छातीमा जमरा उमारेपछि… – Nepal Press

छातीमा जमरा उमारेपछि…

झापा । दसैंका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने चलन छ । ती जमरा मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ । तर, दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित एक मन्दिर परिसरमा ५१ वर्षीय प्रह्लाद सापकोटाले छातीमा दसैँको जमरा उमारेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले व्रतमा बसेको दुई दिनपछि जमरा उम्रिएको बताए । मन्दिरमा दैनिक पूजापाठ हुने गरेको र छातीमा उम्रिएको जमरा हेर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ । गाउँपालिकाकी उपप्रमुख पुजन न्यौपानेका अनुसार स्थानीय पाथीभरा मन्दिरमा घटस्थापनाका दिनदेखि निराहार व्रत बसेका सापकोटाले दसैँमा टीका लगाउनका लागि छातीमा जमरा उमारेका हुन् ।

गत असोज २८ गते बिहान पूजापाठ गरेर सापकोटा मन्दिर परिसरमा सुतेका हुन् । जमरा रोप्नुभन्दा दुई दिनअघिदेखि पानी र अन्नसमेत नखाई निराहार व्रतमा रहेका उनले दुर्गा भगवतीको प्रसादको रुपमा जमरा प्रयोग गरिने बताए । छातीमा बालुवामाथि टपरामा जमरा उमार्न मकै, जौँलगायतका अन्नका दाना रोपिएको थियो ।

यसरी जमरा उमार्दा कुनै शारीरिक कस्ट नभएको सापकोटाले बताए । उनले व्रतका बेला मलमूत्रसमेत त्याग गरेका छैनन् । सापकोटाले आफूलाई पाथीभरा भगवतीको भक्त ‘माता गुरु’ बताउने गरेका छन् । उनका ६ सेवकले मन्दिर क्षेत्रमा आउने भक्तजनको व्यवस्थापन गरिरहेका छन् ।

स्थानीय तारा गिरीले जीवनमै पहिलोपल्ट छातीमा जमरा उमारेर निराहार व्रत बसेको देख्दा अचम्म लागेको बताए । महानवमीका दिन एक लाख दीप प्रज्ज्वलन गरेर व्रत समापन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । दसैँको महानवमीका दिनसम्म दुर्गा भवानीको विधिपूर्वक पूजा गरेर छातीमा राखिएको मकै र जौँको जमरालाई प्रसादका रुपमा सर्वसाधारणलाई दिइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *