नेपाल सधैं विश्व शान्तिका लागि प्रतिबद्ध छ: उपप्रधानमन्त्री खड्का – Nepal Press

नेपाल सधैं विश्व शान्तिका लागि प्रतिबद्ध छ: उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सधैं विश्व शान्तिका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ दिवसका अवसर नेपाली सेनाले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ चुनौतीहरूको उदयसँगै विश्वव्यापी रूपमा नागरिकहरूको संवेदनशीलता बढेको बताए ।

उनले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनर्विचार गर्न आवश्यक देखिएको धारणा राखे ।

नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उनको भनाइ छ ।

उपप्रधानमन्त्री खड्काले भने, ‘संयुक्त राष्ट्रसंघको बडापत्र नेपालको परराष्ट्र नीतिको एउटा मार्गदर्शक सिद्धान्त हो । नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैं विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध रहेको छ ।’

निःशस्त्रीकरण र विश्व शान्तिलाई बढावा दिने र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्ने अन्तर्राष्ट्रिय सन्धि-सम्झौताहरूमा नेपालको प्रतिबद्धता अभिव्यक्त भएको उनले बताए ।

उनले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपालले शान्ति सैनिकहरूलाई निरन्तर खटाएर योगदान गरिरहेको बताए ।

‘संयुक्त राष्ट्रसंघले विश्वको शान्ति, प्रगति र समृद्धिका लागि अथक प्रयास गर्दै आएको कुरा नेपालले सदैव स्वीकार गरेको छ’, उनले भने, ‘विश्व समुदायको एक सदस्यको हैसियतले नेपाल पनि यी प्रयासमा सक्दो योगदान गर्न सधैं प्रतिबद्ध रहेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गत रही विश्व शान्ति स्थापना गर्ने कार्यमा नेपाल सहभागी भएको ६५ वर्ष पूरा भएको छ । हामी माथिको यो विश्वासका लागि हामी संयुक्त राष्ट्रसंघलाई धन्यवाद दिन चाहन्छौं ।’

राष्ट्रसंघमा नेपालको सहभागिता र योगदान उल्लेखनीय रहेको छ । हाल नेपाल राष्ट्रसंघको शान्ति मिसनमा सेना पठाउने मुलुकमध्ये शीर्ष दोस्रो स्थानमा छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति कार्यमा १० हजारसम्म तालिम प्राप्त शान्ति सैनिकलाई परिचालन गर्न सकिने प्रतिबद्धता रहिआएको उपप्रधानमन्त्री खड्काले बताए ।

उनले राष्ट्रसंघका महासचिवको लैङ्गिक समानता रणनीतिअनुरूप नेपालले तोकिएका मापदण्ड पूरा गर्न र सक्षम महिला शान्ति सैनिक पठाउन हर सम्भव प्रयास गरेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *