यहाँ जलेर खरानी हुन पनि पैसा चाहिन्छ – Nepal Press

यहाँ जलेर खरानी हुन पनि पैसा चाहिन्छ

परबाट हेर्दा पशुपतिनाथ मन्दिर धार्मिक आस्थाको केन्द्र हो । तर, नजिकबाट नियाल्दा पशुपतिनाथ जीवन र मृत्युको संगमस्थल हो । जहाँ हरेक दिन हजारौं मानिसहरु प्रार्थनाका खातिर पुग्छन् । जहाँ हरेक दिन सयौं मानिसहरु आफन्तको दाहसंस्कारका निमित्त बाध्यताका खातिर पुग्छन् ।

पशुपतिमा मान्छे जीवन माग्न पुगिरहेका हुन्छन् । जहाँ मान्छेहरु जीवनलाई अन्तिमपटक आँसु र जल चढाउन पनि पुगिरहेका हुन्छन् । जहाँ मान्छेहरु जीवनलाई जलाएर खरानी बनाउन पनि पुगिरहेका हुन्छन् ।

कसैको यात्रा पशुपतिमा पुगेर टुंगिन्छ । कसैको यात्रा पशुपतिमा पुगेपछि सुरु हुन्छ ।

त्यही पशुपतिमा पुगेर यात्रा सुरु गर्न चाहनेहरुको अरोह अवरोहमाथि निर्देशक दिपेन्द्र के खनालले सात वर्ष पहिले बनाए चलचित्र, ‘पशुपतिप्रसाद’ । अहिले सात वर्षपछि ‘पशुपतिप्रसाद’को सिक्वेल ल्याउँदै छन्, ‘पशुपतिप्रसाद–२ भष्मे डन’ ।

‘पशुपतिप्रसाद’लाई १३ दिन लगाएर सुटिङ सिध्याए । सिक्वेललाई लगाए ५६ दिन । सुटिङका लागि मात्रै खनालले ६९ दिन पशुपतिमा बिताए । अन्य विविध प्रायोजनका लागि कति पटक पुगे, त्यसको हिसाब परेन । आफन्तको बिदाइ गर्ने लाइनमा पनि खनाल उभिए । बुबा र हजुरआमालाई पशुपतिको घाटबाटै अन्तिम श्रद्धान्जली समेत दिए ।

जीवनको बिदाइ गर्नेहरु र नयाँ जीवनको कामना गर्नेहरुको भिडमा जिन्दगीबाट आजित भएर पशुपति पुग्नेहरु पनि कम छैनन् । फिल्म पशुपतिप्रसादको मुख्य धरातल नै यही थियो । जो जीवनबाट निराश भएर, दिक्दार भएर पशुपति पुगेका थिए ।

खनाल सुनाउँछन्, ‘कामना, प्रार्थना र शोकका लागि जानेहरु त भए । तर, जीवनदेखि दिक्क भएर जीवन–मरणको दोसाँधबाट विरक्तिएर जाने ठाउँ कतै नपाउँदा मन हल्का गर्न जानेहरुको जंकसन पनि हो पशुपति । म पनि जीवनको एकदमै कठिन समयको बेला भौतारिएर त्यहाँ पुगेको छु ।’

भौतारिएर पशुपति पुगेका पात्रहरु नै भष्मे डन वा पशुपतिप्रसाद या दुर्गामाता हुन् । यिनै पात्रहरुलाई खनालले दुवै फिल्ममा मिलाएर उनेका छन् । खनाललाई लाग्छ, पशुपतिमा भेटिने बरालिएका पात्रहरु सानतिना हण्डर खाएर आएकै हुँदैनन् । पशुपति आफैंमा कथाहरुको सागर हो ।

अनि खनालले पात्रहरुको माध्यमबाट देखाउन खोजेको पशुपति चाहिँ कस्तो हो ? खनाल सुनाउँछन्, ‘राजधानी भन्नसाथ आफैंमा संघर्षको थलो हो । राजधानीमै धार्मिक आस्थाको केन्द्र छ । अनि पात्रहरुले त्यहाँ देख्ने भनेकै आशा हो । त्यहाँ पुगेका पात्रहरु हण्डर खाएर पुग्छन् । अनि शरण पाइन्छ, जीवन चल्छ भन्ने एक किसिमको आशा सबैमा छ । त्यही देखाउन खोजेको हो ।’

तपाईंका लागि चाहिँ मन्दिर के हो ?

कतिपय मान्छेले मनको व्यथा सबैलाई भन्न सक्दैन । उनीहरुले व्यथालाई लुकाएर राखेका हुन्छन् । अनि मन्दिर भनेको चाहिँ मनको व्यथा लुकाएर पोख्ने ठाउँ हो ।

घाट चाहिँ के हो ?

जीवनभर भोगेका दुःख, दुःख पाउने गरी गरिएका काम, सम्पूर्ण लोभलालच शान्त हुन्छ घाटमा पुगेपछि । घाटमा गएर नियाल्न पाइन्छ, कसले के लगिरहेको छ ? बिदाइ त सबैको एकै किसिमको हुन्छ । घाट भनेको मान्छेलाई शुद्ध गर्ने ठाउँ हो ।

सम्पत्ति ?

सम्पत्ति केही होइन भन्ने पनि हो । अहिलेको युगमा सम्पत्ति सबैथोक हो पनि । अहिलेको समय सम्पत्तिबिना साधारण जीवन बाँच्छु भनेर सोच्न नसकिने भयो । म सादा जीवन बाँच्छु भन्दा सुख नपाउने भयो । मर्दा पनि सम्पत्ति नभईकन राम्रो मरण नहुने भयो । मर्दाखेरि पनि सम्पत्ति चाहिने भयो । नत्र कसले जलाइदिने ?’

०००

खनालले पशुपतिप्रसादका दुवै सिक्वेलमा लास पोल्ने पात्रहरु पनि प्रमुखताका साथ स्क्रिन दिएका छन् । तर, लास पोल्नेहरुका लागि लास जलाउनु चाहिँ कस्तो अनुभूति रहेछ ?

खनाल सुनाउँछन्, ‘लास जलाउनु कसैको सौख हुँदैन । यो काम गर्न पाए हुन्थ्यो, गर्न पाइनँ भन्ने खालको काम होइन । त्यहाँ काम गर्नेहरुको बाध्यता हो । तर, बाध्यता भए पनि त्यो काम बडो पुण्यको काम हो ।’

चलचित्र ‘पशुपतिप्रसाद’मा पशुपपतिप्रसाद बितेपछि उसको लास मितबाले जलाउँदैनन् । अर्को घाटेले जलाएका छन् । आफ्नो बा र हजुरआमाको वियोगमा पशुपति पुग्दा पनि खनालले लास जलाउने मान्छेहरुलाई नियालेका थिए । त्यसबेला पनि उनलाई लागेको थियो, त्यो उसको पेशा हो । साथै बाध्यता पनि होला ।
खनाल भन्छन्, ‘तर, अलि टाढाबाट हेर्दा भने कसैको भौतिक शरीरलाई धरतीबाट अलग गरिदिनु बडो पुण्यको काम हो ।’

खनालले फिल्म निर्माणको दौरान पशुपतिमा त्यस्ता मान्छेहरुलाई समेत भेटे, जसले पशुपतिमै सानातिना काम गरेर छोराछोरीलाई डक्टर, इन्जिनियर, आर्मीको अफिसर बनाएका छन् । तर, अहिलेसम्म बा आमाले भने त्यहीँ काम गरेका छन् ।

खनालले उनीहरुलाई सोधेका थिए, ‘अनि अब त परिस्थिति फरक भएको छ । किन यही काम गरिरहनुभएको छ ?’

उनीहरुको जवाफ थियो, ‘हाम्रो सन्तान पो त्यस्तो भयो । तर, हाम्रो धरातल त यही हो । हामी बाँचुन्जेल यहीँ बस्छौं ।’

एउटा पुस्ता पशुपतिबाट उडेर कतै पुगिसक्यो । गुँड लगाउने पुस्ता त्यही गुँड वरिपरि नै छ । अर्काैथरी मान्छे भने कोही वृद्धाश्रममा ल्याइएका मान्छेहरु पनि भेटे खनालले । जो नदीपारी जलिरहेको लासहरु हेरेर दैनिकी कटाउँछन् ।

०००

पशुपतिको घाटमा पनि लासहरुको वर्गिकरण हुन्छ । पैसा हुनेहरु माथिल्लो लहरमा भएका घाटहरुमा लास जलाउँछन् । मध्यम हुनेहरु अलि तल । अनि आर्थिक हैसियत अनुसार विस्तारै ओह्रालो लाग्छन् । पशुपतिमा लहरै जलिरहेको लास तलदेखि माथिसम्म हेर्ने हो भने पनि हाम्रो समाजमा कति ठूलो आर्थिक विभेद छ, प्रष्टै देख्न सकिन्छ ।

यसैले त खनाल भन्छन्, ‘यहाँ मर्दा पनि पैसा चाहिन्छ । राम्रोसँग जलेर खरानी हुन पनि पैसा चाहिन्छ । मृत्युमा चाहिँ त्यसो नगरिदिए हुन्थ्यो । मलाई मृत्युको त्यो वर्गीकरणमा चित्त बुझेको छैन ।’

‘पशुपतिप्रसाद’मा खनालले लास पोलिएको कोइला काठको राजनीति पनि चुस्स देखाएका छन् । यथार्थमा भने ती कोइला काठहरु इँटा भट्टामा पुग्छन् । भट्टामा इँटा बन्छन् । ती इँटाले नयाँ घर बनाउँछ । नयाँ घरमा मान्छेहरु बस्छन् । उनीहरु कुनै दिन घाट पुग्छन् । उनीहरुलाई जलाएको कोइला काठले फेरि अर्को नयाँ इँटा पाक्छ ।

खनाललाई यो एउटा साइकल शिवाय केही लाग्दैन । कोइला काठसँगै बागमती मन्दिरमा डुबुल्की मार्नेहरु पनि छन् । दुईवटा चप्पलले बालुवा छान्दै सुन खोज्नेहरु पनि छन् । टपरीमा फूलमाला बगाउनेहरु पनि छन् ।

खनाललाई लाग्छ, पशुपतिमा बागमतीले जीवनको दुईवटा पाटो छुट्याएजस्तो लाग्छ । भन्छन्, ‘वारिको पाटोमा मान्छे वियोगमा हुन्छन् । आस्थामा हुन्छन् । पारिपट्टी भने धेरै खालका पेशामा हुन्छन् । व्यापार छ । श्राद्ध गर्नेदेखि हात हेर्नेसम्म छन् । चटपटे खानेदेखि चिया, कफी हुँदै डेटिङ जानेसम्म छन् । एकातिर अँध्यारो पाटो पनि छ । अर्कोतिर नवजोडीहरु डेट गएर जीवनको सुरुवात गर्न कम्मर कसिरहेको पाटो पनि छ ।’

०००

खनालको तर्क छ, मान्छेहरु मन्दिर अप्ठ्यारो अवस्थामा जाने गर्छन् । खासमा मान्छेहरु स्वार्थी छन् । गाह्रो अवस्थामा भिख माग्न पुग्छन् । सजिलो अवस्थामा भने घाटसम्म पनि जाँदैनन् । आफू स्वयं भने एकदमै पातलो मात्रामा मन्दिर जाने गरेको खनाल सुनाउँछन् ।

भन्छन्, ‘म नास्तिक होइन । म हात जोडेर भिख माग्ने पक्षमा छैन । जे काम गर्दा पनि भगवानलाई सम्झन्छु । र धन्यवाद मात्रै दिन्छु । माग्ने काम कहिल्यै गर्दिनँ ।’

खनालको यिनै तर्क, धारणा, पात्र, दुःख, संघर्षहरुको गठजोड हो, ‘पशुपतिप्रसाद – २ भष्मे डन’ । खनालले पात्रहरुमार्फत् भन्न खोजेको पनि यिनै कुराहरु नै हुन् । तर, ‘पशुपतिप्रसाद’ बनेको सात वर्षपछि सिक्वेल बन्नु आवश्यकता हो कि ? कथाको माग हो कि ? दर्शकको माग हो कि ? भष्मे डन पात्रको लोकप्रियता हो ?

खनाल भन्छन्, ‘यो अहिलेको आवश्यकता हो । हर मान्छे परिवर्तन हुन खोज्छ । रत्नाकर डाँकुबाट वाल्मिकी बन्छ । अहिले भष्मे डनमा परिवर्तन देखिन खोजेको छ । कोही मान्छे परिवर्तनको यात्रामा कसरी जान्छ भन्ने कथा हो यो फिल्म । अब उसको जिन्दगीको यात्रा के हो त ? के समाजले उसलाई परिवर्तन हुन दिन्छ ? यिनै कुराको सवाल जवाफ हो भष्मे डन ।

व्यापारिक हिसाबले हेर्दा त ब्राण्ड बेच्न खोजेजस्तो देखिन्छ नि ?

यदि त्यस्तो भए त सात वर्ष नै कुर्दैन थियौं नि हामी । अरु फिल्महरु आठ, नौ पुगिसके । ब्राण्ड बेच्न खोजेको भए खल्तीमा हात हालेर सात वर्षसम्म बस्दैन थियौं । हामीले राम्रो फिल्म बनाउने सोचेरै समय लगाएका हौं ।

०००


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर