बडादशैं: घटस्थापनाको अवसरमा गाउँ-गाउँमा कलशयात्रा (तस्बिरहरु) – Nepal Press

बडादशैं: घटस्थापनाको अवसरमा गाउँ-गाउँमा कलशयात्रा (तस्बिरहरु)

जनकपुरधाम । हिन्दूहरुको महापर्व बडा दशैं आजबाट सुरु भएको छ । पहिलो दिन घटस्थापना अर्थात् आज घरघरमा जमरा र घटकलशको स्थापना गरी देवीदेवताको आह्वान गरिएको छ ।

घटस्थापनाको अवसरमा प्रायः गाउँका माता दुर्गाको मन्दिरहरुबाट कलशयात्रा निकालिएको छ । जनकपुरस्थित प्रसिद्ध राजदेवी माताको मन्दिरमा घटकलश स्थापना गर्न विशेष तामझामका साथ कलशयात्रा निकालियो । कलशयात्रामा विशेषतः महिला र युवती सहभागी हुन्छन् ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेंलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ । घरमा कूलदेवता रहने स्थानमा र शक्तिपीठहरुमा जमरा राख्दा हरेक दिन श्रद्धापूर्वक पूजापाठ गरिन्छ ।

शहरदेखि गाउँघरमा समेत कलशयात्रा निकालिएकाले जताततै विजयादशमीको रमझम छ । माता दुर्गाको भजनले तराई मधेश गुञ्जायमान बनेको छ ।

जनकपुरको राजदेवी मन्दिरलाई लाखौं खर्चेर दुलहीझैं सिंगारिएको छ । वीरगन्जको गहवामाई मन्दिरलाई पनि झकिझकाउ पारिएको छ । साँझको समयमा दुर्गा शक्तिपीठहरुमा पूजापाठ गर्न ठूलो संख्यामा श्रद्धालु पुग्छन् ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा दशैं मनाइन्छ । विजया दशमीको अन्तिम दिन जनकपुरधाममा हरेक वर्ष रावण बध र लंकादहन समेत गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर