शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी सरजुकुमार वैद्यलाई
काठमाडौँ । शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी सरजुकुमार वैद्यलाई दिइएको छ । यस अघि बसेको मन्त्रिपरिषद् बैठकले नेपाल ट्रष्टको कार्यालयका कार्यकारी सचिवको जिम्मेवारीमा रहेका वैद्यलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट शुक्रबार पत्र प्राप्त गरेका बैद्य आइतबार सार्वजनिक विदा भएका कारण मन्त्रालयमा हाजिर नभएको र सोमबार मात्रै हाजिर हुने भएका छन् । मन्त्रालयको रिक्त सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मणिराम गेलाललाई पठाउने भनिए पनि केही दिनपछि भने वैद्यलाई पठाइएको हो ।
नेपाल ट्रष्टको कार्यालयमा कार्यकारी सचिवको पद भने रिक्त भएको छ । भर्खरै बढुवा भएका अर्जुनजंग थापा कात्तिक ६ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जाने भएकाले उनलाई कतै पदस्थापन नगरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै अतिरिक्त समूहमा राखिएको छ ।