पूर्वअर्थमन्त्री पौडेल भन्छन्- तलब खुवाउन ऋण लिनुपर्ने अवस्थामा सरकार पुग्यो
'विद्रोही कांग्रेसले राम्रो काम गर्दासम्म कोशीमा एमालेको साथ रहन्छ'
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुगेको बताएका छन् । उनले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले कुनै ठोस कदम ल्याउन नसकेको टिप्पणीसमेत गरेका छन् ।
आइतबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको एक कार्यक्रममा उनले मुलुकमा संकटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर सत्तारुढ गठबन्धन दल कसरी सत्तामा बस्ने र रमाउने भन्ने विषयमै केन्द्रित रहेको आरोप लगाए ।
‘मुलुकको अर्थतन्त्रको अपरेसन गर्नुपर्नेमा सरकारले सिटामोल पनि दिन नसकेको अवस्था छ, मेजर अपरेसन गर्नपर्नेछ, सिटामोल छैन, अनि चल्छ ? अर्थतन्त्रको बेथितिलाई यो सरकारले अझै बढाएको छ, नेपाल कालोधनको केन्द्र बन्दैछ, राजस्वबाट साधारण खर्च चल्न सकेको छैन । आन्तरिक ऋण बढ्दैछ, तलब, सामाजिक सुरक्षा कोष, पेन्सन रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ’ पौडेलले भने ।
प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र सुधार हुँदैछ भनेर गलत बोलिरहेको उनको दाबी छ ।
‘अन्तर्राष्ट्रिय सहयोग तल झरेको छ । पूँजी पलयान भइरहेको छ, व्यवसायीको ढाड भाँच्ने अवस्था सृजना हुँदा पनि सरकार मुकदर्शक बनेको छ’, पौडेलले थपे ।
नेपाल तस्करी केन्द्रका रूपमा परिचित भएको भन्दै उनले क्विन्टल सुन प्रकणमा सरकारले उच्चस्तरीय संसदीय समिति बनाउन आनाकानी गरेपनि एमालेको निरन्तर दबाबले गठन भएको बताए ।
नेता पौडेलले कोशीमा पटकपटक गठबन्धन दलबाट कीर्ते भएको सबै प्रमाणले प्रष्ट पारेको बताए ।
‘एमालेका नेता हिक्मत कार्कीले निकास दिन मुख्यमन्त्रीबाट राजीनामा दिनुभयो । तर, सबै कीर्ते गरेर थाकेका गठबन्धन दलहरु बाध्य भएर अहिलेको सरकारलाई साथ दिन्छौं भन्न थाले’, उनले भने ।
विद्रोही कांग्रेसको टोलीले राम्रो काम गर्दासम्म एमालेको साथ पाउने उनले प्रष्टयाए ।