जर्मनीलाई दिलाए ३६ वर्षे प्रशिक्षक निगल्सम्यानले विजयी सुरुवात
बर्लिन। मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा शनिवार राती जर्मनीले अमेरिकालाई ३-१ गोलले हराएको छ ।
खेलमा सुरुवाती अग्रता भने अमेरिकाले लिएको थियो तर जर्मनीलाई इल्के गुन्डोगान, निकलास फुलक्रुग र जमाल मुसियालाले गोल गर्दै जित दिलाए ।
क्रिस्टियन पुलिसिचको गोलमा अमेरिकाले २७ औँ मिनेटमा अग्रता लिएको थियो । गुन्डोगानले ३९ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
फुलक्रुगले ५८ र मुसियालाले ६१ औँ मिनेटमा गोल गरे । जर्मनीले नवनियुक्त प्रशिक्षक जुलियान निगल्सम्यानको प्रशिक्षणमा विजयी सुरुवात पाएको हो ।
३६ वर्षे निगल्सम्यानलाई आगामी जुलाईसम्म जर्मनीको जिम्मेवारी दिइएको छ । जर्मनीको लगातार कमजोर प्रदर्शनपछि गत सेप्टेम्बरमा हान्सी फ्लिकलाई जर्मनीको जिम्मेवारीबाट हटाइएको थियो ।
५ खेल खेल्ने क्रममा ४ हार र एक बराबरीको नतिजा निकालेपछि हान्सीको जिम्मेवारी संकटमा परेको थियो ।
उनी हटाइनुअघि जर्मनीले खेलेको अन्तिम खेलमा जापानसँग ४-१ गोलको हार बेहोरेको थियो ।