कोहलीको शतक पूरा गर्न अम्पायरको ‘फेवर’, स्पष्ट वाइड पनि दिएनन्
काठमाडाैं। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय पूर्व कप्तान विराट कोहलीले बिहीबार बनाएको ४८ औँ शतक अम्पायरका कारण विवादित बनेको छ।
विश्वकपअन्तर्गत बंगलादेशविरुद्धको खेलमा भारतलाई जितका लागि २ रन मात्र आवश्यक रहेका बेला नासुम अहमदले ४२ औँ ओभरको दोस्रो बलमा अम्पायरलाई छुट्याउन कुनै गाह्रो नहुने गरी वाइड फ्याँकेको देखिएको थियो।
तर फिल्ड अम्पायर रिचर्ड केटलबोरोले वाइडको संकेत देखाएनन्। त्यतिबेला कोहली ९८ रनमा खेल्दै थिए भने उनलाई सतक पुरा गर्न केवल २ रन चाहिएको थियो। लगत्तै अर्को बलमा कोहलीले छक्का प्रहार गर्दै शतक पुरा गरे।
कोहलीलाई शतक बनाउन दिन अम्पायरले फेवर गरेको भन्दै सामाजिक सन्जालमा रिचर्डलाई आलोचनासहित ट्रोल बनाइएको छ। इङ्ल्यान्डका ५० वर्षीय रिचर्ड सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरिङ गरिरहेका छन्।
कोहलीले विश्वकपमा ८ वर्षपछि सतक बनाएका हुन्। यसअघि उनले अन्तिमपटक सन् २०१५ मा पाकिस्तानविरुद्ध विश्वकप सतक बनाएका थिए। यसबीचमा उनले विश्वकपमा ७ अर्धसतक बनाएपनि सतक पुरा गर्न सकेका थिएनन्। बिहीबार बंगलादेशविरुद्ध पनि उनलाई भाग्यले साथ दियो।
भारतलाई जितका लागि २६ रन चाहिएका बेलामा कोहली पनि सतकबाट २६ रनले टाढा थिए। यस्तो अवस्थामा क्रिजमा रहेका अर्का ब्याट्सम्यान केएल राहुलले सहयोगी भूमिका खेले। उनले कोहलीलाई मात्र रन जोड्न दिए। आफुले एक रन पनि बनाएनन्। तर यति मात्र पर्याप्त थिएन।
अन्तिम समयमा अम्पायर रिचर्डले स्पष्ट वाइडमा आँखा चिम्लिदिए। रिचर्डले उक्त बल वाइड नै दिएको भएपनि कोहलीको सतक पुरा गर्ने सम्भावना भने कायमै रहन्थ्यो। त्यसका लागि उनले विजयी रनका रुपमा चौका वा छक्का प्रहार गर्नुपर्ने थियो।
जारी विश्वकपमा भारतले लगातार चौथो जित हात पारेको हो। उसले अस्ट्रेलिया, पाकिस्तानजस्ता टोलीलाई हराइसकेको छ। कोहली एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक सतक बनाउने सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गर्नबाट एक शतकले मात्र पछाडि छन्।