हवाई भाडा नियन्त्रणको ठाउँ नै छैन, हस्तक्षेप गर्न यही वर्ष १० वटा जहाज किन्छौं : मन्त्री किराती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालू वर्षमा नेपाल वायुसेवा निगमका १० वटासम्म जहाज खरिद गर्ने बताएका छन् ।
आइतबार बिहान मन्त्रीनिवास पुल्चोकमा चाडबाडका बेला भाडादरमा कालोबजारी नियन्त्रण गर्न आग्रहसहितको ज्ञापनपत्र बुझ्दै उनले कालोबजारी रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने आश्वासन दिए ।
नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको उनको भनाइ छ । १० वटासम्म जहाज नथपी पर्यटकहरू नेपाल नआउने भन्दै मन्त्री किरातीले दसैँअघि नै विमान खरिद प्रक्रिया औपचारिकरूपमा अघि बढ्ने बताए ।
उनले भने, ‘अहिले फ्युल तीन डबलले बढेको छ । स्वाभाविक रुपमा ३५ प्रतिशत भाडा रेट फ्युलले बढेको छ । भ्याट १३ प्रतिशत जोडियो । मेरो मन्त्रालयबाट टारेर टर्दैन । ६ हजारमा टिकट किनेर १० हजारमा बेच्ने कुरामा भोलि नै हामी सबैसँग छलफल गरेर मन्त्रालयले वक्तव्य जारी गर्छ । भारत जान ११ हजार र सुर्खेत जान १६ हजार लाग्नुपर्ने कारण भनेको तेल नै संसारको भन्दा डबल, त्रिबल महंगो छ । प्राइभेट सेक्टरले यो बेला हामी अब गैरकानूनी हुँदैनौं, सरकारले तोकेकै भाडामा एक रुपतामा जाऔँ भनेर सल्लाह गरेका छन् । हामीले उनीहरुलाई नियन्त्रण गर्ने ठाउँ नै छैन । तोकिदिएको सरकारले नै छ । उनीहरुले सल्लाह गरेर आएपछि नियमन गर्ने ठाउँ नै छैन । यो सबै महंगी नियन्त्रण गर्न सरकारले सब्सिच्युट दिनुपर्छ । हामी तेलमा ५० प्रतिशत दिनसक्छौँ त ? यो हाम्रो हैसियत छैन ।’
नेविसंघका सभापति दुजाङ शेर्पाले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरूलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेकोमा ध्यानाकर्षण गराए ।