दसैंका लागि पोखरामा मुस्ताङदेखि बाजुरासम्मका भेडाच्याङ्ग्रा (तस्बिरहरू) – Nepal Press

दसैंका लागि पोखरामा मुस्ताङदेखि बाजुरासम्मका भेडाच्याङ्ग्रा (तस्बिरहरू)

पोखरा । हिमाली जिल्ला बझाङ र बाजुराबाट भेडाच्यांग्रा पोखरा भित्रिएका छन् । बझाङ र बाजुराबाट करिब २ हजारभन्दा धेरै भेडाच्यांग्रा पोखरा भित्रिएका हुन् । पोखरामा भेडाच्यांग्रा भित्रिएकासँगै दशैंको चहलपहल सुरु भएको छ ।

बाजुराका २८ वर्षीय सर्पलाल थापाले करिब एक महिना लगाएर भेडाच्यांग्रा पोखरा ल्याएको बताए । चिनको तिब्बतबाट खोजेर उनले भेडाच्यांग्रा पोखरा ल्याएका हुन् ।

‘खोज्न जादा १० दिन लाग्यो । सबै एउटै ठाउँमा पाइएन । खोज्दाखोज्दा समय लाग्यो । २६/२७ दिनमा बाजुरा ल्याएका थियौं’, उनले भने, ‘त्यसपछि ३ दिन ३ रातमा गाडीमा पोखरा आयौं ।’

बाजुराका सर्पलालले अघिल्लो वर्षपनि भेडाच्यांग्रा ल्याएर पोखरा आएका थिए । ७२ वटा भेडाच्यांग्रा लिएर शनिबार पोखरा आइपुगेका सर्पलालले आइतबार बिहानसम्म ५ वटा बेचिसकेका छन् ।

मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले पनि पोखरामा भेडाच्यांग्रा ल्याउने गरेका छन् । उनीहरुको भेडाच्यांग्रा भने शनिबारसम्म पोखरा आइपुगेको छैन । यसपटक भेडाच्यांग्राको मूल्य व्यापारीले ३५ हजारदेखि ५७ हजार रुपैयाँसम्म तोकेका छन् । गत वर्ष पोखरामा भेडाच्यांग्राको मूल्य व्यापारीले ३२ हजारदेखि ४८ हजार रुपैयाँसम्ममा बिक्री–वितरण भएको थियो ।

उनले एउटा च्यांग्राको मुल्य अधिकतम ५७ हजारसम्म रहेको बताउँछन् । ‘हामीले खरिद गर्दा नै ५३ हजार हाल्यौं । यता भेटेनरी बनाएको, गाडीमा ल्याउदा र बीचबीचमा पैसा तिर्दा धेरै नै खर्च भयो’, उनले भने, ‘१ लाख २० हजार त गाडी भाडा नै लाग्छ ।’

बझाङका भिमबहादुर जेठाराले पनि १ सय ५ वटा भेडाच्यांग्रा लिएर पोखरा आएका हुन् । हालसम्म १५ वटा भेडाच्यांग्रा बिक्रि गरेको उनी बताउँछन् ।

‘हामीले नै २८/२९ हजारमा खरिद गरेका हौं । गाडी भाडा, अरु खर्च गर्दा हामीलाई पनि केही फाइदा हुनुपर्यो । २८ देखि ४० हजार मूल्य तोकेका छौं,’ उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर