दृष्टि क्षितिजमा वाम एकता – Nepal Press

दृष्टि क्षितिजमा वाम एकता

सत्तालाई केन्द्रमा राखेर फरक फरक पार्टीहरूबीच चुनावी गठबन्धन हुने वा चुनावपछि गठबन्धन गरेर सरकार बनाउने परम्परा नेपालमा पनि सुरु भएको छ । विश्वका केही देशसहित भारतमा चुनावी गठबन्धनको परम्परा झण्डै ५० वर्ष पहिलेदेखि सुरु भएको थियो । सन् १९७७ मा भारतमा मुरारजी देशाईको नेतृत्वमा भएको गठबन्धनले इन्दिरा गान्धीलाई परास्त गरेको थियो । भारतमा दुई दशकदेखि भाजपाको नेतृत्वमा एनडीए गठबन्धन र कांग्रेस आईको नेतृत्वमा यूपीए गठबन्धन गरेर दुई समूह चुनावमा जाने गरेका छन् । भारतका प्रादेशिक निर्वाचनमा समेत क्षेत्रीय दलहरू गठबन्धन र महागठबन्धनका नाउँमा मोर्चाबन्दी गरेर होमिने गर्छन् ।

नेपालमा पनि २०७४ मा एमाले र माओवादी गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए भने २०७९ को निर्वाचनमा कांग्रेस नेतृत्वमा एउटा र एमाले नेतृत्वमा अर्को गठबन्धन बनाएर प्रतिस्पर्धा गरेका थिए । तर, आसन्न निर्वाचनमा कांग्रेसभित्र वामपन्थीहरूसँग गठबन्धन नगर्ने विषयमा सशक्त आवाज उठिरहेको अवस्था र गठबन्धन नहुँदा एमाले र माओवादी दुवै पार्टी सत्ता बाहिर रहनुपर्ने सम्भावनाका बीचमा २०८४ को निर्वाचनअघि नै फेरि वाम एकताको सर्वत्र अनुमान गरिँदैछ ।

विगतमा एमाले र माओवादीबीच ठूलो कार्यनीतिक अन्तर भए पनि नयाँ संविधान जारी भएपछि त्यो अन्तर करिब करिब मेटिएको छ । अहिले एमाले र माओवादीबीच इतिहासको मूल्यांकन गर्ने सन्दर्भमा अलि ठूलो मतभेद रहेको छ भने इतिहासको विरासतले पैदा गर्ने मनोविज्ञान र कार्यशैलीमा अझै केही सानातिना अन्तरहरू पनि रहेका छन् । तर, विचारधारात्मक र कार्यनीतिक अन्तरविरोध चैं त्यति धेरै ठूलो नभएकाले विगतमा एमाले र माओवादीबीच गठबन्धनमात्रै नभएर पार्टी एकतासमेत भएको हो ।

एमाले अध्यक्ष केपी ओलीले नै अहिले एमाले र माओवादी पार्टीबीच पुनः एकताको लागि अदृश्य पहलकदमी सुरु गरे जस्तो प्रतीत हुन्छ । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको भावी नेतृत्व सुम्पेर शीतल निवासको यात्रा गर्न चाहेका ओलीले आफ्नो स्वभावजन्य दर्पलाई कायमै राखेर पुनः एकताको मन्द योजना अघि बढाएको बुझ्न सकिन्छ ।

फेरि वाम गठबन्धन वा वाम एकता भए देश र जनतालाई कति फाइदा होला ? त्यो बहसको अर्कै पाटो हो । तर, यी दुई पार्टीबीचको एकता भने अवश्यम्भावी बनेको छ । अघिल्लो पटक एमाले र माओवादी पार्टी एकता हुने बेलामा सतहमा चैं निकै गम्भीर विवाद भए जस्तो देखिँदै गर्दा भित्रभित्रै सुलह सम्झौताद्वारा एकताको प्रारूप तयार भएको थियो । अहिले पनि तुलनात्मक रूपमा एमाले र माओवादीबीच दृश्यतः अलि बढी नै टकराव जस्तो देखिए पनि अदृश्यमा यी दुई पार्टीबीच पुनः एकताको टड्कारो तस्वीर दृष्टि क्षितिजमै देखिरहेको छ ।

एमाले अध्यक्ष केपी ओलीले नै अहिले एमाले र माओवादी पार्टीबीच पुनः एकताको लागि अदृश्य पहलकदमी सुरु गरे जस्तो प्रतीत हुन्छ । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको भावी नेतृत्व सुम्पेर शीतल निवासको यात्रा गर्न चाहेका ओलीले आफ्नो स्वभावजन्य दर्पलाई कायमै राखेर पुनः एकताको मन्द योजना अघि बढाएको बुझ्न सकिन्छ । ओलीको कार्यकारी नेतृत्व रहँदा माओवादी पंक्ति भड्किन सक्ने आँकलन गरेर र निरन्तर दौडधुप गर्न स्वास्थ्य कठिनाइका कारणले पनि अहिले भण्डारीलाई अघि सारेको हुनसक्छ । भण्डारीले शीतल निवासबाटै नेकपाकालीन विवादमा केही समन्वयकारी भूमिका खेलेको बताएर प्रचण्डले पनि एकताको लागि ग्रीन सिग्नल दिएको देखिन्छ । मुख्यतः २०८४ मा हुने आमनिर्वाचनपछिको सत्तालाई केन्द्रमा राखेर नै यी दुई दल आपसमा पुनः एकताको लागि सकारात्मक बन्दै गएको कुरा स्पष्ट छ । तर, यी दुई पार्टीबीचको पुनः एकताले आगामी सत्ता यात्रा २०७४ मा झैं सहज होला वा नहोला, त्यो चैं भविष्यले नै बताउला ।

पछिल्लो पटक एमालेमा उत्पन्न द्वन्द्वले माधव-झलनाथको नेतृत्वमा पार्टी विभाजनमात्रै भएन, विभाजनपछि एमालेको संगठन विस्तार तथा नवीकरणको ‘मिसन ग्रासरूट अभियान’लाई अस्वीकार गरेर ठूलो संख्यामा कार्यकर्ताहरू अन्यत्र पलायन भएको डरलाग्दो तथ्यांक सार्वजनिक भइसकेको छ । दुई वामपन्थी शक्तिहरू एक हुँदा झलनाथ खनाल नेतृत्वमा एक पटक र केपी ओली नेतृत्वमा दुई पटक सत्तारोहण सहज भएको तर विभाजन हुँदा केन्द्रदेखि प्रदेशसम्म दुई पटकसम्म सत्ताच्युत हुनुपरेको विगत एमालेले बिर्सन सक्ने कुरा भएन ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादी पार्टी प्रचण्ड, बाबुराम र मोहन वैद्यबीचको द्वन्द्वले २०७० को दोस्रो संविधानसभा निर्वाचन आसपास आइपुग्दासम्म महाभारत कथामा वर्णित यदुवंशीहरू जस्तै मटियामेट हुने स्थितिमा पुगेका थिए । त्यसपछि पनि माओवादीमा सानातिना फुटका निरन्तर परकम्प रोकिएनन् । र, आधा दर्जनभन्दा बढी समूहमा विभाजित भएको माओवादीमा अझै पनि विघटनको खतरा टरिसकेको छैन ।

यी दुवै दल २०७९ को निर्वाचन परिणामसँग असन्तुष्ट छन् । माओवादीको १०-१२ लाख मत उपेक्षा गर्नै नसकिने गरी कुनै पनि दललाई सत्ता पुर्‍याउन मुख्य निर्धारक शक्ति बनेको कुरा एमालेले गहिरो गरी महसुस गरेको देखिन्छ भने गत दुई वटा निर्वाचनको परिणाम हेर्दा माओवादीले पनि तुलनात्मक रूपमा एमालेसँगको गठबन्धनबाट बढी लाभ हासिल गरेको स्थिति हो ।

यी दुई वामपन्थी पार्टीको स्थिति अहिले यस्तो छ । यी दुवै दल २०७९ को निर्वाचन परिणामसँग असन्तुष्ट छन् । माओवादीको १०-१२ लाख मत उपेक्षा गर्नै नसकिने गरी कुनै पनि दललाई सत्ता पुर्‍याउन मुख्य निर्धारक शक्ति बनेको कुरा एमालेले गहिरो गरी महसुस गरेको देखिन्छ भने गत दुई वटा निर्वाचनको परिणाम हेर्दा माओवादीले पनि तुलनात्मक रूपमा एमालेसँगको गठबन्धनबाट बढी लाभ हासिल गरेको स्थिति हो । यिनै परिस्थितिहरूलाई मध्यनजर गरेर नै फेरि पनि यी दुई पार्टीले आपसी एकतालाई सत्ता प्राप्तिको फास्ट ट्य्राक बनाउन खोजेको देखिन्छ ।

राष्ट्रिय तथा क्षेत्रीय रूपमा केही नयाँ दलहरूको सम्भावित उदयले आसन्न सत्तामा गैरवामपन्थी गठजोड हुनसक्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिने स्थिति छैन । यसैलाई लक्ष्य बनाएर एउटा बाह्य फ्याक्टर नेपालका कम्युनिष्टहरूलाई जसरी पनि पश्चिम बंगालका कम्युनिष्टहरूको नियतिमा पु¥याएर गैरवामपन्थी गठजोडको भावी सत्ता निर्माणमा कम्मर कसेर लागेको छ । अर्को बाह्य फ्याक्टर चैं पुनः वाम एकताका लागि नै निरन्तर प्रेरित गरिरहेको छ । गत २०७९ को आमनिर्वाचनको पूर्वसन्ध्यामा पनि र निर्वाचनपछि पनि गठबन्धन बन्ने र भत्किने उपक्रम देखापर्नुका पछाडि त्यही बाह्य फ्याक्टरले काम गरेको स्पष्ट छ ।

अहिले युवा पंक्तिमा बढ्दै गएको राजनीतिक पार्टीहरूविरोधी रवैयालाई सन्तुलन गर्न र आफू सत्तामा निरन्तर रहनुपर्ने आकांक्षाले पनि यी दुई पार्टीलाई २०८४ को निर्वाचनअघि नै एकता गराइसक्ने देखिन्छ । दुवै पक्षका दोस्रो पुस्ताका भनिएका नेताहरू यो वा त्यो विवादास्पद प्रकरणमा जोडिएकामात्रै छैनन्, उनीहरूबीच देखिएको नेतृत्वको होडबाजी पनि त्यति स्वस्थकर देखिएको छैन ।

त्यसैले दोस्रो पुस्ताका नेताहरूमा विद्यमान अन्तरविरोधहरूको व्यवस्थापन र पटाक्षेप भइरहेको विवादास्पद छवि निरुपणका लागि पनि फेरि वाम एकताको जमिन तयार हुँदै गएको देखिन्छ । यो एकता प्रक्रियामा विभाजनले संकटग्रस्त बनेका बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव र माधव नेपालका पार्टीहरू पनि सामेल हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन । तर, अहिले विद्यमान तरल राजनीति एकाध वर्षभित्र थिग्रिएन भने पाँच पूर्वप्रधानमन्त्रीसहितको फेरि हुने वाम एकताले देशमा स्थिर सत्ता दिनसक्छ कि सक्दैन, अहिलेलाई केही भन्न सकिन्न ।

(लेखक कार्की नेकपा माओवादी केन्द्रका नेता हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *