डाक्टर-इन्जिनियर बन्ने सपना बदलेर बाबुको पदचाप पछ्याएका उद्योगी दिलीप
रुपन्देही । रुपन्देहीका उद्योगीहरुबीच परिचित नाम हो दिलीप सापकोटा । २०२९ चैत १५ गते पर्वतको फलेवासमा जन्मेका दिलीपले विद्यालय पढ्दा डाक्टर वा इन्जिनियर बन्ने सपना बुनेका थिए । तर, एसएलसी दिएपछि उनको योजना एकाएक बदलियो । एसएलसी दिएको अर्को दिनबाट उनले आफ्नै बुवा ताराप्रसाद सापकोटाले सम्हालेको उद्योग हेर्ने जिम्मेवारी पाए । जसले गर्दा त्यसअघिका योजना सबै फेल खाए ।
२०३३ सालमा बुवाको दौराको फेरो समाउँदै पर्वतबाट रुपन्देही झरेका दिलीपले २०४६ सालको माघ २७ मा बुटवलको कालिका माविबाट एसएससी परीक्षा सकाए । त्यसको भोलिपल्टैबाट उद्योग सम्हाल्न थाले । अहिले उनी सफलमात्रै होइन, रुपन्देहीका सबै उद्योगीका नेता बनेका छन् । सापकोटाको अहिले ४ वटा नाम चलेका औद्योगिक प्रतिष्ठानबाट १ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । बुवाआमा, श्रीमती, छोराछोरीका साथ बुटवलमा बसेका दिलीप स्कुल पढ्दा डाक्टर वा इन्जिनियर बन्ने सोच भए पनि अहिले सफल उद्योगी भएकोमा गर्व लागेको बताउँछन् ।
उनका बुवा ताराप्रसाद सापकोटा पहिले रुपन्देहीमा शिक्षक थिए । उनले सँगै भाञ्जासँग मिलेर आचार्य इँटा उद्योग सञ्चालन गरेका थिए । पर्वतबाट २०३३ सालमा रुपन्देहीको शुद्धोधन- २ गोपालपुरमा बसाइ सरेको सापकोटा परिवारको त्यो बेलाको संघर्ष पढ्न लायक छ । पहाडबाट परिवारसहित तराई झरेको उनको परिवारलाई दिलीपका हजुरबुवाले २ वर्षपछि पुनः पहाडमा लगेर राखेका थिए । तर, तराईमा शिक्षण र उद्योगबाट भविष्य देखेका दिलीपका बुवाले केही समयमा आफ्ना बुवालाई चित्त बुझाएर पुनः तराई झर्ने वातावरण बनाए र अहिलेको अवस्थामा पुराए ।
एसएससीपछि उद्योग सम्हालेका दिलीप त्यसयता निरन्तर आचार्य इँटाको व्यवस्थापनमा छन् । बुवाले शुरुका केही दिन त्यसका आधारभूत कुराहरु सिकाएपछि ढुक्क भएर सबै काम सम्हाल्न सकेको उनी स्मरण गर्छन् ।
दिलीपले उद्योग चलाइरहेको बेला उनको एसएससीको नतिजा पनि आयो । सरकारी विद्यालयमा पढेर राम्रै नतिजाका साथ पास गरे पनि अंग्रेजी भाषामा केही कमजोर थिए । सुरुमा उनी आईएस्सी पढ्न काठमाडौं पुगे । केही समय पढे । तर, उनले त्यहाँबाट पार लाग्ने छाँट देखेनन् । बुटवल फर्केर लुम्बिनी वाणिज्य क्याम्पसमा आईकम भर्ना भए ।
क्याम्पस पढ्दै उनले आफ्नो उद्योगलाई निरन्तरता दिए । बुवाले पार्टनरसीपमा चलाएको उद्योग छाडेर २०५१ सालमा रुपन्देहीको पड्सरी कटैयामा उनले पर्वत इँटा उद्योग चलाउन थाले । जुन ब्राण्डले उनलाई अहिलेसम्म बजारमा टिकाइरहेको छ । यो बीचमा उनले बीकम पनि सकाइसकेका थिए । २०५५ सालमा पड्सरीमा चलाइएको सो उद्योग २०५६ देखि रुपन्देहीको खड्गवनगाईमा सारियो ।
उद्योग स्थापित भइसकेपछि दिलीप क्रमशः सामाजिक संघसंस्थाहरुमा पनि जोडिन थाले । २०५७ सालमा रुपन्देही उद्योग संघको साधारण सदस्य बनेका दिलीपले २०५८ सालमा कार्यसमितिमा बसेर काम गरे । त्यसयता विभिन्न पदमा काम गर्दै वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्ष निर्वाचित भएका छन् । आफ्ना सहपाठीहरु विभिन्न देशहरुमा पढ्न र काम गर्न हान्निए पनि उनलाई त्यतापट्टि जाने कुनै सोच आएन । परिवारमा ३ दाजुभाइ रहेकामा उनका एक भाइ बेलायतमा छन् र कान्छा भाइ डाक्टर छन् । उनीमात्र बुवाले सिकाएको उद्योग व्यापारमा रमाएका छन् ।
तर, २०६० सालपछि उनले रुपन्देहीका उद्योगहरु छोडेर काठमाडौं बसेर केही व्यवसाय गर्ने सोच बनाए । २ वर्षपछि उनलाई रुपन्देही जस्तो काठमाडौंमा सहज लागेन र फर्केर आए । २०६४ सालमा परासीमा पवन इँटा उद्योग चलाए । केही समयपछि बिक्री गरे । पुनः रुपन्देहीको मोतीपुर-८ मा पर्वत इँटा उद्योग निरन्तर चलाए । यो उद्योग अहिलेसम्म निरन्तर चलिरहेको छ ।
यससँगै उनले साझेदारीमा केही उद्योग तथा व्यवसाय गरेका छन् । आफूसँग मन मिल्ने ५ साझेदार मिलेर नेपाल ब्याक गोल्ड उद्योग चलाएका छन् । २०७२ सालमा नवलपरासीको सरावल- ४ मा साझेदारीमै उत्तम इँटा सञ्चालन गरेका छन् । यसमा उनीसँगै तीन जनाको साझेदारी छ । रुपन्देहीको शुद्धोधनमा आरबी इँटा उद्योग छ । यसमा उनीसँगै ३ जनाको साझेदारी रहेको छ । कपिलवस्तुुमा नं १ इँटा उद्योग छ । त्यसमा पनि तीन जनाको साझेदारी छ । यी सबै उद्योगमा कम्तीमा १ हजारभन्दा धेरै जनाले रोजगारी पाएका छन् ।
धेरै इँटा उद्योगमा भारतीय र बाल मजदुर राखिएको विषयमा उनको उद्योगमा फरक अवस्था रहेको दिलीप बताउँछन् । ‘म जोडिएको उद्योगमा कम्तीमा ८० प्रतिशत कामदार नेपाली छन् । लामो समय यही क्षेत्रमा काम गरेपछि नेपाली मजुदर सम्पर्कमा रहेका हुन्छन्, सकेसम्म नेपाली नै काम लगाउने गरेका छौं’, उनी भन्छन् ।
बाल मजदुरका विषयमा बाहिर फरक प्रचार भएको उनको दाबी छ ।
‘मजदुरका बुवाआमा भट्टामै बसेर काम गर्ने भएकाले उनीहरुका केही साना बालबालिका पनि सँगै हुनसक्छन् । उद्योगीले ज्याला तिरेर काम लगाउने भएपछि किन बाल श्रमिक लगाउनुपर्यो । यो अनावश्यक विषय चर्चामा ल्याइएको हो, भित्र गएर अध्ययन गरे प्रस्ट हुन्छ’, उनले भने, ‘पहिले भारतबाट कामदार आउने अवस्था थियो । यहाँ धेरैले यस्तो काम जानेका थिएनन्, कामदार ल्याउने ठेकेदार हुन्थे, उनीहरुले पहिले पैसा लिएर कामदार ल्याउँथे, अहिले काम पनि सजिलो भएको छ र कामदार पनि करिब ७० प्रतिशत नेपाली नै पाइन्छन् ।’
अहिले इँटा उद्योगमा केही आधुनिक प्रविधि आएकाले काम गर्न धेरै सहज बनाएको उनको भनाइ छ ।
‘पहिले माटोलाई धेरै सहज थियो, अहिले माटोको लागि धेरै समस्या छ । तराईमा जनसंख्या बढेको छ, उद्योगहरु राख्न पनि समस्या छ’, दिलीपले भने, ‘स्थानीय सरकारले पनि उद्योगहरुबारे स्पष्ट नीति बनाउन सकेका छैनन् । हामीले कोइला बाहिरबाट ल्याउनुपर्छ । पहिले कामदार पनि धेरै भारतबाट ल्याउनुपर्थ्यो । अहिले करिब ७० प्रतिशत यहाँकै कामदारले चलाउन सकिने अवस्था छ । मेरोमा त ८० प्रतिशत नै नेपाली मजदुर छन् । सकेसम्म यहीकै कामदार राख्ने मेरो जोड हुन्छ ।’
उनको इँटाको बजार लुम्बिनी प्रदेशका जिल्लासँगै स्याङ्जा, पोखरा, चितवनसम्म जाने गर्छ । केही अन्य जिल्लामा पनि सम्पर्कको आधारमा माग हुने उनी बताउँछन् ।
उनी उद्योगीका नेता पनि भएकाले उद्योग व्यवसायका धेरै समस्याका बारेमा जानकार छन् ।
‘नेपालमा उद्योगीहरुलाई हेर्ने सरकारी दृष्टिकोट राम्रो छैन, उद्योगमैत्री नीति छैन, कामदारबारे स्पष्ट योजना छैन, लगानीको वातावरण छैन, उद्योगहरु राख्ने ठाउँको उस्तै समस्या छ, नियमित विद्युत र आधुनिक प्रविधिको उस्तै समस्या छ’, दिलीप भन्छन्, ‘यति धेरै समस्यासँग झेलेर उद्योगबाट उत्पादन भएको वस्तुको बजारको ग्यारेन्टी छैन । उद्योगलाई आवश्यक कच्चा पदार्थको ग्यारेन्टी छैन । उद्योगमा लगानीका लागि आवश्यक रकम कसरी दिने भन्ने स्पष्ट योजना छैन । धेरै समस्या छन् । हामीले संघमार्फत नीतिगत तहबाट गरिने विषयलाई दबाब र सुझावका हिसाबले दिइरहन्छौं भने स्थानीय उद्यमी र उद्योगहरुका समस्यालाई फिल्डमै पुगेर पनि समाधानको पहल गरिरहेका हुन्छौं ।’
उनी यहाँका उद्योगीलाई खुला सिमाना अर्को चुनौती देख्छन् ।
‘मेरा उद्योग रुपन्देही, कपिलवस्तु, नवलपरासीमा भारतसँग खुला बोर्डर भएको धेरै ठाउँ छ । रुपन्देहीमा मात्रै ६० किलोमिटर खुला सीमा छ । यस्तोमा भारतमा कमसल उत्पादन भएका वस्तुहरु नेपाली बजार सहज आएर यहाँको उद्योगी र उपभोक्ता हैरानी छन् । यसको लागि सरकारले कडा कानून बनाउनुपर्छ’, दिलीप भन्छन्, ‘भारतमा उद्योगीहरुलाई धेरै सहुलियत भएकाले कम मूल्यमा वस्तु तयार गर्नसक्छन् । कामदार पनि उस्तै सहज छ । त्यसमाथि कम गुणस्तरका सामान नेपालमै बेच्न कम मूल्यमा तयार गरेर यता पठाउने गरेका छन् । खुला सीमाले त्यो सहज आइरहेको छ । यसबाट धेरै समस्या परिरहेको छ ।’
उनले सकेसम्म नेपाली उद्योगलाई टिकाउने र बिकाउने गरी योजनाका साथ काम गर्न सबैलाई अनुरोध गर्दै उपभोक्तालाई नेपाली उत्पादन प्रयोगमा ध्यान दिन र कमजोरी भए खबरदारी गर्न आग्रह गरे ।