गैरआवासीय नेपाली संघको विवाद: साइबर क्राइमसम्म पुग्यो निवेदन – Nepal Press

गैरआवासीय नेपाली संघको विवाद: साइबर क्राइमसम्म पुग्यो निवेदन

काठमाडौं । गैरआवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ । कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो ।

अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भए पनि यसलाई मान्यता दिन नसकिने पराजित पक्षले बताएको छ । महासचिवका उम्मेदवार बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्टे«लियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए ।

अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको उनले बताए । उनले यस नतिजाले ८० लाख गैरआवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको आरोप लगाए ।

सुवेदीले उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत नेपालबाट खसेको शून्य मत रहेकाले पनि प्रमाण स्वतःसिद्ध हुने बताए । उनले साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको जानकारी दिए ।

आफ्नो जानकारीअनुसार परराष्ट्र मन्त्रालयले निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उनको भनाइ छ ।

निर्वाचित उपाध्यक्ष हेमराज शर्माले भने अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताए । उनले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शून्य हुनु समस्याको जड रहेको बताए ।

शून्य हुन नहुनुपर्ने भए पनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटि भएको हुनसक्ने उनको भनाइ छ ।

उनले भेरो आएर यथार्थ भनिदिनुपर्ने बताउँदै पुनः गणना गर्नुपरे पनि आफूहरु तयार रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर