नेपालसँग भिडेयता भारतीय कप्तान रोहितको लय- डक आउट या कम्तिमा अर्धसतक
काठमाडौं । घरेलु मैदानमा जारी एकदिवशीय विश्वकपमा भारतले शानदार प्रदर्शन गरिरहेको छ।सर्वाधिक विजेता अष्ट्रेलियालाई पहिलो खेलमा हराएको भारतले विश्वकप इतिहासमा एक खेल अघि मात्र सबैभन्दा ठूलो लक्ष्य पूरा गर्ने इतिहास बनाएको पाकिस्तानलाई शनिबार हराएर लगातार तेस्रो जित हात पारेको छ।
चिरप्रतिद्धन्द्धी पाकिस्तानलाई केवल एक सय ९१ रनमा सीमित गरेको भारतले ७ विकेटको जित हात पारेको हो। करिब एक लाख दर्शकसामु खेलेको भारतले पाकिस्तानका अन्तिम ८ विकेट केवल ३६ रन मात्र खर्चिएर हात पारेको थियो। एकदिवशीय विश्वकपमा पाकिस्तानले हालसम्म भारतलाई हराउन सकेको छैन।
पछिल्लो जितमा पनि कप्तान रोहित शर्माले ८६ रनको पाली खेले। पाकिस्तानको धारिलो बलिङसामु उनले ६३ बलमा ६ छक्का र ६ चौका प्रहार गरेका थिए। गत एसिया कपमा नेपालसँग भिडेयता रोहित उत्कृष्ट लयमा देखिन्छन्। उनले यसबीचमा खेलेका ९ मध्ये ६ खेलमा कम्तिमा एक सतक र ५ अर्धसतक बनाएका छन् भने २ खेलमा शुन्यमै आउट भएका थिए। एक खेलमा भने उनले ब्याटिङ नै गर्नुपरेको थिएन।
नेपालसँग उनले ७४ रन बनाएका थिए। त्यसपछि उनले लगातार दुई खेलमा पाकिस्तानविरुद्ध ५६ र श्रीलंकाविरुद्ध ५३ रन बनाएका थिए। एसिया कपको सुपर फोरको अन्तिम खेलमा उनले बंगलादेशविरुद्ध रन जोड्न सकेका थिएनन् भने फाइनलमा ब्याटिङमा उनको पालै आएन।
भारतले उक्त एसिया कप जितेको थियो। त्यसपछि विश्वकपमा उत्रनुअघि खेलेको अन्तिम खेलमा रोहितले अस्ट्रेलियाविरुद्ध ८१ रनको पाली खेलेका थिए। सोही टोलीसँऊ भएको विश्वकपको पहिलो खेलमा भने उनले रन जोड्न सकेका थिएनन्। त्यसयता उनले अघिल्लो खेलमा अफगानिस्तानविरुद्ध एक सय ३१ रन बनाएका थिए।
नेपालसँग भिड्नुअघि रोहितले पछिल्ला लगातार ४ खेलमा अर्धसतक पनि बनाउन सकेका थिएनन्।३६ वर्षीय रोहित कप्तानी र ब्याट दुवैमा खह्रो उत्रिरहेका छन्। अफगानिस्तानविरुद्ध शानदार ब्याटिङपछि उनी विश्वकपमा सर्वाधिक सतक बनाउने खेलाडी बनेका थिए।
उनले भारतकै सचिन तेन्दुलकरको ६ सतकलाई पार गरेका हुन्। उनका ७ मध्ये ४ सतक लक्ष्य पछ्याउनेक्रममा बनेका हुन्। उनी सबैभन्दा कम बलमा विश्वकप सतक पुरा गर्ने भारतीय खेलाडी पनि बनेका छन्। अफगानिस्तानविरुद्ध ६३ बलमा सतक पुरा गरेका उनले विरेन्द्र सेहवागलाई पार गरेका हुन्।
सन् २००७ मा एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका रोहितका नाममा अन्य थुप्रै कीर्तिमान छन्। उनले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी हुन्। यस्तै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३१ सतक बनाइसकेका उनले हालै मात्र अष्ट्रेलियाका रिकी पोन्टिङलाई पार गरेका थिए।
घरेलु मैदानमा आयोजना भइरहेको विश्वकप जित्न भारत प्रारम्भिक रुपमा बलियो दावेदार देखिन्छ। बलिङ र ब्याटिङ दुवैमा भारतले बेजोड प्रदर्शन गरिरहेको छ। भारतले अन्तिमपटक सन् २०११ मा आयोजना भएको विश्वकप जितेको थियो।
दुई शसक्तसहित ३ टोलीलाई हराएको भारतले अब इङ्ल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ। पहिलो चरणका शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्।