सामाजिक स्वास्थ्य इकाई प्रभावकारी बन्दै – Nepal Press

सामाजिक स्वास्थ्य इकाई प्रभावकारी बन्दै

रुपन्देही । गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गर्दै आएको ‘सामाजिक स्वास्थ्य इकाईमा सेवाग्राहीको चाप बढेको छ ।

आर्थिक रूपले विपन्न, वृद्ध–वृद्धा तथा सामाजिक रूपमा पिछडिएका तथा लक्षित वर्गलाई लक्षित गरी स्थापना गरिएको सामाजिक इकाईमा धेरै सेवाहरू निःशुल्क पाइने भएपछि सेवाग्राहीको चाप बढेको हो ।

अस्पतालले पछिल्लो एक वर्षको अवधिमा मात्रै ३ करोड रकम बराबरको स्वास्थ्य उपचार तथा सेवा यो इकाईबाट उपलब्ध गराएको छ ।

आर्थिक अभावले कसैले पनि ज्यान गुमाउन नपरोस् तथा जोखिममा नपरून् भन्ने उद्देश्यका साथ सबै जनलाईलाई स्वास्थ्यको समान पहुँचमा ल्याउने गरी सञ्चालन गरिएको सामाजिक इकाईप्रति सेवाग्राही विगतभन्दा थप सचेत र आकर्षित बन्दै गएको तथ्याङ्कहरूले देखाउँछ ।

अस्पतालमा सामाजिक स्वास्थ्य इकाईमार्फत एक वर्षको अवधिमा मात्रै ३ करोड १७ लाख ३६९ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको सामाजिक इकाई प्रमुख नेत्रप्रसाद आचार्यले जानकारी दिए ।

पछिल्लो आर्थिक वर्ष २०७९÷८० मा ७ हजार ६९७ जनाले सेवा लिएका छन् । त्यसअघिको वर्ष यो सङ्ख्या ६ हजार ९८० रहेको थियो । गत आर्थिक वर्षमा १८७६ जना गरिब, ५ हजार ३९९ ज्येष्ठ नागरिक, १२६ अपाङ्गता भएका व्यक्ति, १८९ जना बेसहारा, ६५ जना कुपोषित बालबालिका, ७ जना महिला स्वास्थ्य स्वयंसेवी, ३४ जना थुनुवा तथा एक लैङ्गिक हिंसा पीडितले सेवा लिएको उनले जानकारी दिए ।

अस्पताल विकास समितिले आफ्नै खर्चमा विपन्न, गरिब तथा लक्षित वर्गहरूलाई सामाजिक इकाईबाट सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष अजयमान श्रेष्ठ बताउँछन् । नेपाल सकारले सो कार्यक्रमका लागि गत वर्ष १ करोड मात्रै विनियोजन गरेको थियो भने यो वर्ष ९० लाख मात्रै विनियोजन गरेको छ ।

यस कार्यक्रम अन्तरगत सेवाग्राहीको सङ्ख्या बढ्दै जाने तर सरकारले उपलब्ध गराउने अनुदान रकम घट्दै जाँदा अस्पताल विकास समितिको सीमित श्रोत र साधनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिएको उनले गुनासो गरे ।

अस्पतालमा यो कार्यक्रम अन्तरगत सामान्य उपचार खर्चमा मात्रै होइन विभिन्न जटिल प्रकारका शल्यक्रिया तथा औषधी खर्च उपलब्ध गराउने गरेको श्रेष्ठ बताउँछन् ।

स्थानीय सरकारले समेत सामाजिक ईकाईलाई थप प्रभावकारी र पहुँचमा ल्याउन निश्चित रकम छुट्याएर आफ्ना जनताहरूको उपचारमा खर्च गर्न सके राम्रो हुने बताउँदै अध्यक्ष श्रेष्ठले त्यसका लागि लुम्बिनी प्रादेशिक अस्पताल सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

गत आर्थिक वर्ष ३ हजार ५५९ महिला तथा ४१३८ पुरुषलाई स्वास्थ्य सेवा उपलब्ध गराएको सामाजिक इकाईले जाँच पडताल तथा शल्यक्रियाका लागि १ करोड ३८ लाख ४९ हजार ७२३ रुपैयाँ खर्च गरेको छ भने औषधी खर्चबापत १ करोड २६ लाख १०१ रुपैयाँ खर्च गरेको तथ्याङ्क छ ।

यस बाहेक दमजन्य बिरामीका लागि लुम्बिनी प्रदेश सकारले उपलब्ध गराउँदै आएको ५० हजार अनुदान कार्यक्रमबाट ३ लाख ७ हजार ७०८ रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराएको छ । उक्त कार्यक्रममा समेत अस्पताल विकास समितिले खर्च व्यवस्थापन गर्नुपरेको छ ।

यसैगरी सिकलशेल यनिमियाका बिरामीहरूका लागि १ लाख ५७ हजार ३६९ रुपैयाँ बराबरको औषधी उपचार खर्च उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । हाल अस्पतालमा ६८ जना सिकलसेलका बिरामीहरूले नियमित चेकजाँच तथा उपचार सेवा लिइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

अस्पतालले विपन्नहरूको उपचार मात्र होइन बेसहाराहरुको व्यवस्थापनका लागि समेत काम गर्दै आएको छ । बुटवलको मानव सेवा आश्रमसँग सहकार्य गरी बेवारिसे अवस्थामा रहेका नागरिकलाई औषधि उपचारपछि आश्रममा बासको लागि व्यवस्था मिलाउने गरिएको छ ।

अस्पतालले पछिल्लो आर्थिक वर्षमा मात्रै २२ जना बेसहारा नागरिकहरूलाई उपचारपछि आश्रमको जिम्मा लगाएको थियो । उपचार सेवालाई सहज बनाउनका लागि गरिब तथा विपन्न परिवारलाई उपचार मात्र होइन बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको सामाजिक ईकाइका प्रमुख आचार्यले बताए ।

विपन्न परिवारका बिरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरूलाई कुरेर बस्ने आफन्तहरूलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको आचार्यले बताए ।

अस्पतालले आर्थिक वर्ष २०७९/८० मा मात्रै उपचारमा आउने विपन्न परिवारका बिरामी कुरुवालाई खाना तथा खाजा बापत १ लाख ७५ हजार ३५० रुपैयाँ खर्च गरेको थियो ।

अस्पतालले लक्षित समूहलाई तीन प्रकारको सेवा प्रवाह गर्दै आएको छ । जसमा ओपिडी सेवामा २ हजार ५ सयसम्मको जाँच उपचार सेवा निःशुल्क, आकस्मिक वा इमरजेन्सी सेवातर्फ ५ हजारसम्मको सेवा उपचार निःशुल्क गर्दै आएको छ भने अप्रेशन तथा भर्ना भएका बिरामीहरूलाई १० हजारसम्म निःशुल्क सेवा प्रदान गर्ने गरेको छ ।

सेवा इकाईले २४ घण्टा नै सेवा दिँदै आएको छ । सरकारले लक्षित समूहलाई छिटो छरितो र निःशुल्क सेवा दिने उद्देश्यका साथ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसहित देशभरका ४४ वटा अस्पतालमा इकाई सञ्चालन गरेको छ ।

अस्पतालमा ६० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म सहुलियत रहेको छ भने ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ । इकाईमार्फत सेवा प्राप्त गर्नका लागि सम्बन्धित पालिकाको सिफारिस, लक्षित समूहको परिचय पत्र, नागरिकता लगायतको आवश्यक कागजपत्रहरू पेश गर्नुपर्ने नियम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *