च्याङ्ग्रा बेच्दै पोखरा पुगे बझाङ साइपाल गाउँपालिकाका पूर्व अध्यक्ष धामी
पोखरा । दशैं आउन लागेका बेला बझाङका राजेन्द्रबहादुर धामी पोखरा आइपुगेका छन् । बझाङबाट ४/५ दिन हिँडेर बाजुरा पुगेपछि मोटर समातेर पोखरा आइपुगेका हुन् ।
पोखरा आउनुको उद्देश्य भेडा च्याङ्ग्राको व्यापार हो । केही वर्षदेखि नै उनी गाउँघरतिरका भेडा च्याङ्ग्रा बटुलेर बेच्न पोखरा आउने गरेका छन् । यसपालि पनि आए । फूलपाती नलाग्दै पोखरामा च्याङ्ग्रा बेचिसकेर उनी फर्कने दाउमा छन् ।
दशैंमा च्याङ्ग्रा बेचेर आर्जनु गर्नु त धामीका लागि मौसमी व्यापार हो । खासमा उनी त राजनीतिकर्मी हुन् । अघिल्लो कार्यकालमा बझाङको साइपाल गाउँपालिकाको अध्यक्ष थिए । ७९ को चुनावमा भने टिकट पाएनन् । पहिला जसलाई उनले हराएका थिए, तिनैचाहिँ अहिले अध्यक्ष भएका छन् । राजनीति गरे पनि आयआर्जनका लागि धामीले हरेक वर्षको दशैंमा च्याङ्ग्रा व्यापार गर्दै आएका छन् ।
दशैको आगमनसँग बझाङका राजेन्द्रबहादुर धामी आफूले पालेकासँगै गाउँपालिकाभरिका २ सय चानचुन भेडाच्यांग्रा जम्मा गर्छन् । त्यसपछि देशै आउनै लाग्दा उनी ४/५ दिन भेडाच्यांग्रासँगै हिँडेर बाजुरा आउँछन् । त्यसपछि करिब २ सय भेडाच्यांग्रालाई गाडीमा चढाएर उनी पोखरातिर लाग्छन् । गाडी चढेको ३ दिन ३ रातपछि उनीसहितका टोली भेडाच्यांग्रासहित पोखरा आइपुगेका छन् ।
२०६८ सालदेखि भेडाच्यांग्राको व्यापार सुरु गरेका धामी २०७४ को स्थानीय तहको निर्वाचनबाट गाउँपालिका अध्यक्ष भएपछि व्यापार रोकिएको थियो । बिचमा गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि उक्त व्यापार गरेका थिएनन् । तर, २०७९ वैशाखमा कार्यकाल पूरा भएपछि भने धामी भेडाच्यांग्राको व्यापारमा फर्किएका हुन् । केही काम गरेर आफ्नो घर खर्च, व्यक्तिगत खर्च जुटाउन फेरि यो पेशामा फर्किएको धामी बताउँछन् । टाढा बाटोबाट भेडाच्यांग्रा ल्याएर आउँदा बिचमा दुखसमेत हुने गरेको उनको गुनासो छ ।
‘म निर्वाचित भइसकेपछि यो बिचमा भाइहरूले व्यापार गरेछन् । जिम्मेवारीबाट हटेपछि त्यत्तिकै बस्नुभन्दा साथीभाइसँग सजिलो पनि हुन्छ । बाटोमा पनि प्रहरीहरूले दुख दिने, तपाईँको भेटेरिनरी कार्ड भएन, यो भएन, त्यो भएन भनेर व्यापारीहरूलाई झन्झट र दुख दिने हुँदा साथीभाइ र आफूलाई पनि केही काम गरेर आफ्नो घर खर्च, व्यक्तिगत खर्च जुटाउन फेरि यो पेशामा लागेको हुँ,’ उनले भने ।
२ सयदेखि ३ सय भेडाच्यांग्रा आफै पालेका छन् । उनी भन्छन्, ‘मैले नै २ सयदेखि ३ सय भेडाच्यांग्रा पालेको छु, अहिले आफ्नोबाट ५० वटा जति र बाँकी गाउँपालिकाबाटै खोजेर ल्याएको हुँ ।’
हिमाली भेडाच्यांग्रा भनेर अलिकति मुस्ताङको जस्तो राम्रो मूल्य नदिने गरेको धामीको गुनासो छ ।
उनी भन्छन्, ‘हिमाली भेडाच्यांग्रा भनेर अलिकति मुस्ताङको जस्तो राम्रो मूल्य नदिने र अर्को कुरा परम्परागत पुख्याउलीअनुसार मुस्ताङको कालो च्यांग्रा चाहिँ राम्रो हुन्छ भन्ने मान्छेको दिमागमा सोच चाहिँ पहिले देखिनै थियो ।’ यार्सा गुम्बा लगायत जडीबुटीको व्यापार गर्ने गरेको उनी सुनाउँछन् ।
धामीले भेडाच्यांग्रा किन्न आउने ग्राहकलाई रोजेर ४५ हजारमा लग्न भन्छन् । त्यसो नगर्ने ग्राहकलाई भने उनले तौलेर प्रतिकेजीको ८ सय ५० का दरले बेच्ने गरेका छन् ।
गाउँपालिका अध्यक्षको जिम्मेवारी पूरा गरेर भेडाच्यांग्रा व्यापारमा लागेका धामीले सानो ठूलो जुनसुकै काम गर्न आफू तयार रहेको बताउँछन् । ‘मलाई काम गर्न सानैदेखि ठूलो काम सबै गर्छु । घरतिर पनि परिवारलाई सहयोग गर्ने, खाना बनाउने काम गर्छु,’ उनी भन्छन् ।
उनी मात्रै होइन, बझाङबाट मात्रै २० वटा गाडीमा भेडाच्यांग्रा लिएर पोखरा आएका छन् । बाजुराबाट पनि भेडाच्यांग्रा लिएर उत्तिकै संख्यामा आएका हुन् । मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले पनि पोखरामा भेडाच्यांग्रा ल्याउने गरेका छन् ।
उनीहरूको भेडाच्यांग्रा भने हालसम्म पोखरा आइपुगेको छैन । यस पटक भेडाच्यांग्राको मूल्य व्यापारीले ३५ हजारदेखि ५७ हजार रुपैयाँसम्म तोकेका छन् । गत वर्ष पोखरामा भेडाच्यांग्राको मूल्य व्यापारीले ३२ हजारदेखि ४८ हजार रुपैयाँसम्ममा बिक्री–वितरण भएको थियो ।
जुम्लादेखि डोल्पा, रुकुम पश्चिम, ढोरपाटन हुँदै परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्यांग्रा व्यापारी गण्डकी प्रदेश आएका हुन् । मुस्ताङी भेडाच्यांग्राले बजार लिन थालेपछि करिब १५ वर्षयता गण्डकीमा डोल्पा र जुम्लाबाट भेडाच्यांग्रा ल्याइएका थिएनन् ।