प्रश्नभन्दा माथि राजेश हमाल ?
काठमाडौं । भर्खरै एउटा कमेडी शोमा अभिनेत्री उषा रजकले अभिनेता राजेश हमाललाई भनेकी थिइन्, ‘राजेश हमाल ओभररेटेड एक्टर हो । उ बेलामा (हमालको समयमा) एउटा स्थान पाउनुभयो । तर, अभिनयको हिसाबले हेर्दा त्यस्तो विशेष केही पनि छैन । नृत्य त देखेकै छौं । तपाईंहरु(होस्टतिर इंगित गर्दै) कमेडी क्लबमा हसाउनुपर्यो कि उहाँकै डान्स गर्नुहुन्थ्यो ।’
उनको यो अभिव्यक्ति यति धेरै विवादित भयो कि अन्ततः माफी नमागिकन सुखै पाइनन् । सामाजिक सञ्जालमा हमालका फ्यानबाट साइबर आक्रमण सुरु भएपछि उषाले आफ्नो भनाइ फिर्ता लिएकी छन् । तर, उनले अझै धेरै दिनसम्म गालीगलौज र ट्रोलको शिकार हुनुपर्ने निश्चित छ ।
उषाले हल्काफुल्का तरिकाले हमालको अभिनय क्षमतामाथि प्रश्न उठाएकी थिइन् । आफूलाई लागेको कुरा भनेकी थिइन् । लोकतन्त्रमा राष्ट्रपतिमाथि पनि प्रश्न उठाउन पाइन्छ र आलोचना गर्न सकिन्छ । कुनै पनि कलाकार, चाहे जतिसुकै प्रख्यात किन नहून्, प्रश्न र आलोचनाभन्दा माथि हुन सक्दैनन् । फेरि कलाकार बाँच्ने भनेकै अभिनय क्षमता र कलाले हो । कलाकारमाथि प्रश्न उठ्ने भनेकै उसको अभिनय गर्नसक्ने तागतमाथि हो । चाहे सौगात मल्ल हुन् या दयाहाङ राई वा विपीन कार्की, अनमोल केसी हुन् या प्रदीप खड्का, उनीहरुमाथि प्रश्न उठेकै छन् ।
अब हमालमात्रै त्यस्तो कलाकार भइदिए कि जसमाथि मानौं प्रश्न उठाउन वर्जित छ । जसले यस्तो प्रश्न उठाउँछ, उसको करिअरमा प्रश्न उठ्छ । राजेश हमाल आफैं कम बोल्छन् । मिडियामा पनि कूटनीतिक जवाफहरु दिन्छन् । तर, उनका फ्यानहरु उत्तेजक छन् । हमालको महानायक भन्न कसैले अस्वीकार गर्यो भने सीधै भुईंमा पछारिदिन्छन् ।
उषाले दिएको अभिव्यक्तिको क्लिप काटेर ‘राजेश हमाल ओभररेटेड एक्टर’ भनेको संवादलाई मात्रै सञ्जालमा फैलाइयो । यसको नतिजा कतिसम्म प्रतिकूल भइदियो भने उनको निजी जीवन कोट्याउनेदेखि लिएर निम्नस्तरको गालीको वर्षा सुरु भयो । अपाच्य गालीहरुले सिथिल बनाएपछि रजक माफी माग्न बाध्य भइन् ।
उनले हमालसँग माफी माग्दै सञ्जालमा लेखेकी छन्, ‘मैले गरेका टिप्पणीहरु कमेडी कार्यक्रममा गरिएका थिए । र, ती टिप्पणीहरुलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन । उहाँको बौद्धिकताबाट प्रेरित मैले हाम्रा महानायकको योगदानहरुको बारेमा राम्रा कुराहरु पनि भनेकी थिएँ । तर, दुर्भाग्यवश ती अभिव्यक्तिहरु डिजिटल तारहरुबीच कतै हराए ।’
०००
केही समयअघि अभिनेत्री दीपाश्री निरौलाले हमालको ‘महानायकत्व’ माथि प्रश्न उठाएकी थिइन् । हमालले महानायक कहलाउनुको जिम्मेवारी निर्वाह गर्न नसकेको उनको आशय थियो । उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘उहाँ महानायक हुनुहुन्छ र ? बलिउडमा अमिताभ बच्चन त (फिल्म) खेलिरहनुभएको छ । त्यस्तो व्यक्तिले चलचित्र उद्योग हाँक्नुपर्छ ।’
उनले हमाल चलचित्र उद्योगको खम्बा र राम्रो अभिनेता भएकोसमेत बताएकी थिइन् । तर, अन्तर्वार्ता सार्वजनिक भएपछि हमालका प्रशंसक दीपाश्रीमाथि खनिए । ‘राजेश हमाल महानायक हुनुहुन्छ र ?’ भन्ने वाक्यांशको भिडियो क्लिप शेयर गर्दै उनको चौतर्फी आलोचना सुरु भयो । उनको व्यक्तिगत जीवन र चरित्रमाथि आक्षेप लगाइयो । अनेक धम्की दिइयो ।
तर, त्यस्तो निम्नस्तरको गालीगलौज आइरहँदा हमालले आफ्ना उग्र समर्थकलाई चुप लगाउने प्रयास गरेनन् । आफैं चुप बसे । बरु एक्सरसाइज गरिएका, राम्रा खानेकुरा खाइएका भिडियोहरु सञ्जालमा हालेर बसे । लकडाउनको वेला हमालका फिल्ममा ३०-३५ वर्ष अघिदेखि काम गरेका प्राविधिकहरु दुई छाक चामलको जोहो गर्न नसकेर कुम्लो कुटुरो बोकेर गाउँ फिर्दै थिए । हमाल खानेकुरा कसरी खाने र कसरी स्वास्थ्य रहने भन्ने टिप्स दिन व्यस्त थिए । त्यसवेला हमाललाई जिम्मेवारीबोध गराउने कोही समर्थक थिएनन् । तर, जब निरौलाले हमालको ‘महानायकत्व’माथि प्रश्न उठाइन्, उग्र समर्थकहरु उनको चरित्रमाथि नै आक्रमण गर्न उद्यत बने ।
पढ्न÷सुन्न नसकिने खालका प्रतिक्रियाहरुको बाढी नै आएपछि कथित आलोचना मत्थर बनाउन निरौलाले सञ्जालबाटै रुँदै माफी मागिन् । उनले भनिन्, ‘हमालज्यु सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहनुहुनेछ । तर, उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पीडामा महल लगाउन सक्नुपर्छ । नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाई भगवान नै बनाउने पक्षमा म थिइनँ र छैन पनि । तथापि मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकोमा उहाँका फ्यानहरुसँग माफी माग्छु ।’
माफी मागेपछि पनि निरौलामाथि सञ्जालबाट प्रहार रोकिएको थिएन । तर, हमालको महानायकत्वको वकालत गर्नेहरुले देशको सार्वभौम संविधानको भने अपमान गरेका थिए । संविधानको धारा १७ उपधारा (२) ले अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको छ । तर, निरौलाको त्यही हकलाई हमालका उग्र समर्थकहरुले कुल्चिदिए । यहाँ भगवान पनि कुन मान्ने र कुन नमान्ने, मान्छेलाई छुट छ । हमाल त मान्छे हुन्, उनलाई महानायक मान्न पाइयो, नमान्न पनि । निरौलाले त्यो छुट पनि पाइनन् ।
०००
केहीअघि आफैंले निर्देशन गरेको चलचित्र ‘डाँडाको वरपिपल’ को एउटा कार्यक्रममा निर्देशक शोभित बस्नेतले भुवन केसीलाई महानायक भनिदिए । शिव श्रेष्ठले सही थापे । त्यसपछि त के थियो । शोभित, भुवन र शिव एकसाथ हमालका समर्थकको निशानामा परिहाले । फिल्म बहिष्कारकै आह्वान भयो । हुन पनि ‘डाँडाको वरपिपल’ ले हलमा पानीसम्म भन्न पाएन ।
यो प्रकरणसँग विल्कुलै असम्बन्धित दुई नायक अनमोल केसी र सलोन बस्नेतसमेत प्रताडित हुन पुगे । अनमोलको दोष, भुवन केसीको छोरा हुनु थियो भने सलोनको दोष शोभित बस्नेतको छोरा । आजपर्यन्त पनि उनीहरुलाई हमालका उग्र समर्थकको एउटा तप्काले खेद्न छोडेको छैन ।
महानायक काण्डमा निशाना बनाइएका अर्का असम्बन्धित पात्र हुन् दीपकराज गिरी । दीपाश्री निरौलाका सहकर्मी भएकै कारण उनी लखेटाइमा परे । उनलाई ‘महानायक’ भनेर अहिले पनि होच्याउने गरिन्छ । यो टीमको फिल्म नै बहिस्कार गर्ने धम्कीहरु दिइए । अनि गिरीले पनि सञ्जालमा स्पष्टीकरण बाध्य भए, ‘जबदेखि कलाकार भएँ, हरिवंश, मदनकृष्ण र सन्तोष दाइ जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थें । मेरो बाटो र लक्ष्य कहिल्यै पनि महानायकको घरतिर मोडिएन । मेरो गल्तीविना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद ।’
०००
अस्ति असोज १५ गतेमात्रै नेपाली फिल्म क्षेत्रले ५८ वर्ष पूरा गर्यो । ‘आमा’ फिल्म २०२२ साल असोज १५ गते प्रदर्शन भएको थियो । यो ५८ वर्षको इतिहासमा नेपाली फिल्मले कति फड्को मार्यो, त्यो समीक्षाको अर्कै पाटो भयो । यो ५८ वर्षमा साँच्चै नेपाली फिल्महरु कति बने ? विमर्शको अर्कै पाटो भयो ।
तर, हमालले सयौंको संख्यामा फिल्म खेले । उनका राम्रा फिल्महरु कुन कुन थिए ? सम्भवतः औंलामा गन्न सकिने संख्यामा पनि छैनन् । नेपाली फिल्मको इतिहासमा त्यस्तो प्रभावी फिल्महरु कुन कुन हुन् हमालका ? उनी आफैंलाई सम्झना नहोला ।
५० को दशकमा हमाल उदाए । ६० दशकको मध्यमा हमाल युगको विसर्जन थियो । तर, यो बीचमा सम्झनलायक कुनै नेपाली फिल्म बन्यो त ? नेपाली फिल्मले त्यो समयमा आफ्नो मौलिक धार निर्माण ग¥यो त ? बरु ५० देखि ६० को दशकको नेपाली फिल्मको समग्र समीक्षा गर्ने हो भने फिल्महरुको नाम याद हुँदैन । हमालमात्रै याद हुन्छ ।
जापानी फिल्म इतिहास सम्झनासाथ आकिरा कुरुसावाका फिल्महरु एउटा दर्पण हुन् । अब्बास किरुस्तामी या मजिद मजिदीका फिल्महरु इरानी फिल्म इतिहासका आँखीझ्याल हुन् । सत्यजीत रेका फिल्महरु बंगाली फिल्म इतिहासको एउटा प्रस्थान विन्दु हो । तर, नेपाली फिल्मको अनुहार के हो त ? ५०-६० को एकडेढ दशकभरि बनेका हजारौं फिल्म हमालको अनुहारले छोपिन्छन् । अनि हामीले कस्तो खालको फिल्म बनायौं त ? सत्य यो हो कि नेपाली फिल्म क्षेत्रमा राजेश हमाल बने । तर, नेपाली फिल्म बनेन । त्यही हमालीकरणले नेपाली फिल्म अहिले पनि निकै पछि रहेको निर्देशक नवीन सुब्बाले बताउने गरेका छन् ।
अहिले दक्षिण कोरियाको प्रतिष्ठित बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’ फिल्म लिएर पुगेका सुब्बाले पंक्तिकारसँग एक अन्तर्वार्तामा भनेका थिए, ‘जस्तो ‘राजेश हमालका सिनेमाहरु’ भनेर अध्ययन गरौं । तर, हमालको सिनेमाको अध्ययन गर्दा समयलाई निर्देशित गर्यो कि गरेन, समयअनुसार थियो कि थिएन, त्यसले नेपाली मौलिकता निर्माण गर्यो कि गरेन ? अभिनयमा के थियो ? प्रविधिमा के आयो ? बजारीकरण गर्दा कहाँ समस्या भयो ? त्यो अध्ययन गर्न सक्छौं ।’
निरौलाको अभिव्यक्तिले फिल्म क्षेत्रमा ‘महानायक’ पदवीमाथि बहस छेडेको थियो । जतिवेला बलिउड भने अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणले तातेको थियो । त्यसवेला बलिउडकर्मीहरु नेपोटिजमको बहसमा लागेका थिए । गम्भीर भारतीय सिनेकर्मीहरु राम्रो सिनेमा नबन्नुका कारणहरु खोतल्न लागिपरेका थिए । त्यसवेला नेपालमा भने मान्छेहरु ‘महानायक’माथि बहस गरेर बसेका थिए ।
पंक्तिकारलाई सुब्बाले त्यसवेला भनेका थिए, ‘हाम्रा सिनेकर्मी र दर्शक कस्ता भए भने सुशान्तसिंह राजपुतले न्याय पाउनुपर्छ पनि भन्छन् । यता फलाना महानायक हुन् पनि भन्छन् । सुशान्तको हत्या त्यही ‘स्टार सिस्टम’ले गरेको हो । नेपाली सिनेकर्मी र दर्शक जुन स्टार सिस्टमले सुशान्तको हत्या ग¥यो, त्यही स्टार सिस्टमको गुनगान गाउँदै देवत्वकरण गरेर बस्छन् । योभन्दा पाखण्डपन के हुनसक्छ ?’
०००
करियरको उर्बर समयमा हमालले कति फिल्ममा काम गरे, उनैलाई यकिन नहुन सक्छ । कति फिल्ममा गीतमा मात्रै देखिए । कति फिल्ममा एक सीनमा देखिए । अनि उनैको सबैभन्दा ठूलो पोस्टर राखेर फिल्मको प्रचार गरिन्थ्यो ।
हमालले पाएको स्टारडमले गर्दा त्यस्तो परिस्थिति बन्यो होला । निर्माताहरु उनीतिर आकर्षिक भए होलान् । तर, यस विषयमा हमाल आफैं सचेत हुनुपर्थ्यो कि पर्थेन ? अहिले हमाल स्वयंमाथि तेर्सिएको प्रश्न हो यो ।
निरौलाले अन्तर्वार्तामा थप भनेकी पनि थिइन्, ‘मलाई महानायकप्रति आपत्ति छैन । ट्याग भिर्नुभएको छ । चलचित्र क्षेत्रको खम्बा हो उहाँ । तर, निर्माता, निर्देशकहरु महानायक भएनन् । राजेश दाइले मात्रै फिल्म खेल्नुभयो । त्यस्तो व्यक्तिले त फिल्म क्षेत्रलाई हाँकेर लानुपर्छ । आज हामी ५०-५२ वर्षमा प्रवेश गर्दा पनि हाम्रो चलचित्र क्षेत्र लिन्ठिङलिन्ठिङ छ ।’
उनले थप सवाल पनि उठाएकी थिइन्, ‘महानायक जस्तो ट्याग भिरेको व्यक्तिले गीतमा मात्रै, सीनमा मात्रै खेलिदिँदा चाहिँ जनतालाई छारो हालेको काम भयो । पोष्टरमा राजेश हमाल ‘हे’ गरेको राख्थे । तर, भित्र केही हुँदैन थियो । त्यसले दर्शकलाई चोट पुग्यो ।’
तर, हमालका उग्र समर्थकहरु भने उनलाई पनि आफ्नो कामको समीक्षा गराउनुको साटो निरौलाको सानो क्लिप्सलाई लिएर लखेट्न उद्यत भए । तथापि, अब भने हमालको अभिनय क्षमतामाथि समीक्षा गर्ने वेला आएको छ । हमालले खेलेका फिल्महरुले नेपाली समाजलाई कति योगदान दिए त ? विमर्श गर्ने वेला आएको छ ।
अभिनयको समिक्षा आबश्यक नै छैन । आज जन्मिएको बच्चा जो 8-10 बर्षको छु उस्ले समेत महानायाक राजेस हमाललाई चिन्छ , जान्दछ , अभिनय ब्याक्तित्वले पुर्ण भएर नै नेपालको चलचित्र क्षेत्रमा निजलाई साउठ एसिया लगाएत अन्य मुलुकले चिनेको छ । यो नै निजको महानायकत्वको समिक्षा हो र यो पुर्ण छ । अब आउने अरु नायक नायिकाको समिक्षा गर्नु । यो लेख्दै गर्दा किन लेखे मैले भनेर समिक्षा आफ्नै गर । सबै सबै समिक्षा भन्दा र प्रश्न भन्दा माथि छन राजेश हमाल सो यो युगलाई यसै छोडिदेउ । सम्मान गर । यसैमा सबैको भलो हुन्छ अनि तिमिहरुको पनि । धन्यवाद
यो लेख्ने पत्रुले देशलाई के योगदान देको छ त्यसको नि समीक्षा गर्ने कि ?? नेपालमा सवैभन्दा चिनिेने मान्छे राजेश हमाल नै हो।।
सटिक विश्लेषण।
लेखमा भने जस्तै समिक्षा गर्न समकालिन समयमा जानु पर्छ जस्तो लाग्छ। जुन सम्भव छ? सायद लेखक ज्युले कट्टु लगाउन जान्नु भएको थिएन होला जतिबेला राजेस हमाल ज्यु नेपाली फिल्मको सारथि हुनुहुन्थ्यो । यो कुरा बुजेका तमाम नेपालीलाई उग्र समर्थक भनेर सम्बोधन गर्नेले आफुलाइ उग्र बिरोधिको कित्तामा किन राख्नु पर्ने? यो बिषयम चै समिक्षा नचाहिने हो?? बिरोध गर्ने समाज हैन बिकास गर्ने समाजको बिकास गरौं।
राजेश हमाल को सम्मान ले जलन भएर लेखेको एउटा आरिसे पत्रकारको news हो यो । फगत कुन्ठा र आरिस मात्र ।
यो टिप्पणीप्रति मेरो पूर्ण विमति छ। तिमिहरु जस्ता पात्रले मिस्टर महानायक हमालको बिश्लेषण गर्न सक्दैनौ यो कुरा पनि याद गर। हामि दर्शकलाइ समेत थाहा छ हमालले खेलेका फिल्मले के कति र कस्तो आन्नद दिन्थ्यो भन्ने कुरा र उनले खेलेका 50 वटा भन्दा बढिको नाम त मलाइ नै थाहाछ जुनकुरा यहाँ उल्लेख गरेर सम्मभव छैन। मिस्टर हमालको बारेमा टिप्पणी नै गर्न हुदैन कसैले भनेको पनि छैन र भन्नेवाला पनि छैन्न तर नकारात्मक टिप्पणी गर्ने जो कोहिले पनि आफ्नो औकात अनुसारको टिप्पणी भेटिहाल्छ। तिम्रो सामाचार लेखाइमा प्रष्टोक्ति छैन।