दसैँ: मातृसत्ताको बहुपक्षीय श्रेष्ठताको सम्मान ! – Nepal Press
ब्लग

दसैँ: मातृसत्ताको बहुपक्षीय श्रेष्ठताको सम्मान !

सनातन संस्कृतिका पर्वहरू विज्ञानसम्मत छन् । चाडपर्वहरू सम्बन्धित भूगोलको प्राकृतिक विशेषतासँगै त्यहाँको सामाजिक विकाससँग जोडिएका हुन्छन् । यस्ता चाडपर्वहरूमध्ये नेपाली समाजमा दसैँको विशिष्ट महत्व छ । नवदुर्गा पूजाको दसौँ दिनलाई दसैँ भनेर मनाइन्छ । ‘नव’ भनेको नौ हो र नयाँ पनि हो । समाजसँग जोडिएको हुनाले यसमा आउने परिवर्तन नै नयाँ हो । ‘नवदुर्गा’ भएर होला, सामाजिक संस्कृतिका ‘नव’-नयाँ नयाँ दृष्टिकोणका ‘दुर्ग’ (किल्लाहरू) पनि प्रकट हुने गरेका छन् । अर्थात् नयाँ नयाँ अन्याय अत्याचारका विरुद्ध नयाँ नयाँ शक्ति विकास भइरहेको छ । यी शक्ति राज्यको नीति, सामाजिक चिन्तन, संरचना र संस्कृतिमा विकास भइरहेका छन् । नयाँ र थप नयाँ हुनु परिष्कार हुनु हो । संस्कृति भनेको परिष्कार हो, संस्कारको परिणति हो । नौ (९) को बारेमा बुझ्नुपर्ने धेरै कुरा छन् ।

दसैँमा पूजा गरिने देवीहरू योद्धा हुन् । पुरुष देवताहरूले जित्न नसकेको युद्धमा लडेका नारी योद्धाहरूलाई नवदुर्गा भनिएपछि उनीहरू युद्धका क्रममा सुरक्षित बास बस्ने ठाउँ दुर्गाका मन्दिरहरू हुन् । दुर्ग भनेको गढी-किल्ला हो, दुर्ग शब्दको अर्थ सजिलै पुग्न नसकिने ठाउँ हो । योद्धाहरू दुर्गमा बस्छन् । अहिले जस्तो सुरक्षा पर्खाल, सुरुङ-बङ्कर नबनेको अवस्थामा यस्ता दुर्गहरू अग्लो डाँडाको चुचुरोमा हुनु स्वाभाविक हो । नवदुर्गाको समष्टि रूप पार्वती हुन् । पर्वतकी छोरी भएकै हुनाले यिनलाई पार्वती भनिएको हो । शक्ति स्वरूपा पार्वती हुन्, जसको जन्म हाम्रै नेपालको गौरीशङ्कर हिमपर्वतमा भएको हो । यसकारण पनि दसैँ नेपाल र नेपालीको निकट छ, यहाँका लागि विशेष र विशिष्ट छ ।

नवदुर्गा पूजा र त्यससँग सम्बन्धित अन्य कर्मकाण्ड अन्यत्रका हिन्दूहरूमा र नेपालीहरूमा उस्तैउस्तै हुन्छ । सप्तमीको दिनलाई हामी फूलपाती भनेर मनाउने गर्छौं । फूलपातीमा गरिने कार्य पनि अन्यत्र र नेपालमा फरक छ । यस दिन बिहान फल, फूल, नयाँ फलेका सब्जी, उखु आदि संकलन गर्न दुर्गा मन्दिर, दसैँघर, कोटघरबाट कुमार पुजारीहरू गाउँघर, बस्तीमा जान्छन् र त्यसरी संकलन गरिएका फलफूल आदि दुर्गा मन्दिर, दसैँघर, कोटघरमा लिएर जान्छन् । यी वस्तु त्यहाँ समर्पित गरिन्छ । यो सबैले बुझिन्छ । तर, यसको अर्को पाटो पनि छ । माताको सत्तामा कोही भोको नरहून् भन्ने हिसाबले यस अवसरमा मातृसत्ताका ‘प्रहरीहरू’ घरघरमा निरीक्षण गर्दछन् र खेतीपाती, फलफूल, सागसब्जी, अन्य अवस्थाबारे जानकारी राख्छन् र ती विषयमा महामातालाई जानकारी गराउँछन् । यसका प्रक्रियाहरू हेर्दा-बुझ्दा मातृसत्ताको युगमा जीवन व्यवहारको समग्रता यही दसैँमा उनिएको देखिन्छ ।

अहिले पनि सरकारी-सार्वजनिक क्षेत्रमा त्रैमासिक र चौमासिक समीक्षा गरी प्रतिवेदन दिने-लिने गरिन्छ । र, वर्षमा एक पटक (आर्थिक वर्ष) वार्षिक समीक्षा, योजना, स्रोत बाँडफाँट गरिए जस्तै त्यस समयमा पनि यस्तो प्रावधान रहेको देखिन्छ । यसको प्रमाण हो, वर्षमा हुने चार पटक वसन्त, वर्षा, शरद र शिशिरमा हुने नवरात्री ।

अहिले पनि सरकारी-सार्वजनिक क्षेत्रमा त्रैमासिक र चौमासिक समीक्षा गरी प्रतिवेदन दिने-लिने गरिन्छ । र, वर्षमा एक पटक (आर्थिक वर्ष) वार्षिक समीक्षा, योजना, स्रोत बाँडफाँट गरिए जस्तै त्यस समयमा पनि यस्तो प्रावधान रहेको देखिन्छ । यसको प्रमाण हो, वर्षमा हुने चार पटक वसन्त, वर्षा, शरद र शिशिरमा हुने नवरात्री । वर्षा (साउन) र शिशिर (पुस)को नवरात्रलाई गोप्य मानिन्छ । वर्षा र शिशिरको तुलनामा वसन्त (चैत)को नवरात्र (चैते दसैँ)मा अलि बढी र शरद ऋतु (असोज) मा पर्ने यस नवरात्रलाई वर्षको ठूलो नवरात्रको रूपमा वार्षिक महामहोत्सवको रूपमा मनाउने प्रचलन विद्यमान छ । समग्रमा नेपाली विशिष्टतामा हेर्दा दसैँ कृषि जीवनसँग बढी सम्बन्धित देखिन्छ । नवधान्यको प्रयोग होस्, दूधगोरको प्रयोग होस्, फूल र फलको उपयोग होस्, फूलपातीको प्रचलन होस् या अन्य, यस पर्वसँग कृषिको प्रधान्यता स्पष्ट हुन्छ ।

जीवन पनि युद्ध नै हो, संघर्ष नै हो । जीवन युद्धका लागि नयाँ नयाँ क्षेत्र, विधि, रणनीति अवलम्बन गरिएको हुन्छ । यात्रामा कोशेढुंगा जस्तै जीवनका पनि केशेढुंगा हुन्छन् । यो दसैँ आफैंमा जीवन यात्राको वार्षिक कोशेढुंगा हो । जीवन युद्धका लागि शरीर महत्वपूर्ण छ । यस पर्वमा गरिने पूजापाठको प्रारम्भमा ‘न्यास’ गरिन्छ । न्यास भनेको स्थापना, सुनिश्चितता र विश्वास हो । शरीरप्रतिको विश्वासका लागि गरिने न्यास शरीर विज्ञान र सुरक्षा विज्ञान दुबै दृष्टिले महत्वपूर्ण छ । त्यसपछि भौतिक अवस्थाको महत्व हुन्छ । पाठ प्रारम्भ गर्नुपूर्व गरिने दिशा(दिङ्)न्यास, अङ्गुष्ठादि कर(हात)न्यास, हृदयादि अङ्गन्यास आदि शरीर विज्ञान महत्वपूर्ण छन् ।

अहिलेको चिकित्सा विज्ञानले के कति प्रगति गरेको छ र विषयविज्ञता प्राप्त गरेको छ, अज्ञात छैन । रक्षा विज्ञानको प्रगतिको विषय पनि थाहा पाउन सकिन्छ । मातृ युगमा सुरक्षा तथा स्वास्थ्य रक्षाका लागि गरिएको व्यवस्थाबारे कमैलाई थाहा होला । हरेक वर्ष मनाउने दसैँलाई र यसमा अन्तनिर्हित विषयलाई ध्यान दिने हो भने दसैँको महत्व अझ बढ्ने छ र हामी थप लाभान्वित हुन सक्नेछौं ।

सुरक्षा र स्वास्थ्य रक्षा विषयको व्यवस्था यस्तो देखिन्छ:

दुर्गाकवचमा ‘प्राच्यां रक्षतु मामैन्द्री………अधस्ताद् वैष्णवी तथा’लेखिएको छ । जसअनुसार पूर्व, आग्नेय, दक्षिण, नैऋत्य, पश्चिम, वायव्य, उत्तर, ईशान, माथि, तल रक्षा गर्ने जिम्मेवारी क्रमशः ऐन्द्री, अग्नि, वाराही, खड्गधारिणी, वारुणी, मृगवाहिनी, कौमारी, शूलधारिणी, ब्रह्माणि, वैष्णवीले र दसै दिशाको समग्र रक्षा ‘शववाहना’ (शत्रुको शवको थुप्रोमाथि उभिएर होला) देवीले गरून् भनिएको छ । यसरी सबै दिशाको रक्षाको सुनिश्चितता गर्नुपर्ने बुझ्न सकिन्छ ।

दसैँलाई हामीले ‘बडादसैँ’ भन्दै आएका छौं । दसैँको विषयमा बृहत् चर्चा भइसकेको छ । ‘बडा’ भनेको ठूलो भनिएको हो । ठूलो महत्व र महिमाका हिसाबले हुन्छ, यसको स्वीकार्यताको हिसाबले हुन्छ । दसैँको सन्दर्भ र सामाजिक स्वरूप हेर्दा यसलाई बडा वा ठूलो भन्न सकिने त छँदैछ, आफूभन्दा ठूलाबडासँग टीका-जमरा थापी आशिष लिने भएको हुलाले पनि यसलाई ‘बडा’सँग जोडिएको स्पष्ट हुन्छ ।

त्यस्तै, दुर्गाकवचकै ‘जया मे चाग्रतः पातु……..जयन्ती पापानाशिनी’सम्मका श्लोक(मन्त्र)हरूमा हाम्रो शरीरको अंग-प्रत्यंगको रक्षाको लागि माताहरूले यसप्रकार जिम्मेवारी बहन गर्ने उल्लेख गरिएको छ: अघिल्तिर जयाले, विजयाले पछिल्तिर, देब्रेतिर अजिताले, दाहिनेतर्फ अपराजिताले, उद्योतिनीले शिखाको, उमाले टाउकाको, निधारको मालाधरीले, यशस्विनीले आँखीभौको, आँखीभौको बीचमा त्रिनेत्राले, नाकको यमघण्टाले, दुई आँखाको बीचमा शंखिनीले, कानको द्वारवासिनीले, कालिकाले गालाको, कानका जराको शांकरीले, नाकभित्र सुगन्धाले, माथिल्लो ओठको चर्चिकाले, तल्लो ओठमा अमृतकलाले र जिब्रोमा सरस्वतीले रक्षा गरून् । कौमारीले दाँतको, चण्डिकाले समग्र कण्ठको, चित्रघण्टाले घाँटीको, महामायाले तालुको, कामाक्षीले चिउँडोको, सर्वमंगलाले बोलीको, भद्रकालीले गर्धनको, धनुर्धरीले पिठ्यूँको, कण्ठको बाहिरी भागको नीलग्रवाले र कण्ठनलीको नलकूबरीले, दुईवटै काँधको खड्गिनीले, दुबै पाखुराको बज्रधारिणीले, दुबै हत्केलाको दण्डिनीले, औंलाहरूको अम्बिकाले, शूलेश्वरीले नङको, कुलेश्वरीले पेटको रक्षा गरून् । महादेवीले स्तनहरूको, शोकविनाशिनीले मनको, कामिनीले नाभीको, गुह्येश्वरीले गुह्यको, पूतना र कामिकाले लिङ्गको, महिषवाहिनीले गुदाको, भगवतीले कम्मरको, विन्ध्यवासिनीले घुँडाहरूको, महबलाले दुबै पिडुँलाको, नारसिंहीले गोलीगाँठाको, तैजसीले गोडाको पछिल्लो भागको, श्रीदेवीले गोडाका औंलाहरूको, तलवासिनीले पैतलाको, दंष्ट्राकरालीले नङको, ऊध्र्वकेशिनीले (मास्तिर रौं ठडिएकी) केशको, कौबेरीले रौंका प्वालहरूको, वागीश्वरीले छालाको, पार्वतीदेवीले रक्त, मज्जा, बोसो, मासु, हाड र मेदको, कालरात्रिले आन्द्राको, मुकुटेश्वरीले पित्तको, पद्मावतीले मूलाधार र कमलकोशहरूको, चूडामणिले कफको, ज्वालामुखीले नङको तेजिलोपनको, अभेद्याले जोर्नीहरूको, ब्रह्माणीले वीर्यको, छत्रेश्वरीले छायाँको, धर्मधारिणीले अहंकारको, वज्रहस्ताले प्राण, अपान, व्यान, उदान, समान वायुको, कल्याणशोभनाले प्राणको, योगिनीले रस, रूप, गन्ध, शब्द र स्पर्श तन्मात्राको, नारायणीले सत्व, रज, तम गुण धर्मको, वाराहीले आयुको, वैष्णवीले धर्मको, चक्रिणीले यश, धन, विद्याको, इन्द्राणीले गोत्रको, चण्डिकाले पशुहरूको, महालक्ष्मीले सन्तानको, भैरवीले पतिपत्नीको, सुपथा र क्षेमकरीले बाटो र जीवनपथको, महालक्ष्मीले दरबारको (प्रशासनिक केन्द्रको), विजयाले सबै डरहरूबाट जोगाउने जिम्मेवारी लिएका छन् ।

यसरी सम्पूर्ण सुरक्षाको विषय उल्लेख गरिएको छ । यहाँ उल्लेख नगरिएका अन्य क्षेत्र र विषयको रक्षा नवदुर्गाले समग्रतामा गर्ने प्रावधान छ । नवदुर्गा पूजा र महात्म्य पाठमा पाइने जानकारी साह्रै महत्वपूर्ण छ । यस क्रममा कवच, अर्गला, कीलक पाठ गरिन्छ । कवच (काँधसहित छाती ढाकेर सुरक्षित गर्ने ढाल), अर्गला (घरभित्र बस्दा सुरक्षित हुन ढोकामा लगाउने आग्लो), कीलक (सुरक्षाको लागि, निर्माणलाई बलियो पार्ने किला) हो । यसरी सुरक्षाका यी विषय पनि ‘रक्षा विज्ञान’का दृष्टिले महत्वपूर्ण छन् । नवदुर्गा, दुर्गमा बस्ने देवीहरू हुन् । शत्रुविरुद्ध होस् वा जीवन संघर्षको सुरक्षा सुनिश्चितताका यी विषय मननीय छन् ।

मानिसहरू दसैँको इतिहास खोज्छन्, यसमा जातीय र नश्लीय संलग्ना खोज्छन् । तर, के माथि वर्णन गरिएका प्रसंगहरू कुनै इतिहासको पुनरावृत्ति गर्न आवश्यक हो र ? के यसका अन्तरवस्तुहरू कुनै जात र नश्लविशेषका लागि मात्र अनुकूल वा प्रतिकूल छन् ? छैनन् । सबैका लागि र सधैंका लागि उत्तिकै महत्वपूर्ण छन् । केही मानिसहरूले रावण र रामको युद्धको सन्दर्भलाई नश्लीय युद्धको रूपमा व्याख्या गरी आर्य र अनार्यबीचको युद्ध भएको आर्य रामद्वारा अनार्य रावण मारिएको हुनाले अनार्य भनिनेहरूले दसैँ मान्न नहुने तर्क पनि अघि सार्न भ्याएका छन् । रावण ब्राह्मण थिए र राम क्षत्रिय ! युद्धका दुई पक्ष यिनै हुन् । के ब्राह्मण अनार्य र क्षत्रिय आर्य हुन मिल्छ र ? दुई राज्यका शासकहरूको बीचमा भएको युद्ध, फेरि युद्धको विषय पनि नितान्तै फरक भएको विषयलाई बुझ पचाएको कुरा कसरी सही मान्न सकिन्छ र ? यस्ता अनेकौं विषय ध्यान दिन आवश्यक छ, भ्रममा रहनु हुँदैन ।

नेपालमा यस अवसरमा परदेशबाट आफन्तहरू आउने, परिवारसँग मिलेर मीठो चोखो खाने, रमाउने, ज्येष्ठ-श्रेष्ठ बुढापाकाहरूलाई सम्मान गरी आशीर्वाद थाप्ने हो । साथै नवदुर्गाको पूजा गरी, कथा सुनी ज्ञान, भक्ति र योगको माध्यमबाट सार्थक जीवनको लागि पुनर्ताजगी प्राप्त गर्नु हो । नारी शक्तिको उच्च सम्मान र यसप्रतिको प्रतिबद्धता नवदुर्गाको पूजा हो ।

महिषासुर र देवीको बीचमा भएको युद्धमा महिषासुरहरू मारिन्छन् । महिष भनेको राँगो हो । राँगोको रूपमा युद्ध गर्न आएको असुरलाई महिषासुर भनिएको छ । के यो पत्यार नलाग्ने विषय हो र ? राँगोबाट आक्रमण गराउन सकिँदैन र ? यसलाई असुरका तर्फबाट देवीलाई आक्रमण गर्न अघि सारिएको राँगो भनेर बुझ्न सकिँदैन र ? जहिले पनि युद्ध दुई शक्तिका बीचमा हुन्छ । त्यस्तो युद्धमा होमिएकाहरू कुन जातका मारिन्छन्, कुन जातकाले मार्छन् भन्ने कुरा सामान्य हो । जातीय युद्धमा मार्ने र मारिने जातको कुरा भिन्नै हो । चाहे देवीले गरेको युद्ध होस् वा रामले गरेको, यी युद्ध कुनै जातीय आधारमा भएका युद्ध होइनन् । त्यसैले यो दसैँलाई कुनै जात विशेषसँग जोड्न र छुट्याउन उचित देखिँदैन ।

दसैँलाई हामीले ‘बडादसैँ’ भन्दै आएका छौं । दसैँको विषयमा बृहत् चर्चा भइसकेको छ । ‘बडा’ भनेको ठूलो भनिएको हो । ठूलो महत्व र महिमाका हिसाबले हुन्छ, यसको स्वीकार्यताको हिसाबले हुन्छ । दसैँको सन्दर्भ र सामाजिक स्वरूप हेर्दा यसलाई बडा वा ठूलो भन्न सकिने त छँदैछ, आफू भन्दा ठूलाबडासँग टीका-जमरा थापी आशिष लिने भएको हुलाले पनि यसलाई ‘बडा’सँग जोडिएको स्पष्ट हुन्छ । यसका अन्य आयामहरू पनि छन्, जो नेपाली समाजको विशिष्टतासँग सम्बन्ध राख्छन् । जतिबेला देवी र असुरहरूको युद्ध भएको थियो, जतिबेला राम-रावणको युद्ध भएको थियो, त्यतिबेला अहिले प्रचलनमा रहेका ‘धर्महरू’ थिए र ? थिएनन् । यी सबै कारणहरूले पनि यस पर्वलाई ‘हिन्दूहरूको’ भनेर सीमित गर्न आवश्यक देखिँदैन । यो नेपालीहरूको साझा पर्व हो, नेपाली विशेषताको पर्व हो । यो विजया दशमीमात्र पनि होइन । यो ‘बडादसैँ’ हो । नेपाली समाजले दसैँलाई कुनै खास युद्धको विजय दिवसका रूपमा स्वीकार गरेको छैन भन्ने विषयको चर्चा माथि नै गरिसकिएको छ ।

अन्यत्रका हिन्दूहरूमा नभएको प्रचलन नेपाली समाजमा छ । नेपालमा यस अवसरमा परदेशबाट आफन्तहरू आउने, परिवारसँग मिलेर मीठो चोखो खाने, रमाउने, ज्येष्ठ-श्रेष्ठ बुढापाकाहरूलाई सम्मान गरी आशीर्वाद थाप्ने हो । साथै नवदुर्गाको पूजा गरी, कथा सुनी ज्ञान, भक्ति र योगको माध्यमबाट सार्थक जीवनको लागि पुनर्ताजगी प्राप्त गर्नु हो । नारी शक्तिको उच्च सम्मान र यसप्रतिको प्रतिबद्धता नवदुर्गाको पूजा हो । बुढापाका मान्यजनबाट प्राप्त हुने जीवनोपयोगी इतिहास आदिको र ज्ञान आशीर्वाद हो । कर्तव्यप्रतिको निष्ठा र समर्पण भक्ति हो । ज्ञान र निष्ठालाई कर्मसँग जोड्नु योग हो । देवीको नाममा आयोजित पर्वमा यति धेरै उपलब्धिको संगमको रूपमा मनाइने दसैँलाई ‘समस्त हिन्दूहरूको महान चाड’ अझ ‘विजया दशमी’ मात्र भनेर हुँदैन । यो अनेकौं ठूल्ठूला विशेषता समेटिएको, ठूलो महत्व दिइएको ‘बडादसैँ’ मातृशक्तिको महिमा आत्मसात गरिएको सनातन पर्व हो । यसबारे नयाँ खोज गर्नुपर्ने हुनसक्छ । तर, यसप्रति अविश्वास र भ्रमको खेती गर्नु मातृशक्तिको अपमान र मातृ पूजक संस्कृतिप्रति विद्वेषमात्र हो । पछि हुर्किंदै आएका केही सामाजिक असङ्गतिका कारण आफ्नो संस्कृतिका असल र वैज्ञानिक पक्षहरूप्रति अनास्था फैलाउनु आत्मघात हो । महिलाहरूप्रतिको विभेदका लागि शास्त्र नभई सामाजिक व्यवहार दोषभागी छ । आफूलाई सच्याऊँ, समाज सच्चिन्छ र असल संस्कृति निर्माण हुन्छ ।

(लेखक कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *