केदार कार्कीले विश्वासको मत लिनुअघि कांग्रेस दलको बैठक बस्दै, विश्वासको मत दिने विषयमा छलफल
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनु अघि नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक बस्दै छ ।
दलको निर्णय विपरीत एमालेसँग मिलेर कार्कीले सरकार गठन गरेपछि दलको बैठक बस्न लागेको हो ।
पार्टीको निर्णय नमानी कार्की सहित काँग्रेसका ८ प्रदेश सभा सदस्यले एमालेसँग मिलेर कार्कीलाई मुख्यमन्त्री बनाएपछि दलका नेता उद्धव थापाले राजीनामा दिएका थिए ।
उनले दलको नेताबाट राजीनामा दिए पनि प्रदेशको पार्टीको सभापतिको हैसियतले संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका सचेतक भूपेन्द्र राईले जानकारी दिए ।
बैठकमा कार्कीलाई विश्वासको मत दिने की नदिने विषयमा छलफल हुने बताए । आज विश्वासको मत दिने विषयमै छलफल हुने छ । राईले भने कार्कीलाई विश्वासको मत दिने नदिने निर्णय भएपछि सरकारमा सहभागी हुने या नहुने विषयमा छलफल हुने बताए ।
कोशी प्रदेशमा कांग्रेसले माओवादीका इन्द्र आंवोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । केन्द्रीय सत्ता गठबन्धनको निर्णय विपरीत कांग्रेसका प्रदेशसभा सदस्यले संविधानको धारा १६८ (५) अन्तगत एमालेको संसद्को समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।
पार्टीको निर्णय विपरीत उनी सहित ८ जना प्रदेश सभा सदस्यले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमालेका ३९ प्रदेश सभा सदस्यले कार्कीलाई समर्थन गरेका थिए । कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै एमालेबाट राम राना र कांग्रेसकै विद्रोही मध्येबाट शमशेर राई मन्त्री भएका छन् ।
मङ्गलवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधवार को मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।
सत्ता गठबन्धनको निर्णय विपरीत कार्कीले मुख्यमन्त्रीको दाबी पेस गरे पनि माओवादी र एकीकृत समाजवादीले उनलाई विश्वासको मत दिने निर्णय गरेको छ । राप्रपाले भने विश्वासको मत नदिने निर्णय गरेको छ ।