मकवानपुरमा वर्षेनि सयौं बिघाको गाँजा नष्ट, समस्या ज्यूँका त्यूँ – Nepal Press

मकवानपुरमा वर्षेनि सयौं बिघाको गाँजा नष्ट, समस्या ज्यूँका त्यूँ

लागुऔषधसहित पक्राउ पर्नेको संख्या पनि उस्तै

हेटौँडा । गाँजा तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा चिनिएको मकवानपुरमा गाँजा नियन्त्रणका लागि प्रहरी र स्थानीय सरकारका योजना असफल देखिएको छ ।

मकवानपुरमा गाँजा उत्पादनको तयारी हुने समयमा सयौं प्रहरी गाँजा खेती हुने कैलाश, राक्सिराङ, भीमफेदीको उत्तरी क्षेत्र, थाहा नगरका केही भागमा परिचालन हुन्छन् र फडानीले तीव्रता पाउँछ । तर, समस्या ज्यूँ का त्यूँ देखिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् । गाँजा उन्मुलन गर्दै तरकारी खेतीतर्फ आकर्षण गर्न भन्दै स्थानीय तह र प्रहरी प्रशासनले सचेतना कार्यक्रम, तरकारीको बीउ वितरणलगायतका काम गर्दै आइरहेको छ । तर, गाँजा रोप्ने, तस्करी घटेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक हेर्दा गाँजा फडानी प्रत्येक वर्ष बढाइए पनि तस्करीको दर बढेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुर प्रहरीले ५ सय १९ जना प्रहरी परिचालन गरी १४४ बिघा ३ कठ्ठा १६ धुरमा लगाइएको गाँजा नष्ट गरेको थियो । यही वर्ष प्रहरीले १४४ आिघा १४ कठ्ठामा लगाएको अफिम खेती पनि नष्ट गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा फडानी थप २ सय बिघा बढी भयो । २०७९/०८० मा प्रहरीले मकवानपुरमा १४६ बिघा १९ कठ्ठाको गाँजा फाँडेको छ । भने यो वर्ष २२४ बिघा ३ कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको छ । जहाँ ४९७ जना प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीले चालू आर्थिक वर्षको करिब ४ महिनामा मकवानपुरमा १५ बिघामा लगाएको गाँजाखेती नष्ट गरिसकेको छ ।

गाँजा अफिम नष्टको अभियानसँगै यहाँ तस्करी र पक्राउको दर पनि उस्तै छ । प्रहरीले आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ६ सय ६२ किलो गाँजा बरामद गरेको थियो भने १२ किलो अफिम बरामद गर्दै २ सय ५६ जनालाई पक्राउ गरेको थियो । तर, २०७९/०८० मा त्यो दर झन् बढेको छ । सो आर्थिक वर्षमा प्रहरीले ६ हजार ५ किलो गाँजा र १२ किलो अफिम बरामद गर्दै लागुऔषधसम्बन्धी अपराधमा २ सय ४८ जनालाई पक्राउ गरिएको छ ।

यो वर्ष पनि उत्तरी मकवानपुरका कैलाश, राक्सिराङका किसानले गाँजा लगाइसकेका छन् । सामान्यतया भदौमा लगाइने गाँजा मंसिर, पुससम्म तयार हुने उनीहरू बताउँछन् । आयश्रोतको अन्य विकल्प र खेतीयोग्य जमिनमा सिँचाइको अभावले गाँजा लगाउनुपर्ने बाध्यता रहेको किसानहरू बताउँछन् ।

गाँजालाई वैधानिकता दिएर सरकारले तोकेको मापदण्ड अनुसार खेती गर्न पाए जीविकोपार्जनमा टेवा पुग्ने र युवा शक्ति विदेश जानुपर्ने, पक्राउ पर्नुपर्ने अवस्थाको अन्त्य हुने उनीहरूको भनाइ छ ।

कैलाश-३ का प्रदीप कालाखेती भन्छन्, ‘हामीलाई राज्यले गाँजा खेती गर्छ भनेर अपराधीजस्तो व्यवहार गर्छ, तर हाम्रो जमिन, हावापानीमा हुने उत्पादनलाई राज्यले किन नियमन गरेर हाम्रो आर्थिक अवस्था सुधारमा ध्यान दिँदैन ? नाममात्रको वैकल्पिक खेतीले यहाँका मानिस कसरी आर्थिक समृद्धि हाँसिल गर्न सक्छन् ? सिंचाइ अभाव, मल बीउको अभाव खेपिरहेको हामीले वैकल्पिक खेतीलाई कसरी प्रोत्साहन गर्न सक्छौं र ?’

कालाखेतीजस्तै उक्त क्षेत्रका अधिकांश किसान गाँजालाई वैधानिक बनाएर जनताको आर्थिकस्तर उकास्ने योजनामा सरकार लाग्नुपर्ने माग राख्छन् ।


प्रतिक्रिया

One thought on “मकवानपुरमा वर्षेनि सयौं बिघाको गाँजा नष्ट, समस्या ज्यूँका त्यूँ

  1. Ganja hariyo sun ho. Ganjale deshko arthatantra baliyo banauna sakxa yadi yeslai legalize garera yesbata laav lina sakeko khandama. Fuck the system. Tei vayera vanxan Nepal sunko kachaura ma bhikh magne desh ho vanera.

Leave a Reply

Your email address will not be published. Required fields are marked *