कान्तिपुरको श्रमिक आन्दोलनमा जन्मदेव फ्याक्टर, पत्रकार महासंघ र ‘मातृ पार्टी’ सँग मिडिया सोसाइटीको टक्कर – Nepal Press

कान्तिपुरको श्रमिक आन्दोलनमा जन्मदेव फ्याक्टर, पत्रकार महासंघ र ‘मातृ पार्टी’ सँग मिडिया सोसाइटीको टक्कर

काठमाडौं । मिडिया सोसाइटी नेपालले बुधबार जारी गरेको वक्तव्यको अन्तिम हरफले धेरै कुराको संकेत गर्छ । ठूला प्रकाशन गृह र टेलिभिजन सञ्चालकहरूले संस्था मिडिया सोसाइटीले पत्रकार महासंघ वर्तमान सत्ता गठबन्धनको अंग भएको संकेत गर्दै कान्तिपुर मिडिया ग्रुपमा भएको पछिल्लो आन्दोलनबाट उत्पन्न परिणामको जिम्मेवार महासंघको नेतृत्वका मातृ पार्टी हुनुपर्ने चेतावनी दिएको छ ।

मिडिया सोसाइटीले यति कडा वक्तव्य दिएको सम्भवतः यो पहिलोपटक हो । सबैलाई थाहा छ- महासंघको नेतृत्वमा अहिलेको सत्ता गठबन्धनको एकल वर्चश्व छ । अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्टसहित बहुमत पदाधिकारी र सदस्य कांग्रेसनिकट प्रेस युनियनबाट निर्वाचित छन् ।

म्हासचिव रोशन पुरीसहित सदस्य नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर र बाँकी नेकपा एस निकट समाजवादी प्रेस संगठनलगायत गठबन्धन आवद्ध दलनिकट पत्रकारका सदस्य छन् । एमालेनिकट प्रेस चौतारी महासंघको चुनावमा एक्लै लडेका कारण एकाध सदस्यबाहेक उसले कुनै पद जितेको छैन ।

मिडिया सोसाइटीले भनेको छ- नेपाल पत्रकार महासंघको पवित्र उद्देश्य र गौरवपूर्ण विरासत भएपनि पछिल्लो समय महासंघभित्रको अतिराजनीतिकरण,पार्टीको गुटको चलखेलजस्ता विषयले महासंघको साखलाई अविश्वसनीय बनाउँदै लगेको घटनाप्रति जिम्मेवार नेतृत्वलाई सचेत रहन समेत हाम्रो सल्लाह छ । पछिल्लो समय जसरी मूल प्रवाहको मिडियाविरुद्ध कथित अभियान चलाइएको छ, त्यसका पछाडिको स्वार्थ र योजना स्वतः बुझ्न सकिन्छ । ..अन्यतथा उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं कथित आन्दोलनकारी भनिएका संस्था र उनीहरू संलग्न रहेका मातृ राजनीतिक पार्टी हुने कुरा समेत हामी स्पष्ट गर्न चाहन्छौं ।

मिडिया सोसाइटीको यो वक्तव्यले संचारजगत तरंगित छ । महासंघले अर्कोतिर कान्तिपुर प्रतिष्ठान शाखाका अध्यक्ष अनिल गिरीमाथि कारवाही अघि बढाएको छ । केन्द्रले कान्तिपुरको गेटमा आन्दोलन गर्ने र शाखाले व्यवस्थापनसँग सम्झौता गर्ने सिलसिलामा राजनीतिक प्रसंग किन आयो ? यसबारे धेरैले प्रश्न गरेका छन् ।

कान्तिपुरले वर्षौ काम गरेका श्रमजिवी पत्रकारलाई अन्यायपुर्वक निकालेकोमा आन्दोलन चलिरहेको महासंघले आरोप लगाएको छ । तर पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले भने त्यसरी कसैलाई बिदाई गर्न नहुने भन्दै प्याकेजमा सहमति गरेको छ ।

यसबीचमा पत्रकार महासंघको कान्तिपुर शाखा र व्यवस्थापनबीच भएको सम्झौता पत्रकार महासंघ केन्द्र र असन्तुष्ट पत्रकारले अश्वीकार गरेपछि त्यहाँको श्रम समस्या झन् जटिल बनेको देखाईएको छ । त्यसमाथि मिडिया सोसाइटी र पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले समेत आन्दोलनमा राजनीतिक उद्देश्य रहेको आरोप लगाएपछि यो थप पेचिलो बनेको हो ।

सबैलाई थाहा छ, पछिल्ला केही वर्षयता कान्तिपुरको सम्पादकीय नीति वर्तमान सत्ता गठबन्धन र तत्कालीन अवस्थामा केपी शर्मा ओलीविरोधी गठबन्धनप्रति नरम थियो । ओलीलाई सत्ताच्यूत गर्नेदेखि चोलेन्द्रशमसेर जबरालाई महाअभियोग लगाउनेसम्मका घटनाक्रममा कान्तिपुरलगायत मूलधारका अधिकांश मिडियाले गठबन्धन र विशेषगरी माओवादी अध्यक्ष प्रचण्डलाई साथ दिएका थिए ।

त्यसो भए अहिले राजनीतिक प्रसंग कसरी आयो र मिडिया सोसाइटीले किन सांकेतिकरूपमा कांग्रेस र माओवादीले जिम्मेवारी लिनुपर्ने आशयको वक्तव्य दियो ? यसको जड भने जन्मदेव जैसीबाट शुरू भएको हो । श्रमजिवी पत्रकारको पक्षमा निरन्तर आन्दोलन गरिरहेका जैसी पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य र हाल श्रमजिवी पत्रकार संघका अध्यक्ष हुन् ।

उनले विगतमा पनि कान्तिपुरका मजदुर आन्दोलनको पक्षमा अभियान चलाएका थिए । उनी जहाँ श्रमजिवीले न्याय माग्छन् त्यहाँ साथ दिन र उनीहरूको पक्षमा माहौल बनाउन खटिने गरेका छन् । यसपटक पनि उनको अगुवाइपछि आन्दोलन उग्र भएको भन्दै मिडिया सोसाइटीले यस्तो विज्ञप्ति निकालेको बताइएको छ ।

जैसी सत्तारुढ माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्य भएको र उनलाई माओवादीकै केही नेताले कान्तिपुरविरुद्ध आन्दोलनको अगुवाइ गर्न निर्देशन दिएको आरोप व्यवस्थापन पक्षको छ । कृष्णवहादुर महरा, जनार्दन शर्मालगायतका नेताले कान्तिपुरविरुद्ध आन्दोलन चर्काउन निर्देशन दिएको आरोपसमेत उनीहरूको छ ।

महासंघका कान्तिपुर प्रतिष्ठान शाखाका अध्यक्ष अनिल गिरीले कान्तिपुरको इतिहासमा पहिलोपटक महासंघको पहलमा स्वेच्छिक अवकाशको प्याकेज ल्याउन सफल भएको बताए । उनले कात्तिक १७ भित्र स्वेच्छिक अवकाशमा जानका लागि मौका दिइएको र अधिकतम सेवा सुविधाको प्याकेज ल्याइएपनि त्यतिञ्जेलसम्म महासंघले पर्खिन नसक्नु रहस्यमय भएको बताए ।

उनले सम्बन्धित प्रतिष्ठान शाखालाई थाहा नदिई माओवादीका केन्द्रीय सदस्यको नेतृत्वमा आन्दोलन भएकाले यसमा राजनीतिक उद्देश्य रहेको आशंका भएको बताए । उनले महासंघ प्रतिष्ठान शाखाले आन्दोलन गरेपछि केन्द्रले समर्थन जनाउने प्रचलनलाई समेत यसपटक महासंघका केही पदाधिकारीले कुल्चेको टिप्पणी गरे ।

आफूलाई केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ दिइसकेको उनको भनाइ छ । कान्तिपुरले गरेको स्वेच्छिक अवकाशको प्याकेजमा केही पत्रकारले भने सहभागी भएर राजीनामा समेत दिएका छन् ।

के भन्छन् जैसी ?

यसैबीच श्रमजिवी पत्रकार संघका अध्यक्ष जैसीले भने आफू माओवादी पार्टीमा आबद्ध भएका कारण श्रमिकको पक्षमा बोल्न नपाउने भन्ने तर्क अभिव्यक्ति स्वतन्त्रता र श्रमिकको हकविरोधी भएको बताएका छन् । उनले विगतदेखि नै आफू यस्तै संघर्षबाट आएको भन्दै माओवादीको नीति नै श्रमिकको पक्षमा उभिने रहेकाले आफूमाथि लगाइएका आरोपको औचित्य नरहेको बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले आन्दोलनलाई कमजोर बनाउन विषयान्तर गरिएको बताए ।

उनको भनाइ जस्ताको तस्तै–

श्रमजीवी-पत्रकार संघ, नेपालको अध्यक्षको हैसियतले कान्तिपुरका पत्रकार श्रमजीवीहरूको न्यायिक अधिकारका लागि म आन्दोलनमा सहभागी भएको हो । हिजोदेखि नै म निरन्तर सञ्चार श्रमिक र पत्रकारको हितका लागि वकालत गर्दै आएको छु ।

आस्थाकै आधारमा श्रमजीवी वर्गको पक्षमा बोल्न पाउनु कुनै पनि सचेत नागरिकको कर्तव्य हो, त्यो मेरो नैसर्गिक अधिकार र कर्तव्य पनि हो । म बाँचुञ्जेल श्रमिकवर्गको पक्षमा अनवरत लडिरहनेछु । कसैका भ्रम र जालझेलले मलाई गलाउने छैन । पत्रकार महासंघको निवर्तमान केन्द्रीय सदस्य हो ।

यो मेरो आधिकारिक भनाइ हो । सम्बन्धित पक्षको धारणा नलिई एकपक्षीय रूपमा कान्तिपुरजस्तो स्थापित पत्रिकाबाट मेरो चरित्र हत्या भएकाले म प्रष्ट पार्न चाहान्छु ।

कान्तिपुर आन्दोलनको अन्तर्य

केहि वर्षयता मिडिया क्षेत्रमा आर्थिक संकटबाट पार नलाग्ने स्थिति भएपछि कान्तिपुर मिडिया ग्रूपले कर्मचारी कटौती गर्ने अभियान थालेपछि नेपाल पत्रकार महासंघ र कान्तिपुरबीच नोकझोक सुरू भएको थियो ।

कान्तिपुर पब्लिकेसन्समा भइरहेको आन्दोलनमा माओवादीका वैकल्पिक केन्द्रीय सदस्य जन्मदेव जैसीको अगुवाइ भएपछि भने आफूहरू यो आन्दोलन पत्रकारको नभएर राजनीतिक प्रतिशोधपूर्ण बनेको निष्कर्षमा पुगेको कान्तिपुरका व्यवस्थापकले बताएका छन् ।

उनी भन्छन्, ‘महासंघ शुद्धीकरणको अभियानमा थुप्रै पत्रकारहरूलाई निषेध गरेको महासंघले आफ्नो व्यानरको नेतृत्व नेकपा माओवादीका वैकल्पिक केन्द्रीय सदस्यलाई दिएपछि कान्तिपुरले दोस्रो पटक माओवादी आक्रमण भएको निष्कर्ष निकालेको छ । मिडिया सोसाइटीलेसमेत माओवादीको तस्करीमा संलग्नताको समाचार लेखेकै भरमा कान्तिपुरमाथि आक्रमण भएको वक्तव्य दिएपछि धेरै कुरा प्रष्ट भइसकेको छ ।’

कान्तिपुर मिडिया ग्रूपले पछिल्लो आर्थिक संकटलाई मध्यनजर गर्दै दरबन्दीको संख्या घटाउने भएपछि समस्या सुरू भएको थियो । नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले गत असोज १२ गते कान्तिपुरमा आवद्ध ८२ जना पत्रकारहरूको हस्ताक्षरसहित १२ बुँदे मागपत्र पेश गरेको थियो ।

प्रतिष्ठान शाखाको मागपत्र पेश भएसँगै नेपाल पत्रकार महासंघ केन्द्रमा समेत यो बिषय जानकारी गराई बार्ता सुरू भएको थियो । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले गत असोज २१ गते कान्तिपुर पब्लिकेसन्सका अध्यक्षलाई सम्बोधन गरी प्रतिष्ठान शाखाले मागप्रति पूर्ण प्रतिवद्ध रहेको र ऐक्यबद्धतासमेत जनाएको बताएको थियो । वार्ताकै बीचमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरी कान्तिपुरमै पुगेको बुझिएको छ ।

विभिन्न चरणमा भएको वार्ताका आधारमा गत असोज २८ गते नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखा र कान्तिपुर पब्लिकेशनस लिमिटेड व्यवस्थापनबीच ७ बुँदे सहमति बनेको थियो । जसलाई नेपाल पत्रकार महासंघले अस्वीकार गरेको छ ।

पत्रकारका प्रतिनिधिबीचको वार्ता भन्ने शब्द हालेर केन्द्रले विज्ञप्ति निकालेपछि कान्तिपुर प्रतिष्ठान शाखाले प्रतिवाद गरेको थियो । कान्तिपुर प्रतिष्ठान शाखाले केन्द्रले आफ्नै शाखालाई नचिनेको भन्दै थप आक्रोशित बनायो ।

यसले गर्दा कान्तिपुर पब्लिकेसन्समा कार्यरत पत्रकार विभाजित बन्न पुगे । पत्रकार महासंघ प्रतिष्ठान शाखाले राखेका मागप्रति आफूहरू सहमत भए पनि महासंघ केन्द्रले भनेजस्तो आन्दोलन गर्नुपर्ने अवस्था नरहेको कान्तिपुरकै कतिपय पत्रकारको बुझाइ छ ।

कान्तिपुर ग्रूपभित्रैबाट महासंघका प्रतिनिधित्व गर्ने पत्रकारलाई समेत साक्षी नराखी प्रतिष्ठान शाखाले सहमति गरेपछि त्यसको जस लिन पत्रकार महासंघ केन्द्रलाई समस्या भएपछि आन्दोलन सुरू भएको कतिपयको बुझाइ छ ।

कान्तिपुर व्यवस्थापनसँग भएको सहमतिअनुसार कात्तिक १७ गतेसम्म यसअघि व्यवस्थापनले गरेको सरुवा वा करारको अन्त्यलाई स्थगन गरी स्वेच्छिक अवकाशमा जान चाहनेलाई आह्वान गरेको थियो । नेपाल पत्रकार महासंघले कात्तिक १७ गतेसम्म पनि कुर्न नसकेर जस लिनकै लागि कान्तिपुरमा आन्दोलन सुरू भएको हो ।

कान्तिपुरले जन्मदेव जैसी माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्य रहेको उनको परिचयपत्र तथा पछिल्लो पटक जनतासँग माओवादी अभियानका क्रममा उनी सहभागी भएका तस्विरसमेत सार्वजनिक गर्दै यो आन्दोलन पत्रकारको हकहितका लागि नभएर राजनीतिक प्रतिशोधको लागि भएको दावी गरेको छ ।

आन्दोलन चर्किएमा कान्तिपुर व्यवस्थापनले माओवादी केन्द्रसहित सत्ता गठबन्धन आबद्ध दललाई समेत जवाफदेही बनाउने तयारी गरेको व्यवस्थापनको उच्च तहका रहेका एक व्यक्तिले बताए ।

दसैँभरी डिजिटल आन्दोलन

यसैबीच पत्रकार महासंघ र श्रमजीवी पत्रकार संघले दसैँमा पनि कान्तिपुर आन्दोलन जारी राख्ने भएका छन् । दसैँ अवधिमा पत्रिका प्रकाशन बन्द हुने भएकाले महासंघ र श्रमजीवी पत्रकार संघका आन्दोलनकर्ताले शुक्रबारदेखि डिजिटल स्वरूपमा आन्दोलन सुरू गरेका हुन् ।

सामाजिक सञ्जालमामार्फत कान्तिपुरका समस्या अन्तर्राष्ट्रियस्तरसम्मै पुग्ने गरी प्रस्तुत गर्ने पत्रकार महासंघका महासचिव रोसन पुरीले बताएका छन् ।

उनले भने, ‘सामाजिक सञ्जालमार्फत् कान्तिपुरमा भएका समस्या जानकारी गराउन सुरू गरेका छौं । त्यहाँका समस्या डिजिटल माध्यमबाट माग राख्ने र दबाब दिने, तथा सरकारलाई श्रमजीवि पत्रकार ऐन कार्यन्वयनका लागि दबाब दिने उद्देश्यले डिजिटल आन्दोलनमामार्फत महासंघ अगाडि जान खोजेको हो । सँगसँगै सम्बन्धित सञ्चार गृहबाट पीडित बनेका ८२ जनामध्येबाट हामीले उहाँहरूको पीडालाई उहाँहरूकै आवाजमा डिटिजल माध्यममार्फत सेयर गरी सम्बन्धित सञ्चारगृहलाई दबाब दिनेछौँ ।’

माग पूरा नभए दसैँपछाडि फेरि भौतिकरूपमै उपस्थित भएर आन्दोलन गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर