नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हरायो
काठमाडौं । एकदिवसीय विश्वकपमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको छ । मङ्गलवार खेलमा नेदरल्याण्ड्स ३८ रनले विजयी भएको हो ।
वर्षाका कारण ४३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले २ सय ४६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका ४२।५ ओभरमा अलआउट हुन पुग्यो । उसले २०७ रन मात्र बनाउन सक्यो ।
नेदरल्याण्ड्सका लागि लोगन भान विकले ३ तथा पाउल भान मिकरेन, रोलफ भान डर मर्वे र बास डी लिडले २–२ विकेट लिँदै प्रतियोगितामा टोलीलाई पहिलो जीत दिलाए ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ४३ रन बनाए । केशव महाराजले ४० रन, हेनरिच क्लासेनले २८ रन, जेराल्ड कोट्जीले २२ र क्वीनटन डी ककले २० रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ७८ रन बनाउँदा रोलफ भान डर मर्वेले २९, अजय दत्तले २३ र तेजा निदामानुरुले २० रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन र कागिसो रबाडाले २–२ विकेट लिए भने जेराल्ड कोटजी र केशव महारजले १–१ विकेट लिएका थिए ।