प्रदेश अधिवेशनबाट एमालेभित्र जे देखियो
नेकपा एमालेका सातवटै प्रदेश र उपत्यका विशेषसहित ८ वटै प्रादेशिक संरचनाका प्रथम अधिवेशन सम्पन्न भएका छन् । नेपालको सबैभन्दा संगठित, अनुशासित र समुदायसम्म जोडिएको पार्टीकारूपमा स्थापित नेकपा एमालेको आन्तरिक जीवनमा प्रदेश अधिवेशनले जरासम्म गोड्ने काम गरेको छ ।
प्रदेश अधिवेशनहरूमा नेतृत्व चयनका सन्दर्भमा उन्नत लोकतान्त्रिक अभ्यास भएको छ । सर्वसम्मति र निर्वाचन दुवै प्रक्रियाको प्रयोग भएको छ । कतिपयले भन्ने गरेको नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाबाट नेतृत्व चयनको पद्दति अवरुद्ध भयो भन्ने भाष्य पनि प्रदेश अधिवेशनले खण्डन गरेको छ ।
मधेश, सुदूरपश्चिम र उपत्यका प्रदेश कमिटीमा सर्वसम्मत विधिबाट नेतृत्व चयन हुँदा कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनीले निर्वाचनको प्रक्रियाबाट नेतृत्व चयन गरेका छन् । लुम्बिनीमा निर्वाचनबाट शुरू भएको प्रदेश अधिवेशनको सिलसिला मधेशमा सर्वसम्मत नेतृत्व चयनबाट टुंगिदा पार्टीका ८ लाखभन्दा बढी सदस्य र लाखौं समर्थक जनता एकसाथ परिचालित भएका छन् ।
हार्ने कमरेडलाई अझ राम्रो जिम्मेवारी
प्रदेश अधिवेशनका प्रतिनिधि छनौटदेखि नै शुरू भएको सर्वसम्मति र निर्वाचनको प्रक्रियामा शीर्ष नेतृत्वले तल्ला पंक्तिलाई उन्नत लोकतान्त्रिक अभ्यास गर्न छुट दियो, जसले गर्दा कसैले गुनासो गर्ने ठाउँ रहेन । निर्वाचनमा जित्नेहरूले जिम्मेवारी पाए, हार्नेहरूले प्रतिस्पर्धामा भाग लिएर लोकतान्त्रिक विधिलाई बलियो बनाए ।
अबको जिम्मेवारी भनेको जित्नेहरूले आफ्नो पदीय दायित्व निर्वाह गर्दै प्रतिस्पर्धामा प्राविधिक कारणले निर्वाचित नभएका कमरेडहरूको इतिहास, योग्यता, क्षमता र आवश्यकताका आधारमा उचित जिम्मेवारी दिँदै सबैजना एकजुट भएर बलियो पार्टी बनाउन लाग्ने हो । यो प्रतिस्पर्धा विरोधीसँग थिएन ।
पार्टी एकता भन्ने शब्दको अब अर्थ छैन । उसैपनि धेरै मान्छे फर्किसकेका छन् । बाँकी रहेकाहरूलाई जिल्ला जिल्लाबाट पहल गरेर फर्काउने र नेकपा एसको पसल बन्द गर्ने हो । ती साथीहरू हिजो पनि एमालेकै थिए । यसबीचमा जे जे भयो, अब उनीहरूलाई फर्काएर एमालेको मत बढाउन केन्द्रित हुनुपर्छ र यसबीचमा माओवादीको आधा पंक्तिलाई एमालेमा ल्याउन सकिन्छ ।
चुनावी प्रक्रियामा जाँदा धेरै योग्य र कमिटी परिचालनमा अत्यावश्यक क्षमता भएका कमरेडहरू प्राविधिकरूपमा पराजित भएका छन् । त्यस्ता कमरेडहरूलाई अझ माथिल्लो कमिटीमा व्यवस्थापन गर्नेदेखि सम्मानजनक ठाउँमा जिम्मा दिने र भोलि आउने अन्य राजकीय तथा पार्टीका अवसरमा त्यस्ता कमरेडहरूलाई मौका दिने कुरामा उदार हुनुपर्छ । अनिमात्र पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो हुन्छ ।
प्रदेश अधिवेशनहरूपछि अब जिल्ला अधिवेशनहरूको लहर आउनेछ । प्रदेश अधिवेशनका क्रममा देखिएको गलत अभ्यास र नकारात्मक अनुभवलाई सच्याउँदै जिल्लामा सकारात्मक अभ्यास गर्न सबैले प्रेरित गर्नुपर्छ । सधैँभरी, सबैतिर निर्वाचन नै उन्नत लोकतान्त्रिक अभ्यास पनि होइन र सधैँभरी सबैतिर सर्वसम्मतिका नाममा नेतृत्व लाद्ने कुरा पनि जनवादी केन्द्रीयता होइन ।
अहिले भएका अधिवेशनबाट निर्वाचित कमिटीहरू नै नेकपा एमालेको मिसन ८४ सफल बनाउने फ्रन्टलाइनर हुन् । त्यसैले फराकिलो छाती बनाएर, पार्टीमा धेरैभन्दा धेरै मान्छेलाई समेट्दै विपक्षीसँग प्रतिस्पर्धामा बलियो शक्ति निर्माण गर्न अझ बढी आन्तरिक एकताको खाँचो छ । जुन कुरा नेकपा एमालेको अध्यक्ष कमरेड केपी शर्मा ओलीले पटक पटक भन्दै आउनुभएको छ ।
नेता केपी ओली, नीति जबज
हाम्रो पार्टीका सचिव योगेश भट्टराईले भनेजस्तै एमालेको नेतृत्व र नीतिमा विवाद नभएपछि तलका कार्यकर्ता किन आपसमा विवाद गर्ने ? नीति जनताको बहुदलीय जनवाद, कार्यक्रम समृद्ध नेपाल सुखी नेपाली र नेता केपी ओलीको विकल्प कसैले खोजेको छैन र त्यो सम्भव पनि छैन । त्यसो हो भने विपक्षीसँग भिड्ने ऊर्जा आपसी विवादमा खर्च नगरौं ।
अब एमालेको मिसन भनेको आन्तरिक एकता मजबुत पार्दै माओवादीलाई हाफ र नेकपा एसलाई पत्तासाफ बनाउनेमा केन्द्रित हुनुपर्छ । नेकपा एसलाई पत्तासाफ बनाउने भनेको चुनावलाई भनेको होइन । चुनावनमा थ्रेसहोल्ड कटाउन नसकेर जनताले नै पत्तासाफ गराइसके । अब एमालेको मिसन भनेको नेकपा एसका सबै मान्छेलाई पार्टीमा फर्काउनेमा केन्द्रित हुनुपर्छ ।
पार्टी एकता भन्ने शब्दको अब अर्थ छैन । उसैपनि धेरै मान्छे फर्किसकेका छन् । बाँकी रहेकाहरूलाई जिल्ला जिल्लाबाट पहल गरेर फर्काउने र नेकपा एसको पसल बन्द गर्ने हो । ती साथीहरू हिजो पनि एमालेकै थिए । यसबीचमा जे जे भयो, अब उनीहरूलाई फर्काएर एमालेको मत बढाउन केन्द्रित हुनुपर्छ र यसबीचमा माओवादीको आधा पंक्तिलाई एमालेमा ल्याउन सकिन्छ ।
अहिले सबैको फोकस भूगोल केन्द्रित पार्टी काम र जनसम्बन्ध विस्तार हुनुपर्छ । केन्द्रमा नेता रिझाएर, फिल्डमा कार्यकर्तालाई बिझाउनेहरू नै एमालेको बिजयका बाधक हुन् । त्यस्ता व्यक्तिहरू माथि ठिक्क पारेर तल काम गर्नेहरूलाई पाखा लाउँन त सफल हुन्छन् तर चुनाव जिताउन सक्दैनन् । नेतृत्वले यति कुरा मनन गर्ने हो भने पुग्छ ।
पछिल्लो समय नयाँ भनेर आएका पार्टीहरुले युवा नारा अघि सारेका छन् । मूलधारका पार्टीमा वडाको टिकट पाउन संघर्ष गर्नुपर्ने उमेरका युवा आज सांसद र मेयर बन्दैछन् । ठूला र स्थापित मूलधारका दलहरुलाई चुनौति बढ्दै गएका बेला एमालेमा एउटै व्यक्तिले वडादेखि सांसदसम्म सरकारी कर्मचारीको बढुवाशैलीमा टिकट पाइरहने र अरुले उसको झोलामात्रै बोक्ने पद्धतिको पनि अन्त गर्न जरुरी छ ।
एउटा पदमा एउटा व्यक्ति कतिपटक चुनाव लड्ने,विशिष्ठ क्षमता र आवश्यकता भएका र शीर्ष तहका नेताबाहेकको हकमा एउटा मापदण्ड बनाएर नयाँलाई अघि बढाउने पुरानाले अध्ययन अनुसन्धान र वैचारिक विमर्शको काम गर्ने पनि विकल्प पार्टीहरुले नै खोज्न जरुरी छ ।
एमालेको अहिलेको समस्या
अहिले नेकपा एमालेको समस्या भनेको कमजोर आन्तरिक एकता, नचाहिँदो ठाउँ र समयमा गुटबन्दी, भूगोलमा होइन गुगलमा भेटिने नेता कार्यकर्ताको दम्भ अनि विपक्षीसँग भिड्नुपर्ने ऊर्जा आफ्नै पार्टीभित्र एकले अर्कोलाई सिध्याउन खर्च गर्ने प्रवृति नै हुन् ।
आफ्नो वडा र टोलमा एमाले बलियो बनाउने र हरेक सदस्यको मिसन कम्तीमा आफ्नो वडा जिताउनेमा केन्द्रित भयो भने पार्टी त्यसै बलियो हुन्छ । सबैले आफ्नो वडा जिताउने मिसन बनाएर हिँड्यो भने पार्टीले एक्लै बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन । त्यसको लागि विपक्षमा रहेका राम्रा मान्छेलाई एमालेमा भित्र्याउन हरेक वडामा लाग्नुपर्छ ।
र, यहाँ समस्या आफ्नो वडामा दुईजना मान्छे थप्न नसक्नेहरू माथि माथि चाकडी चाप्लुसी र नचाहिँदो कुरा लाएर नेता बन्छन् । उनीहरूलाई तल भूगोलमा जनताले पत्याउँदैनन्, कार्यकर्तामाथि दमन र शासन गर्नेबाहेक भोट बढाउन सक्दैनन् । तल कार्यकर्ताले नचिनेका मान्छेहरू माथि माथिबाट विद्यार्थी, युवा संगठनहरूको केन्द्रीय सदस्य बनेर जिल्लामा आइपुग्छन् ।
बुँदागतरूपमा अहिले एमालेभित्रका समस्यालाई मैले यसरी चिरफार गरेको छु :
१. एमालेमा भूगोलमा बसेर प्रतिपक्षीहरूसँग लडेर भिडेर काम गर्नेभन्दा गुगलमा सर्च गरेर भूगोलमा काम गर्नेका कुरा लाउनेको बोलवाला बढ्दै जानु चिन्ताको कुरा हो । हरेक सदस्यले आफ्नो वडा र टोलको जिम्मा लिने र वडा जिताउने मिसनमा नखट्ने हो भने यो प्रवृति बढ्छ ।
२. आफ्नो वडा जिताउन नसक्ने, भूगोलमा जनता कार्यकर्तासँग नजोडिने तर केन्द्रीय कार्यालयको चक्कर लाएर, नेताको गाडीमा अघि पछि हिँडेर, चाकडी गरेर र आफ्नै कमरेडको कुरा लाएर माथिबाटै नेता बन्न खोज्ने प्रवृति घातक विषका रूपमा फैलिएको छ ।
३. पार्टीमा मात्र होइन युवा संघ, अखिलजस्ता भ्रातृ संगठनमा पनि जिल्लामा नचिनिएका, काम नगरेका र कुनै विभागमा समेत नदेखिएकाहरू अमूक व्यक्तिलाई रिझाएर,पैसा बुझाएर फुत्त केन्द्रीय सदस्य बनेर जिल्लामा आउने प्रवृति रोकिएन भने पार्टी संगठन धराशायी हुन्छ । अहिले धेरैतिर यो प्रवृति मौलाएको छ । ती जनसंगठनका नेतृत्वले को व्यक्तिको जिल्लामा के छ बायोडाटा भनेर संगठनको च्यानलबाट रिपोर्ट लिने प्रचलन हराएको छ ।
४. अब एमालेमा नेता बन्ने हो भने सबैभन्दा पहिले आफ्नो टोल वडामा पार्टी जिताउ, विपक्षमा रहेका राम्रा मान्छेहरूलाई आफ्नो पार्टीमा ल्याऊ, पार्टी बलियो बनाउन प्रतिस्पर्धा गर भन्नुपर्छ । यहाँ त प्रतिस्पर्धा आफ्नै साथीहरूसँग छ ।
५. आज पार्टी कमजोर हुँदै जानुमा ग्रासरुटमा बसेर काम गर्नेलाई र जनतामा भिजेका मान्छेलाई पाखा लाएर अरुको कुरा लाउँने, कोशेलीपात बुझाउनेहरूलाई नेतृत्वले काखी च्याप्नुको मुख्य कारण हो ।
त्यसैले यसबीचमा भएका गल्ती कमजोरी र यस्ता गलत प्रवृतिहरूको बारेमा एकै ठाउँमा बसेर सम्बन्धित कमिटीहरूमा निर्मम समीक्षा गरिनुपर्छ । सबैले कमजोरी सच्याएर, आन्तरिक निर्वाचन र अधिवेशनहरूमा उत्पन्न विवाद, असन्तुष्टि, आक्रोश र निराशालाई समाधान गर्दै अझ बलियो एकताका साथ अघि बढ्दा एमालेलाई पराजित गर्ने शक्ति नयाँ र पुराना कुनै पनि शक्तिसँग छैन ।
(बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोकका पूर्व मेयर शेर्पा नेकपा एमाले वागमती प्रदेश कमिटीका नवनिर्वाचित सदस्य हुन्)