अनमी जानकीलाई मरणोपरान्त सम्मान – Nepal Press

अनमी जानकीलाई मरणोपरान्त सम्मान

डोटी । जिल्लाको आदर्श गाउँपालिका-६ गिरीचौका स्वास्थ्य चौकीमा कार्यरत अवस्थामा अस्वस्थ भई मृत्यु भएकी अनमी जानकी बोहरालाई मरणोपरान्त सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशस्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयले डोटीबाट उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा बोहरालाई मरणोपरान्त सम्मान प्रदान गरेको हो ।

स्वर्गीय बोहराले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

स्वास्थ्य चौकी गिरीचौकामा काम गरिरहेकै अवस्थामा स्वास्थ्य समस्या देखिएपछि उनी आदर्श गाउँपालिकाको मौवा स्वास्थ्य चौकीमा आएकी थिइन् । गर्भवती अवस्थाकी बोहराको रक्तस्राव नरोकिएपछि उनलाई थप उपचारका लागि डोटी जिल्ला अस्पताल ल्याइएको थियो ।

अनमी बोहराको उपचारकै क्रममा २०७९ साल भाद्र ८ गते बेलुका ज्यान गएको थियो । उनले मृत शिशुलाई जन्म दिएकी थिइन् ।

३२ वर्षीया बोहराले २०७० सालमा सेवा प्रवेश गरेकी थिइन् । दुर्गममा बसेर उत्कृष्ट सेवा प्रदान गरेको भन्दै उनलाई मरणोपरान्त सम्मान गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *