कलो, पिँडालु, तरुल, कुभिन्डो, इस्कुस, काउली, बोडी, सिमी, कसैकसैले च्याउ र चना जस्ता तरकारी पिसेर लेदो बनाई मिसाएर पनि मस्यौरा बनाइन्छ ।

अचारको रुपमा खाइने कतिपय चिज औषधिकै रुप रहेछन् । जस्तो तीतो सिमलीकानले पत्थरी हुन नदिने र मृगौलाको लागि राम्रो औषधि रहेछ । केराको बोंगो पित्त, ज्वरो, पत्थरी, रक्तचाप, मधुमेह, कलेजो, मिर्गौला, मुत्ररोग, कपाल झर्ने-खुइलिने, हैजा, पत्थरी, छालाका रोग, अपच, अरुचि, कमलपित्त, सबै प्रकारका हेपाटाइटिसलाई निको पार्न सहयोगी रहेछ । त्यस्तै मासिक धर्म, छारे, रक्तपित्त, गाँड, गाँठा-गिर्खा, पाचन प्रणालीका घाउ-खटिरा, गला-घाँटीको रोग, मुख पाकेको, पेट पोल्ने, दुख्ने, अर्बुद, शारीरिक कमजोरी, कुपोषण, आन्द्रा सुख्खा हुने, रक्तस्राव, आउ-पखाला, क्षयरोग, मानसिक रोग, प्रमेह, प्रदर इत्यादिलाई पनि निको गराउने रहेछ ।

कर्कलोको कुरै नगरौं । खाद्य वैज्ञानिक नारायण घिमिरेको भाषामा सल्फर, एमोनिया, नाइट्राइट, जिंक आदि हुने, सेपिलो अरु खेती राम्रो नहुने, कृषिका लागि प्रतिकूल मानी फालिएको जग्गामा पनि फलिदिन्छ कर्कलो । बदलामा यसले अत्यधिक पोषण तत्वयुक्त तरकारी मानिसलाई उपलब्ध गराउँछ ।

जनावरमा गरिएको अनुसन्धानअनुसार कोइरालोको फूलमा छालाको क्यान्सर नियन्त्रण गर्ने गुण हुन्छ । कोइरालोको बोक्रा कलेजो (लिभर) टॉनिकका रूपमा प्रयोग गरिन्छ । यो पनि खुवै खाइन्थ्यो । तितौरा बनाउँदा यसकै प्रयोग हुन्थ्यो । पुदिनाको चटनी सारै मीठो । यो कफनाशक हुनुका साथै ज्वरो, खोकी, हैजा, ग्यास्ट्रिक, पाचन र कतिपय दुःखाइ कम गर्न उपयोगी मानिन्छ । त्यसबाहेक पेय पदार्थ, पान मसलादेखि सौन्दर्य प्रसाधनसम्ममा पुदिनाको प्रयोग गरिन्छ । यो मुख ताजा राख्ने (माउथ फ्रेसनर) पनि हो । गर्मीमा लू लागे पनि पुदिना दिने चलन छ ।

वास्तवमै हामीले खाने गरेको सुपर फुड खाना आजभोलि लोप भएर फेरि संरक्षण गर्न थालिएको छ । विश्व खाद्यान्न तथा कृषि संगठन एफएओका अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्य संकट नै हो । स्थानीय विशेषता रहेका अन्नबाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने बीउविजन लोप हुँदै जानु खाद्यान्न व्यवस्थापन को चुनौती हो ।

एउटा तथ्याकंका अनुसार सन् २०२५ सम्ममा विश्वमा खाद्यान्न अभाव भएर विकसित देशका ठूल्ठूला निगमहरु विकासोन्मुख देशका खाली जमिनमा कृषि गर्न लगानी गर्ने दाबी गरिएको छ । जबकि सन् १९६० को दशकमा नेपाल संसारभरि चामलको छैटौं धेरै निर्यात गर्ने देशहरुमा पर्थ्यो । तर, आज नेपालले चामललगायत धेरै कृषिजन्य उत्पादनहरु आयात नगरे भोकमरीले संकट निम्त्याउनेछ ।

२०८० असोज २८


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *