मुख्यमन्त्री जम्मकट्टेल भन्छन्- बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्छ – Nepal Press

मुख्यमन्त्री जम्मकट्टेल भन्छन्- बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्छ

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका छन् । मध्यपुरथिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले बागमती प्रदेशको नाम र राजधानी दुबै अनुपयुक्त रहेको बताए ।

बागमती प्रदेश नामाकरणमा धेरै जनता खुसी नभएको दाबी गर्दै मुख्यमन्त्री जम्मकट्टेलले त्यतिबेला प्रदेशसभामा आफूले अन्तिम समयसम्म  प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भनेर अडान लिए पनि त्यतिबेला सम्भव हुन नसकेको बताए ।

मुख्यमन्त्री जम्मकट्टेलले भने “प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ नै राखिनुपर्छ, प्रदेश राजधानी हेटौँडामा अपायक छ, प्रदेशको एउटा कुनामा छ, चितवन र मकवानपुरबाहेक अरु ११ जिल्लालाई पायक पर्दैन, सबैलाई पायकपर्ने गरी प्रदेश राजधानी धुलिखेलनै राखिनुपर्छ, उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुबै परिवर्तन हुन्छ र त्यो प्रदेशसभाको अधिकार पनि हो ।”

अहिलेको व्यवस्था मन नपराउनेबाट असन्तुष्टिका स्वर आउन सक्ने मुख्यमन्त्री जम्मकट्टेलको भनाइ छ । बागमती प्रदेशले नेवार र तामाङ समुदायको भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा प्रयोग गर्ने गरी ऐन पारित गरेको र यसलाई आगामी ६ महिनाभित्र सबै निकायमा कार्यान्वयनमा ल्याउने उनले बताए ।

अहिलेनै सरकारी निकाय र स्थानीय तहलाई कुनै पनि सूचना जारी गर्दा, साइनबोर्ड राख्दा नेपालीसहित नेपाल भाषा र तामाङ भाषामा समेतको प्रयोग गर्न निर्देशन दिइसकेको, सरकारी कार्यालयमा यी तीन वटै भाषाको निवेदन लिन पनि निर्देशन दिइसकेको मुख्यमन्त्री जम्मकट्टेललको भनाइ थियो । प्रदेशसभाले स्वास्थ्य ऐन पारित नुहँदा धेरै स्वास्थ्य संस्था नवीकरण हुन नसकेको भन्दै हिउँदे अधिवेशनले ऐन पारित गर्ने उनले बताए ।

 


प्रतिक्रिया

One thought on “मुख्यमन्त्री जम्मकट्टेल भन्छन्- बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्छ

  1. शान्ति मन नपराउने, हत्या हिंसामा विश्वास भएकालाई प्रदेशमा शान्ति भएको मनै पर्दैन । अब यसले काम केही गर्दैन । प्रदेश लुटछ अनि नाम र राजधानी भएन भनेर दुईचारजना गुण्डा उचाल्छ र अशान्ति मच्चाउँछ । जनयुद्वका नाममा हत्याहिंसा मच्चाउनेलाई सके देशमा नभए हेगमा लगेर भए पनि कारवाही गरेको भए चाहि यी ठेगान लागिसक्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर