दाङको यातायातमा बिचौलियाको हालीमुहाली, सवारी धनीविनै गरिदिन्छन् नामसारी – Nepal Press

दाङको यातायातमा बिचौलियाको हालीमुहाली, सवारी धनीविनै गरिदिन्छन् नामसारी

दाङ । यातायात व्यवस्था कार्यालय दाङमा बिचौलियाको बिगबिगी बढेको छ । गत असारमा उपसचिव रमेश गौतम कार्यालय प्रमुख बनेर आएपछि बिचौलियाको रजगज बढ्दै गएको कर्मचारी नै बताउँछन् ।

‘हाकिमसाबले नै बिचौलियालाई भित्र पस्न दिनु भन्नुहुन्छ’, एक कर्मचारीले भने, ‘हाकिमले भित्र पस्न दिनु भनेपछि हामीले कसरी रोक्नु ?’

कार्यालय प्रमुख गौतमसँगको मिलेमतोमा कर्मचारीका कार्यकक्षमा प्रवेश गरी बिचौलियाले कागजात आफैंले लगेर लेख्ने गर्छन् । बिचौलियाले नयाँ सवारी दर्ता, नामसारी, रूट परमिटलगायतका फाइलमा आफैंले लेख्ने गरेका छन् । ती कागजात अति संवेदनशील मानिन्छन् ।

कर्मचारीले गर्ने काम बिचौलिया आफैंले गर्न थालेपछि बदमाशी हुने खतरा बढेको छ । सम्बन्धित सवारी धनी उपस्थित नभएरै बिचौलियाले नामसारीसमेत गर्दिने गरेका छन् । कार्यालयका एक कर्मचारीका अनुसार अवैध मार्गबाट अमेरिका जान हिँडेका (विदेशमै रहेका) व्यक्तिको सवारीसाधन कार्यालय प्रमुखसँगको मिलेमतोमा नामसारी गरिदिने प्रवृत्ति बढेको छ ।

बिचौलिया आफैंले सबै प्रक्रिया पुर्‍याउने र सवारी धनीको औंला छाप लगाउने र हस्ताक्षरसमेत आफैं गर्ने गरेका छन् । नियमअनुसार नामसारी गर्दा सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा सशरीर उपस्थित हुनुपर्छ । तर, विदेश भएका सवारी धनीसँग चर्को रकम असुलेर बिचौलियाले नामसारी गरिदिने गरेका छन् ।

उनीहरूले कार्यालयका फाइल बाहिर लगेर आफैं लेख्ने गरेका छन् । त्यतिमात्रै होइन बिचौलियाले कर्मचारीका कम्प्युटरसमेत प्रयोग गर्ने गरेका छन् । यातायात कार्यालयमा पैसाविना कामै हुन छाडेको सेवाग्राही बताउँछन् । कार्यालयका कर्मचारीसँग काम गराउन खोज्दा बिचौलिया भेट्न पठाउने गरेको सेवाग्राहीको गुनासो छ ।

बुधबार मोटरसाइकल नामसारी गर्न गएका एक सेवाग्राहीले कर्मचारीले छिटो काम गराउने भए उसलाई (बिचौलियालाई देखाउँदै) भेट्नुस् भनेको र आफू त्यसै गर्न बाध्य भएको बताए ।

उनले आफूले बिचौलियालाई राजस्वबाहेक एक हजार थप रकम दिएको बताए ।

कार्यालय प्रमुख गौतमले भने कर्मचारी व्यस्त भएका बेला बिचौलियाले कार्यालयका कागजातमा लेख्ने गरेको बताए । ‘कर्मचारी बिजी भएको बेला उनीहरूले लेख्ने गर्छन्’, गौतमले भने,‘कानूनी रूपमा नमिले पनि उनीहरूले सहयोग गरेका छन् । यसलाई अन्यथा मान्न हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर