महिला सहकारीका आधा सदस्य व्यवसायिक बाख्रापालनमा, खाद्यले पनि किन्छ खसीबोका
रुपन्देही । दाङको लमही नगरपालिकामा रहेको महिला सहकारीमा १२ सय जना सदस्य छन् । जसमध्ये आधाले व्यवसायिक बाख्रापालन गरेका छन् । चाडपर्व नजिकिएसँगै वडा नम्बर ७, ८ र ९ का ती सहकारीका सदस्यहरुलाई खसीबोका बिक्री गर्न भ्याइनभ्याइ भएको छ ।
स्थानीय सरकारले ती वडालाई बाख्रा हबको रुपमा विकास योजना अघि बढाएको छ । स्थानीय सरकारले दीर्घकालीन रणनीति बनाएर काम गर्न थालेपछि प्रत्येक वर्ष किसानहरुले खसीबोका बिक्रीदर बढाउँदै मात्र लगेका छन् । यसले उक्त क्षेत्र आत्मनिर्भर बन्न लक्ष्यतर्फ अघि बढेको छ ।
विशेषगरी महिलाहरु आकर्षित भएपछि व्यवसायिक खसीबोका पालनले सफलता पाएको हो । उनीहरुले महिला सहकारीबाट सहुलियतमा ऋण लिएर व्यवसायिक बाख्रापालनलाई विस्तार गर्दै आइरहेका छन् । अहिले लमही वडा नम्बर ९ र राजपुर गाउँपालिका वडा नम्बर ७ का किसानहरु व्यवसायिक बाख्रापालनमा आकर्षित भएका छन् ।
त्यसमाथि सहकारीले सामूहिक रुपमा संकलन गरी खसीबोकाको बजारीकरण गर्न थालेपछि उनीहरु आत्मनिर्भर बन्दै गएका छन् । पहिले ग्रामीण क्षेत्रमा पालिएका खसीबाख्राले उचित बजार मूल्य पाएका थिएनन् । अहिले सहकारीमार्फत बजारीकरण गर्न थालेपछि बजार मूल्यमै महिलाहरुले आफ्नो खसीबोका बिक्री गर्न पाएका छन् ।
आफ्ना खसीबोका सहकारीमार्फत बिक्री भएपछि राम्रो आम्दानी भएको बताउँछन् ती महिलाहरु ।
‘पहिले हचुवामा मोलमोलाइ गरेर खसीबोका बिक्री गर्दा घाटा व्यहोर्नुपरेको थियो’, लमही नगरपालिका- ९ रिहार निवासी मनकुमारी डाँगी भन्छिन्, ‘तर, अहिले तौलेर बिक्री गर्दा फाइदा हुने गरेको छ ।’
निम्न आय भएका महिलाहरुलाई व्यवसायिक बाख्रापालनमा आवश्यकताअनुसारको सहयोग स्थानीय सरकारले गरेमा यो व्यवसाय अझ फस्टाउने कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवीमाया थापा बताउँछिन् ।
लमही नगरपालिका- ९ रिहारमा कार्यालय रहेको सहकारीकी अध्यक्ष थापाले भनिन्, ‘गत वर्षको तुलनामा यस वर्ष खसीबोका ३० प्रतिशतले बढेकाले बजारीकरणको लागि स्थानीय सरकार, गैरसरकारी संस्थासँग समेत समन्वय गरिरहेका छाैं । किसानसँग खसीबोका खरिद गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय बजारमा बिक्री गर्ने गरेका छौं ।’
स्थानीय बजारको भन्दा राम्रो मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने भएकाले किसानहरुले उसैलाई बढीभन्दा बढी खसीबोका खरिदको लागि आग्रह गर्ने गरेको उनी बताउँछिन् ।
बाख्रापालनको लागि गैरसरकारी संस्थाले पनि सहयोग गरेको छ । किसानहरुलाई घाँसको बीउ र प्राविधिक तथा बजारीकरणमा सहयोग पुर्याउँदै आएको हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत गोपाल भुसालले बताए ।
उनले किसानको घरघरमा गएर भर्चुअल कलेक्सन सेन्टर (भीसीसी) सफ्टवेयरबाट खसीबोको तथ्यांक संकलन गर्ने गरेको र यसले बजारीकरणमा सहज हुने बताए ।
कर्मठ महिला सहकारीले तौलका आधारमा मूल्य भने फरक फरक कायम गरेको छ । ३० किलोलाई रु.५३५ प्रतिकेजी र ३५ देखि ५० किलोसम्म रु.५५० प्रतिकेजीका दरले खसी र रु.५२० प्रतिकेजीका दरले बोका खरिद गर्दै आएको सहकारीका व्यवस्थापक हेमनारायण चौधरीले जानकारी दिए ।
उनका अनुसार यसवर्ष किसानका २०० वटा खसीबोका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गरिएको छ । आफूहरुको बजेट सिलिङअनुसार मात्र खसीबोका खरिद गर्ने भएकाले धेरै परिमाणमा उठाउन नसक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयले जनाएको छ ।
‘मूल्य सरकारले तोकेअनुसार नै दिने गरेका छौं । तर, कोटा सीमित हुने भएकाले स्थानीयले बढाउन माग गरिरहनुभएको छ । देउखुरी क्षेत्रमा खसीबोकाको उत्पादन बढी भएको देखियो’, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रीय कार्यालय तुलसीपुरका तिलक सुनारले भने ।